close

२ वटा ट्यांकी बनाएर अलपत्र पारियो ३० लाखको खानेपानी आयोजना

२ वटा ट्यांकी बनाएर अलपत्र पारियो ३० लाखको खानेपानी आयोजना

Trulli
ADVERTISEMENT

सुर्खेत (वीरेन्द्रनगर)– दैलेखको ठाटीकाँध गाउँपालिका वडा नम्बर १ को मुंग्रा गताड खानेपानी योजना अलपत्र परेको छ । गाउँपालिकाको वडा नम्बर १ नदाईमा रहेको ३३ लाख रुपैयाँ लागतको खानेपानी योजना पूरा नहुँदै अलपत्र परेको हो । 

 

आर्थिक वर्ष २०७५/७६ बाट सुरु भएको खानेपानी योजना अलपत्र पर्दा अढाई सय घरधुरी पानी पिउनबाट वञ्चित भएका छन् । खानेपानी योजनाअन्तर्गत १० हजार लिटरका २ वटा ट्यांकी र ९९ वटा धारा बनाउने स्टिमेटमा उल्लेख भए पनि २ वटा ट्यांकी मात्र बनाएर समितिले योजना अलपत्र पारेको स्थानीय मुकुन्द रेग्मीले बताए । 

 

‘आयोजनामा १५ दिनसम्म काम गरियो । गिटी कुटियो । बालुवा बोक्दासम्मको ज्याला पाउन सकिएन’, स्थानीय टिकुली रोकाले भनिन्, ‘साँझ–बिहानको छाक टार्न धौ–धौ हुन्छ । काम गरेको पैसा कसैले दिएनन् ।’

 

खानेपानीको विषयमा बारम्बार बुझ्न खोज्दा पनि समितिले बेवास्ता गरेको वडा नम्बर १ का वडा सदस्य मीन खनाल बताउँछन् । ‘बारम्बार समितिलाई भने पनि वास्ता गरेनन् । अहिले डेढ सय घरधुरीका ८ सय परिवार पानी पिउनबाट वञ्चित छन्,’ उनले भने, ‘यो विषयमा खानेपानी योजना अलपत्र पारेकोबारे सोध्दा निर्माण गर्नेले धेरै गर्‍यौँ, हामीलाई घाटा आयो भन्छन् ।’


गत आर्थिक वर्ष २०७६/७७ जेठसम्म २ वटा ट्यांकी र मुहान मात्र बन्यो । तर, त्यसपछि कोरोनाका कारण काम गर्न नसकिएकाले बजेट फ्रिज भएको मुंग्रा खानेपानी योजनाका अध्यक्ष शेर भण्डारीले दाबी गरे ।