close

स्वास्थ्य बिमाका ५ वर्षः सुदूरपश्चिममा ३ लाख मात्रै बीमित

स्वास्थ्य बिमाका ५ वर्षः सुदूरपश्चिममा ३ लाख मात्रै बीमित

Trulli
ADVERTISEMENT

कैलाली– नेपालमा स्वास्थ्य बिमा सुरु भएको ५ वर्ष पुगेको छ । तर, बिमामा नागरिकको सहभागिता भने बढ्न सकेको छैन ।


विपन्न नागरिकलाई स्वास्थ्यको पहुँचमा ल्याउन सरकारले २०७२ मा सुदूरपश्चिमको कैलालीबाट स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको हो । तर, सेवा प्रभावकारी नभएको सेवाग्राहीले गुनासो गरेका छन् ।

 

‘कार्यक्रमको उद्देश्य धेरै राम्रो छ’, धनगढी वडा नम्बर ५ तारानगरकी हरिना भट्टले भनिन्, ‘कार्यान्वयन पक्ष भने निकै फितलो छ । मैले पनि स्वास्थ्य बिमा गराएकी छु । सेवा लिन अस्पताल पनि पुगेँ तर सामान्य औषधी निजी क्लिनिकबाटै किन्नुपर्‍यो ।’

 

स्वास्थ्य बिमा गरिसकेपछि सेवा लिन जाँदा अस्पतालमा राम्रो व्यवहार नहुने गरेको कैलारी गाउँपालिका वडा नम्बर ४ का हरिश चौधरीले बताए । उनले भने, ‘औषधी अभाव भनेर बाहिर किन्न पठाउँछन् । सेवाको गुणस्तर वृद्धि गर्न आवश्यक छ ।’

 

धेरैलाई स्वास्थ्य बिमा कार्यक्रमबारे जानकारी नै नभएको सेती प्रादेशिक अस्पतालमा कार्यरत डा. जगदीश जोशीको अनुभव छ । उनले भने, ‘मेरै घरका सबै सदस्यलाई स्वास्थ्य बिमाबारे जानकारी छैन । सर्वसाधारणको हालत के होला । यसको महत्त्व सर्वसाधारण सबैलाई बुझाउन सचेतनामूलक कार्यक्रम र प्रचार आवश्यक छ ।’

 

सुदूरपश्चिमको जनसंख्या २८ लाख, ३ लाख मात्रै बीमित

 

कैलालीबाटै सुरु भएको स्वास्थ्य बिमा कार्यक्रम सुदूरपश्चिममै प्रभावकारी बन्न सकेको छैन । स्वास्थ्य बिमा बोर्डका अनुसार २८ लाख जनसंख्या रहेको सुदूरपश्चिममा हालसम्म ३ लाख ४१ हजार २ सय ४५ जनाले मात्रै स्वास्थ्य बिमा गरेका छन् । 

 

यसमध्ये सबैभन्दा बढी कैलालीमा १ लाख ७५ हजार २ सय बीमित छन् । अछाममा ३९ हजार ७ सय ४०, बझाङमा ३५ हजार २ सय १०, बाजुरामा ३० हजार ३ सय ४०, बैतडीमा १७ हजार ४ सय ९५, कञ्चनपुरमा २६ हजार १ सय ४५ र बैतडीमा १७ हजार ४ सय ९५ ले स्वास्थ्य बिमा गरेका छन् ।

 

यस्तै, दार्चुलामा ८ हजार ४ सय ४५, डडेल्धुरामा ५ हजार ३ सय ७५ र डोटीमा ३ हजार २ सय ७६ बीमितको संख्या छ ‘सुदूरपश्चिम प्रदेशभर स्वास्थ्य बिमा लागू भइसकेको छ । स्वास्थ्य बिमा बोर्ड सुदूरपश्चिम संयोजक जनक साउदले भने, ‘आर्थिक अभावले कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले स्वास्थ्य बिमा सुरु भएको हो । तर, अहिलेसम्म हामीले अपेक्षाअनुसार उपलब्धि हासिल गर्न सकेका छैनौँ ।’

 

भौगोलिक विकटताका कारण पनि लक्ष्य पूरा गर्न नसकिएको साउदले बताए । ‘भौगोलिक विकटतासँगै सेवाप्रदायक संस्था र बीमितहरूको अपेक्षामा तालमेल नमिल्दा समस्या देखिएको हो’, उनले भने, ‘बीमितले बिमा गरिसकेपछि सबै उपचारको ग्यारेन्टी लिनुपर्छ भन्ने अपेक्षा राख्छन् तर हाम्रो छुट्टै मापदण्ड हुन्छ ।’ 

 

बिमा सुरु भएको ५ वर्ष पुगे पनि अझै धेरै यसबारे जानकार नभएकाले स्वास्थ्य बिमाप्रति आकर्षण बढाउन सचेतनामूलक कार्यक्रम गरिनुपर्नेमा उनको जोड छ ।