close

कर्णाली प्रदेश मुकाममा बढ्यो वायु प्रदूषण: सचेत रहन विभागको आग्रह

कर्णाली प्रदेश मुकाममा बढ्यो वायु प्रदूषण: सचेत रहन विभागको आग्रह

Trulli
ADVERTISEMENT

सुर्खेत- देशभरका अन्य जिल्लासँगै कर्णाली प्रदेश मुकाम वीरेन्द्रनगरमा पनि वायु प्रदूषण अत्यधिक बढेको छ । सुर्खेत उपत्यकाको आकाश बिहानैदेखि धमिलिएको छ भने घाम लाग्न सकिरहेको छैन । 

 

केही दिनयता वीरेन्द्रनगरका केही भूभाग र कर्णालीका अन्य ठाउँमा आगलागीका घटना भइरहेका छन् । सुर्खेतका विभिन्न ठाउँ गरी करिब २५ सय हेक्टरमा आगलागी भएको छ ।

 

आगलागीमा परेर २ जनाको ज्यान गएको छ भने १ जना घाइते भएको प्रदेश वन निर्देशनालयका डिभिजनल वन अधिकृत गोविन्द दाहालले बताए । 

 

‘अहिले विभिन्न ठाउँमा आगलागी भएको छ । केही ठाउँको आगो नियन्त्रणमा आए पनि अन्यत्र दमकल, प्रहरी र स्थानीयले प्रयास गरिरहेका छन् । जंगलको बाटो हिँड्ने र गाडीमा यात्रा गर्नेले चुरोटका ठूटा जंगलमा फाल्दा समस्या निम्तिएको हो,’ दाहालले भने ।

 

वीरेन्द्रनगरलगायत अन्य जिल्लामा पनि प्रदूषण बढेका कारण सचेत रहन वातावरण विभागले आग्रह गरेको छ । सुर्खेतलगायत अन्य ठाउँको वायु प्रदूषण खराब अवस्थामा रहेको वातावरण विभागका प्रवक्ता इन्दुविक्रम जोशीले बताए ।


‘वीरेन्द्रनगरको प्रदूषण मापन गर्ने यन्त्रमा केही समस्या आएका कारण मापन गर्न सकिएको छैन,’ जोशीले भने, ‘वायु प्रदूषण हिजोभन्दा आज धेरै बढेकाले सचेत रहन आग्रह गर्छु ।’

 

सामान्यतया एयर क्वालिटी इन्डेक्स-एक्युआई ५० भन्दा माथि जानु खतराको संकेत हो । नेपालका मुख्य-मुख्य सहरमा त्यो संख्या अधिक मात्रामा बढ्दै गएको छ ।

 

प्रदूषणले मानिसदेखि अन्य प्राणीको शरीरमा गम्भीर असर गरिरहेको छ । प्रदूषणबाट विशेषगरी बालबालिका र वृद्धवृद्धा प्रभावित हुने देखिएकाले सचेत रहन स्वास्थ्यकर्मीले सुझाएका छन् ।