close

मेलमिलापकर्ताको क्षमता बढाउँदै खोटेहाङ

मेलमिलापकर्ताको क्षमता बढाउँदै खोटेहाङ

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङको खोटेहाङ गाउँपालिकाले मेलमिलापकर्ताको क्षमता अभिवृद्धिका लागि पुनर्ताजगी तालिम आयोजना गरेको छ । गाउँमा देखापर्ने विवादलाई गाउँमै हल गर्न छानिएका मेलमिलापकर्ताको क्षमता अभिवृद्धिका लागि गाउँपालिकाले न्यायिक समिति तथा मेलमिलापकर्ताको क्षमता अभिवृद्धिसम्बन्धी ४८ घन्टे पुनर्ताजगी तालिम आयोजना गरेको हो ।

 

गाउँपालिकाको सभाहलमा आयोजना गरिएको तालिममा ९ वडाका ३/३ जनाका दरले २७ मेलमिलापकर्ता, न्यायिक समितिका ३ जना पदाधिकारी, २ जना कर्मचारी र ९ वटै वडाका वडाध्यक्ष गरी ३१ जना सहभागी थिए ।

 

स्थानीय स्तरमा न्यायिक प्रणालीलाई सहज र सहज बनाउने लक्ष्यका साथ गाउँपालिकाले प्रत्येक वडामा ३/३ जना मेलमिलापकर्ता तयार पारेर २६ फागुन २०७५ देखि ३ चैतम्म क्षमता अभिवृद्धि तालिम आयोजना गरेको थियो । तिनै मेलमिलापकर्ताको क्षमता अभिवृद्धिका लागि गाउँपालिकाले पुनर्ताजगी तालिम आयोजना गरेको हो । 

 

वडामा छानिएका मेलमिलापकर्ताले पारिवारिक विवाद, लेनदेन, जग्गा-जमिनजस्ता देवयानी प्रकृतिका मुद्दा, सानातिना कुटपिट, लुटपिटलगायत फौजदारी मुद्दा, व्यापार वा व्यावसायिक प्रकृतिका जुनसुकै विवादलाई मेलमिलापको माध्यमबाट टुंग्याउने भूमिका निर्वाह गरिरहेका छन् । 

 

तालिममा सहभागीलाई द्वन्द्व-विवादको अवधारणा र विकास, विवाद समाधानको परम्परागत तरिका, मेलमिलापको महत्त्व, भूमिका, दायित्व, मेलमिलाप वार्ताको सीप, मेलमिलाप प्रक्रियालगायत विषयमा जानकारी दिइएको खोटेहाङ गाउँपालिकाका उपाध्यक्ष एवं न्यायिक समिति संयोजक कविता राईले बताइन् ।

 

दैनिक ६ घन्टा सञ्चालन गरिएको तालिममा मानव अधिकार मञ्च इलामका सहजकर्ता शेखरनाथ सापकोटा र ईश्वर लुंगेली मगरले सहजीकरण गरेका थिए । तालिममा सहभागीलाई जिल्ला न्यायाधीश मातृकाप्रसाद आचार्य, गाउँपालिका अध्यक्ष प्रदीप राई, गाउँपालिका उपाध्यक्ष राईलगायतले प्रमाणपत्र प्रदान गरे ।

 

कार्यक्रममा जिल्ला अदालतका स्रेस्तेदार रमाकान्त यादव, न्यायाधिवक्ता रमेश भट्टराई, अधिवक्ता चन्द्रबहादुर खड्का, ओमप्रकाश घिमिरेलगायतको उपस्थिति थियो । नेपाल सरकार वादी हुने अर्थात् गम्भीर प्रकृतिका फौजदारीबाहेकका सानातिना मुद्दा मेलमिलापका माध्यमबाट टुंग्याउन सकिने व्यवस्था छ ।