close

महिलालाई स्वरोजगार बन्न प्राेत्साहन

महिलालाई स्वरोजगार बन्न प्राेत्साहन

Trulli
ADVERTISEMENT

रूपन्देही- रूपन्देही उद्योग संघको आयोजनामा महिला उद्यमशीलता प्रवर्द्धनमा बैंक तथा वित्तीय संस्थाहरूको भूमिका विषयक अन्तर्क्रिया सम्पन्न भएको छ ।

 

संघका अध्यक्ष बाबुराम बोहराको अध्यक्षता, बुटवल उपमहानगर उपप्रमुख गोमादेवी आचार्यको प्रमुख आतिथ्य रहेको गोष्ठीमा कृषि विकास बैंककी वरिष्ठ अधिकृत सीमा वनले सहजीकरण गरेकी थिइन् । महिला उद्यमीको सहभागितामा अन्तर्क्रिया सम्पन्न गरिएको हो ।

 

कार्यक्रममा उपप्रमुख आचार्यले महिलालाई निश्चित घेराबाट बाहिर आई उद्यमशीलता र स्वरोजगारीतर्फ लाग्न सुझाइन् । स्थानीय सरकारले महिलाको सीप अभिवृद्धि, आर्थिक स्तरोन्नति र स्वरोजगारको क्षेत्रमा विभिन्न योजना तय गरी अघि बढिरहेको उनले जानकारी दिइन् ।

 

उनले उद्यमशीलता प्रवर्द्धनमा बैंक तथा वित्तीय संस्था, स्थानीय सरकार र निजी क्षेत्र हातेमालो गर्दै आगडि बढ्नुपर्ने आवश्यकता औँल्याइन् । 

 

रूपन्देही उद्योग संघका अध्यक्ष बोहराले संघले महिलालाई उद्यमशीलतातर्फ आकर्षित बनाउन, सीप अभिवृद्धि र स्वरोजगार बनाउन विभिन्न खाले तालिम एवं अन्तरक्रिया जारी राखेको जानकारी दिए । महिला उद्यमीलाई वित्तीय साक्षरताको आवश्यकता महसुस भएकाले यो अन्तर्क्रिया आयोजना गरिएको उनको भनाइ छ ।

 

‘संघले महिला उद्यमशीलता विकासका लागि महिला उद्यमी समितिसमेत गठन गरी विभिन्न खाले कार्यक्रम आयोजना गर्दै आएको छ’, बोहराले भने ।

 

कार्यक्रममा सहजीकरण गर्दै कृषि विकास बैंककी वरिष्ठ अधिकृत वनले महिला उद्यमशीलता प्रवद्र्धनका लागि सरकारले तय गरेका योजना र बैंक तथा वित्तीय संस्थाहरूले दिइरहेका विभिन्न सुविधाबारे चर्चा गरिन् ।

 

बैंक तथा वित्तीय संस्थाबाट प्राप्त हुने सुविधा सबैको जानकारीमा नहुँदा पहुँचमा पुग्न नसकेको उनको भनाइ छ ।

 

सरकारले उपलब्ध गराएको सहुलियत, उद्यमशील, शैक्षिक प्रमाणपत्र धितो, युवा उद्यमीलगायत कर्जा सुविधा उपयोग गरेर महिला स्वरोजगार बन्न सक्ने उनको धारणा थियो ।

 

अन्तर्क्रियामा संघका वरिष्ठ उपाध्यक्ष माधवप्रसाद पौडेल, महिला उद्यमी समितिका संयोजक शारदा भट्टराईलगायतले बोलेका थिए ।

 

संघका पदाधिकारी, कार्यसमिति सदस्य, महिला उद्यमी सदस्य एवं विभिन्न पेसा, व्यवसायमा संलग्न महिला उद्योगी व्यवसायीको सहभागिता थियो ।