close

बिस्का जात्रा सञ्चालन गर्न प्रशासनको अनुमति

बिस्का जात्रा सञ्चालन गर्न प्रशासनको अनुमति

Trulli
ADVERTISEMENT

भक्तपुर- भक्तपुरको बिस्का जात्रा सञ्चालन हुने भएको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम भट्टराईको अध्यक्षतामा बसेको जिल्ला प्रकोप व्यवस्थापन समितिको बैठकले भैरवनाथको रथ तान्ने जात्रा, लिंगो उठाउने र ढाल्ने जात्रा नगर्ने निर्णय गरेको थियो ।

 

निर्णय सार्वजनिक भएपछि स्थानीयले विरोध गरिरहेका थिए । जात्रा सञ्चालनको माग गर्दै स्थानीयले भक्तपुर नगरपालिका, जिल्ला प्रशासन कार्यालयमा विरोध प्रदर्शन गर्दै आएका थिए ।


सर्वोच्च अदालतले समेत जात्रा सञ्चालन गर्न बुधबार निर्देशन दिएको छ । विरोधसभालाई दृष्टिगत गर्दै सांसद प्रेम सुवालको प्रमुख आतिथ्य एवं नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नगरस्तरीय नगर प्रकोप व्यवस्थापन समिति (सीएमसी) र भक्तपुरको बिस्केट जात्रासँग सम्बन्धित सरोकारवालाको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई जात्रा सञ्चालन गर्ने निर्णय गरेको हो ।

 

नगर प्रमुख प्रजापतिका अनुसार पालिकाले बिस्का जात्रा सञ्चालनका लागि जात्रासँग सम्बन्धित दाफा, भजन, गुठीलगायत सरोकारवालासँग नियमित छलफल गरी निर्णय गर्दै आए पनि जिल्ला प्रकोप व्यवस्थापन समितिको बैठकले जात्रा सञ्चालनको अनुमति दिएको छ ।

 

‘उहाँहरूको निर्णयको भोलिपल्ट बोलाएर बैठक बस्यौँ । टोलटोलमा जात्रा सञ्चालन गर्ने निर्णय गरेका थियौँ,’ उनले भने, ‘तर स्थानीयको विरोध हामीले थाम्न सकेनौँ । उहाँहरूको मागअनुरुप पुनः बैठक बसी जात्रा सञ्चालन गर्ने निर्णय गरेका हौँ ।’
 
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जनताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी यस वर्षको ‘भैरवनाथको रथ तान्ने जात्रा एवं लिंगो उठाउने र ढाल्ने जात्रालाई प्रशासनले केही कडाइ गरेको स्वीकार्दै जनभावनाअनुरूप नगरपालिकाले गर्ने निर्णयमा सकारात्मक रहेको बताए ।

 

बैठकले नजिकिँदै गरेको भक्तपुरको प्रसिद्ध बिस्का जात्राअन्तर्गतको भैरवनाथको रथ तान्ने, लिंगो उभ्याउने र ढाल्ने जात्रा कोभिड–१९ रोग संक्रमणको जोखिमलाई ध्यानमा राखी आवश्यक स्वास्थ्य मापदण्ड अपनाई शान्तिपूर्ण तरिकाले सञ्चालन गर्ने निर्णय गरेको थियो ।

    
सर्वोच्चले भन्योः जात्रा नरोक्नू


उक्त निर्णयविरुद्ध मंगलबार परेको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले जात्रा सञ्चालन गर्न अन्तरिम आदेश जारी गरेको छ ।

 

स्थानीय एवं अधिवक्ता राजकुमार सुवालले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले जात्रा रोक्ने निर्णय कार्यान्वयन नगर्न जिल्ला प्रशासन कार्यालय भक्तपुरलाई आदेश दिएको हो ।

 

प्रमुख जिल्ला अधिकारी भट्टराईको अध्यक्षतामा आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रले कोरोना संक्रमण बढेको भन्दै जात्रा गर्न नदिने निर्णय गरेको थियो ।

 

उक्त निर्णयविरुद्ध मंगलबार परेको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले जात्रा सञ्चालन गर्न भनेको हो । जात्रा रोक्ने प्रशासनको निर्णयप्रति भक्तपुरका स्थानीय बासिन्दा एवं गुठियार आक्रोशित थिए । सर्वोच्चले उक्त निर्णय गर्नुपर्नाको कारणसमेत पेस गर्न भनेको छ ।