close

सामुदायिक वनमा लागेको आगो गाउँ पस्यो, ९ घरपरिवार विस्थापित

सामुदायिक वनमा लागेको आगो गाउँ पस्यो, ९ घरपरिवार विस्थापित

Trulli
ADVERTISEMENT

खोटाङ– जंगलमा लागेको डढेलो गाउँमा पस्दा खोटाङको खोटेहाङ गाउँपालिकामा ९ वटा घर जलेका छन् । स्थानीय मड्केमा सामुदायिक वनमा लागेको डढेलो गाउँ प्रवेश गर्दा आइतबार साँझ खोटेहाङको वडा नम्बर ७ खोटाङ बजार पुरानो गाउँका छविलाल ढकाल, मिलन गेलाल, इन्द्रबहादुर भुजेल, यमबहादुर भुजेल, गोपाल ढकालको घर तथा कटेरा जलेको हो ।

 

यस्तै, सोही डढेलोले खोटाङ बजार रातामाटाका विष्णुमाया भुजेल, उद्धव भुजेल, खड्गबहादुर भुजेल र नरबहादुर भुजेलको घर तथा कटेरा जलेर नष्ट भएको खोटेहाङ गाउँपालिका अध्यक्ष प्रदीप राईले बताए । घर तथा कटेरा जल्दा ९ परिवार विस्थापित भएका छन् । 

 

डढेलोमा ३ तले घर जल्दा छविलालको अन्दाजी २० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । घर जल्दा मिलनको साढे ३ लाख, यमबहादुरको २ लाख, इन्द्रबहादुरको १ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । 

 

यस्तै, गोपालको १ लाख रुपैयाँ बराबरको क्षति अनुमान गरिएको छ । डढेलोले घर जल्दा नरबहादुरको २ लाखको क्षति भएको छ । उनको छोराले विदेशबाट पठाएको साढे २ लाख पनि जलेको प्रहरीले बताएको छ । 

 

घर जल्दा उद्धवको २ लाख, विष्णुमायाको बस्न प्रयोग भइरहेको कटेरा जल्दा १ लाख र खड्गबहादुरको १ लाख रुपैयाँको क्षति अनुमान गरिएको छ । दमकल प्रयोग गरेर आगलागी नियन्त्रण गरिएकाले अन्य घरमा सल्किन नपाएको गाउँपालिका अध्यक्ष राईले बताए । 

 

बस्तीको चारैतिरबाट डढेलो छिरेकाले नियन्त्रणमा लिन कठिन भएको थियो । अहिले जंगलमा डढेलो गइरहे पनि मानव बस्ती भने खतरामुक्त बनेको छ ।

 

डढेलोबाट बस्तीमा फैलिएको आगो नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय खोटाङ बजारका प्रहरी निरीक्षक सुमित कुशवाहा नेतृत्वको प्रहरी, स्थानीय खटिएका थिए । घटना स्थलमा गाउँपालिका अध्यक्ष राई, उपाध्यक्ष कविता राईलगायत पुगेका थिए । 


दिप्रुङमा एउटा घर जल्यो

 

सामुदायिक वनमा लागेको डढेलोले दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नम्बर २ डाँडागाउँमा घर जलेको छ । स्थानीय खरुवा खोला नजिक रहेको बालुङ सामुदायिक वनमा लागेको डढेलो गाउँमा पस्दा शनिबार भवीन्द्र सेन्चुरी र नैनबहादुर विकको घर जलेको हो ।

 

ढुंगामाटोको ३ तले घर जल्दा भवीन्द्रको करिब साढे ७ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरी चौकी याम्खाले जनाएको छ । आगलागीमा उनकै ढुंगामाटोको मतान र गोठसमेत जलेको स्थानीय कवीन्द्र राईले बताए । 

 

भवीन्द्र ५ वर्षअघि बसाइँ सरेर सुनसरी गएपछि सो घरमा नैनबहादुर बस्दै आएका थिए । भवीन्द्रको घरमा बस्न थालेपछि नैनबहादुरको घर भने रित्तो थियो । बस्दै आएको घर जलेपछि नैनबहादुरको ७ जनाको परिवारको विचल्ली भएको छ । 
 
कहाँ, कति क्षति 

 

स्थानीय रक्तमाला सामुदायिक वनमा लागेको डढेलोले १२ चैतमा बराहपोखरी गाउँपालिका वडा नम्बर १ बराहपोखरी दानसिंका शिवराज आले मगरको घर जलेको थियो । सल्लेरी सामुदायीक वनमा लागेको डढेलोले १३ चैतमा खोटेहाङ गाउँपालिका वडा नम्बर ९ लिच्कीराम्चेका निर्मला पोखरेलको गोठ जलेको प्रहरीले जनाएको छ । 

 

यस्तै, रानी सामुदायिक वनमा लागेको डढेलोले १२ चैतमा केपिलासगढी गाउँपालिका वडा नम्बर ३ बाँसपानी पोखरीका पदमबहादुर खड्काको घर जलेको थियो । सामुदायिक वनमा फैलिएको डढेलो गाउँ पस्दा ११ चैतमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १५ विजयखर्कस्थित बसेरीका तेजविनोद ढकाल, हेमसागर ढकाल, खेमराज ढकाल र बडहरेका दुर्गाबहादुर भुजेलको घर जलेको थियो । 

 

घरमा ताल्चा लगाएर तराई बसाइँ सरिसकेका ३ जना ढकाल परिवारको घरभित्रका भाँडाकुँडा भने निकालेर जोगाइएको थियो । ८ वर्षअघि जंगलमा लागेको डढेलोमा घर गुमाएका ढकाल परिवारले पुनः बनाएको घर डढेलोले खाएको हो ।

 

उबेला विष्णुप्रसाद खनालको घर पनि डढेलोले जलेको थियो । गाउँमा पसेको डढेलोले सहकारीबाट १ लाख ७० हजार रुपैयाँ अनुदान लिएर बनाएको भुजेलको बाख्रा फार्मसमेत खरानी भएको स्थानीय किसन भुजेलले बताए ।