close

पालिकाका रोगीलाई सघाउँदै सिरिजंघा

पालिकाका रोगीलाई सघाउँदै सिरिजंघा

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– ताप्लेजुङको सिरिजंघा गाउँपालिकाले नागरिक उपचार सहायता कोषमार्फत पालिकाभरका २६ जना नागरिकलाई करिब ४ लाख रुपैयाँ सहयोग गरेको छ ।

 

प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेका अनुसार कडा एवं नसर्ने प्रकृतिका रोगको उपचारमा केही रकम सहयोग गर्ने उद्देश्यले स्थापित नागरिक उपचार सहायता कोषमार्फत ३ लाख ९४ हजार रुपैयाँ वितरण गरिएको छ । सबैभन्दा बढी २५ हजार र सबैभन्दा कम ४ हजार रुपैयाँ आर्थिक सहायता प्रदान गरिएको हो ।

 

प्रमुख प्रशासकीय अधिकृत घिमिरेका अनुसार २ जना दीर्घ रोगी, ५ जना मुटु रोगी, ३–३ जना घाँटीको र मस्तिष्क क्यान्सर भएका रोगी, १–१ जना मेरुदण्ड, मुखमा र स्तन क्यान्सर भएका रोगी, पेटको क्यान्सर भएका २ जना, प्यारालाइसिस र मृगौला रोग भएका १–१ जना, पेटको आन्द्रामा घाउ भएका १ जना र हात एवं खुट्टा नचलेका २ जना गरी जम्मा २६ जनालाई गाउँपालिकाले सहायता रकम वितरण गरेको हो ।

 

सहयोग पाउनेमा सिरिजंघा वडा नम्बर १ सिनामका ४, वडा नम्बर २ आम्बेगुदिनका ६, वडा नम्बर ३ सिकैचाका ५, वडा नम्बर ४ तेल्लोक, वडा नम्बर ५ पेदाङ र वडा नम्बर ७ खेवाङका ३–३, वडा नम्बर ६ मामाङ्खेका २ जनाले यस्तो सहायता रकम बुझेर लगेको प्रमुख प्रशासकीय अधिकृत घिमिरेले जानकारी दिए ।

 

सहायता रकम प्रदान गर्न गाउँपालिकाले गाउँसभा अधिवेशनबाटै नागरिक उपचार सहायता कोष परिचालन ऐन, २०७७ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ । सोही ऐनको अधीनमा रही सहायता रकम वितरण गरिँदै आएको गाउँपालिका अध्यक्ष टीकाराम गुरुङले बताए ।