close

पुनर्निर्माणपछि फेरिएको सडक

दुर्गम गाउँ बन्यो सुगम

पुनर्निर्माणपछि फेरिएको सडक

दुर्गम गाउँ बन्यो सुगम

Trulli
ADVERTISEMENT

बागलुङ– पुनर्निर्माण प्राधिकरणको काम निजी आवास बनाउने हो । तर, बागलुङको एउटा सडकमा प्राधिकरणले गरेको लगानीले दुर्गम गाउँलाई सुगम बनाइदिएको छ ।


सदरमुकामदेखि ९० किलोमिटर पश्चिम बुर्तिवाङबाट दिनभरि पैदल यात्राबाट मात्र पुग्न सकिने तमान खोलाको बुंगादोभानलाई पुनर्निर्माण प्राधिकरणको लगानीले नजिक बनाएको हो । 


बुर्तिवाङदेखि बुंगादोभान जाने १५ किमि सडक राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निर्माण गरेपछि दुर्गम गाउँ सुगम बनेको हो । यो सडकका लागि प्राधिकरणले १५ करोेड ७९ लाख रुपैयाँ लगानी गरेको निमित्त आयोजना प्रमुख रेणुका पाण्डेले बताइन् ।

 

‘ट्रयाक खोल्ने बेलामा भूकम्पले क्षति पुगेको तथा स्थानीय लगानीले सहज निर्माण सम्भव नभएपछि प्राधिकरणले यो सडक बनाएको हो’, उनले भनिन् ।


पक्की नाली र कल्भर्ट निर्माण गरेर बनाइएकोले वर्षातमा पनि नियमित सवारी चल्न थालेको गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बताए । ‘यो सडक खण्डमा २ वटा पुल पनि निर्माणाधीन छन् । बर्खामा खोलाले रोकिनुपर्दैन’, बुढाले भने, ‘मध्यपहाडी लोकमार्ग जत्तिकै स्तरीय सडकमा तमानखोलाको केन्द्र पुग्न सकिन्छ ।’

 
यहाँकै लुकुरबन खोलामा २५ मिटर लामो र भालिवाङ खोलामा ४० मिटर लामो पक्की पुल निर्माण भइरहेको छ ।


आगामी जेठ मसान्तभित्रै सक्ने गरी पुल निर्माण भइरहेको बुढाले बताए । भालिवाङ खोलामा बन्ने पुल नयाँबाटो सूर्योदय संयुक्त निर्माण कम्पनीले ४ करोड ४२ लाख रुपैयाँमा निर्माण गरिरहेको हो । 


लुकुरवन खोलामा कर्णप्रदीप जुम्ली संयुक्त निर्माण कम्पनीले ३ करोड ६६ लाख रुपैयाँमा निर्माण गरिरहेको हो । बुंगादोभानदेखि यहाँका ५ वटै वडा जोड्ने गरी सडक बनाइएका छन् ।


बुंगादोभानदेखि तमान, सोले हुँदै म्याग्दी जोड्ने २५ किमि लामो रणनीतिक सडक निर्माण भएको छ । यो सडकले सोलेडाँडामा पर्यटक पुर्‍याउन सहज भएको वडा नम्बर ४ का वडाध्यक्ष उदिम छन्त्यालले बताए । ‘यो सडक बनेकोले बागलुङ सदरमुकामभन्दा बेनी बजार नजिक भएको छ’, उनले भने, ‘प्रशासनिक काम गर्नेहरू बागलुङ जान्छन् । अत्यावश्यक सामान खरिद गर्न चाहनेहरू बेनी झर्छन् ।’ 

 

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम र पालिकाको ३ करोड रुपैयाँ लगानी गरेर बोङगादोभानदेखि सोलेसम्म सडक स्तरीय बनाइएको छ । म्याग्दीको दरवाङदेखि ओखरबोटसम्म खनिएको सडकमा स्थानीयले चन्दाबाट ६० लाख रुपैयाँ जुटाएर केही वर्षअघि नै सडक जोडेका थिए ।


बुंगादोभानदेखि खुंखानी र नर्जातर्फ पनि २ करोड रुपैयाँ लागतमा सडक निर्माण भएको हो । सबैभन्दा माथिल्लो नर्जामा सडक पुगेपछि गर्भवती, बूढापाकालाई सहज भएको स्थानीय गरिमा हर्मेलले बताइन् ।


तमानखोला गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष कुलबहादुर छन्त्याल पुराना दिन सम्झिँदा अहिले ठूलो फड्को मारिएको बताउँछन् । ‘संघीयताअघि तमानखोलामा सडकै थिएन । खोल्न लागेको ट्रयाक पनि अलपत्र थियो’, छन्त्यालले भने, ‘१ दिनको पैदल हिँडेरै बुर्तिवाङ पुगेपछि मोटर देखिन्थ्यो । ४–५ वर्षमा ठूलो परिवर्तन भयो ।’