close

बिस्का जात्रा रोक्न दिएको निर्देशन नगरपालिकाबाट अवज्ञा 

बिस्का जात्रा रोक्न दिएको निर्देशन नगरपालिकाबाट अवज्ञा 

Trulli
ADVERTISEMENT

भक्तपुर- भक्तपुरको टौमढी । सधैँ आन्तरिक र बाह्य पर्यटक न्यातोपाल मन्दिरसँगै फोटो खिच्दै रमाइरहेका देखिन्थे । तर, अहिले यहाँकाे यहाँको दृश्य फरक छ। सधैँ फोटो कैद गर्न र रमाइलोका लागि पुग्ने स्थानीय अहिले संस्कृति संरक्षणका लागि टौमढी आएका छन् । 

 

टौमढीमा जम्मा भएका स्थानीयले भन्दै थिए, हाम्रो जात्रा हाम्रो संस्कृति प्राणभन्दा प्यारो छ । कतिपयले बिस्का जात्रामा प्रयोग गर्ने लय मिलाएर भन्दै थिए, होस्से ह्याइसे । 

 

धिमे बाजासहित आन्दोलनमा उत्रेका स्थानीयको विरोध कुनै जात्राभन्दा कमी थिएन । कमी थियो, केवल ठडिएको योसिद्यो (लिंगो) र तानिएको भैलखः अर्थात् भैरवको रथ ।

 

जात्रा रोक्न राजनीतिक षडयन्त्र भएको आरोप स्थानीयको छ । एक स्थानीयले भने, हाम्रो जात्रा, संस्कृति संरक्षण गर्न घरघरबाट निस्केका छौँ । ननिस्केका स्थानीय तथा उपत्यकाभित्रका सम्पूर्ण नेवार समुदायलाई अनुरोध गर्दछु ।’ 

 

छिमेकी भारतसँगै नेपालमा पनि कोरोना संक्रमणको जोखिम बढेको भन्दै आइतबार जिल्ला प्रशासन कार्यालय भक्तपुरसहित सुरक्षालगायत सरोकारवाला निकायले बिस्का जात्रामा रोक लगाएको थियो । 

 

निर्णय सार्वजनिक हुनासाथ स्थानीय आक्रोशित भए । जात्रामा रोक लगाएकोप्रति विरोध जनाएर स्थानीयले सोमबार जिल्ला प्रशासन कार्यालय घेराउसमेत गरे । स्थानीयले टौमढी, दरबार स्क्वायर र जिल्ला प्रशासन कार्यालयमा विरोध जनाएका थिए । 

 

नगरपालिका भन्छ : टोलटोलमा हुने स्थानीय जात्रा रोकिँदैन


भक्तपुर नगरपालिकाको आयोजना भएको बिस्का जात्रा सञ्चालनसम्बन्धी बैठकले टोलटोलको जात्रा सञ्चालन गर्न अनुमति दिएको छ । नगरपालिका बैठकले जिल्लास्तरीय कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (डीसीसीएमसी) जात्रालाई सामान्य पूजामै सीमित राख्ने निर्णय गरेको छ । 

 

बैठकले जात्रा अवधिभर भीड जम्मा नगर्न तथा आवश्यक स्वास्थ्य मापदण्ड अपनाउन नगरपालिकाले जनचेतनामूलक गतिविधि गर्ने, बिस्केटको क्रममा टोलटोलमा मनाइने विभिन्न जात्रामा भीडभाड कम गर्न स्वयंसेवक परिचालन गर्ने तथा जनताको घरदैलोमा साबुन, मास्क वितरणलगायत निर्णय गरेको छ ।

 

जिल्ला प्रशासन कार्यालय भक्तपुरका सहायक प्रजिअ मुकेशकुमार केशरीले मानव जीवन रक्षा नै प्रमुख कारण भएकाले यस वर्षको बिस्केट जात्रा सामान्य पूजाआजामा सीमित गर्ने निर्णय भइसकेको बताए । 


    
स्थानीय सरोकारवाला संस्थाको सहभागितामा आयोजना गरिएको बैठकले योसिद्यो उठाउन र रथ तान्नलाई रोक लगाएको छ । 

 

गुठी संस्थान भक्तपुरका कार्यालय प्रमुख आनन्दप्रसाद कर्माचार्यले संस्थानले बिस्केट जात्रासँग सम्बन्धित सम्पूर्ण दायित्व पूरा गरेको बताउँदै जात्राको समय कुनै पनि किसिमको लापरबाही गर्न नहुनेमा जोड दिए ।

 

जनस्वास्थ्य सेवा केन्द्र भक्तपुरका प्रमुख रत्नसुन्दर लासिवाले छिमेकी मुलुकबाट नेपाल भित्रिनेबाट कोभिड संक्रमण बढिरहेको अवस्थामा भीडभाड हुने जात्रा पर्वको समय सबैलाई सुरक्षित रहन आग्रह गरे ।

 

यसो भन्छन् सरोकारवाला


भैलखः रथका नाइके प्रेमलाल शिल्पकार यस वर्षको जात्रा कुनै हालतमा नरोकिने दाबी गर्छन् । ‘पहिलेको वर्ष रथ तयार भएको थिएन । यो वर्ष रथ तयार भइसकेको छ । स्थानीयले जसरी भए पनि रथ तान्छन्,’ उनले भने, ‘रथ कसरी बन्दै छ भनी अहिले पनि सयाैँ मानिस दैनिक हेर्न आउँछन् ।’

 

उनका अनुसार रथ निर्माण सकिएको छ । रथ तान्न डोरी र केही सामग्री प्रयोग गर्न बाँकी छ । 

 

संस्कृतविद् ओम धौभडेल स्थानीय सरकार र सरोकारवाला निकायले जात्रालाई रोक लगाउनुभन्दा पनि स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर जात्रा सञ्चालन गर्नुपर्ने सुझाव दिन्छन् । 

 

‘कोरोना रोकथामका लागि माथिल्लो निकायले गरेको निर्णय ठीक छ । यसलाई सबैले मान्नुपर्छ,’ उनले भने, ‘तर यस वर्षको जात्रा गत वर्षको जस्तै रहेन । यस वर्ष आवश्यक सबै पूर्वाधार मिलाइसकिएको छ । स्थानीयले जबर्जस्ती रथ तान्ने स्थिति नआउला भन्न सकिन्न ।’ 

 

मध्यपुर थिमि नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठले थिमिमा हुने बिस्का जात्रा नरोकिने बताए । स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर, स्थानीयलाई सचेत बनाई सभ्य रूपमा जात्रा चलाइने उनले जानकारी दिए ।