close

आजदेखि सुरु हुँदै भक्तपुरको बिस्का जात्रा

आजदेखि सुरु हुँदै भक्तपुरको बिस्का जात्रा

Trulli
ADVERTISEMENT

भक्तपुर- शनिबारबाट भक्तपुरको प्रसिद्ध बिस्का जात्रा सुरु हुँदै छ । टौमढीमा रहेको भैलखः अर्थात् भैरवनाथको रथलाई तानेसँगै यहाँको बिस्का जात्रा सुरु हुनेछ । 

 

८ रात ९ दिनसम्म सञ्चालन हुने जात्रा ५ वैशाख २०७८ सम्म चल्नेछ । प्रत्येक वर्ष नयाँ वर्ष आगमनको ४ दिन अगाडिदेखि सोही स्थानमा प्यागोडा शैलीमा बनाइएको ३ तले करिब ३० फिट अग्लो भैरवनाथको रथ तान्ने क्रमसँगै जात्रा प्रारम्भ हुने प्रचलन छ । 

 

रथलाई दुवैतिर डोरीले तान्ने गरिन्छ । एकातिर ६ वटा र अर्कोतिर ४ वटा मोटामोटा डोरी राखेर हजारौँ युवाले रथ तान्ने गर्छन् । जात्राको पहिलो दिनलाई नेपाल भाषामा द्यो क्वह विज्याइज्यू अर्थात् देवता (रथ) तल सवारी हुने भनिन्छ । 

 

जात्राको पहिलो दिन रथलाई नगरको तल्लो टोलतिर लगिने भएकाले त्यहाँ ६ वटा र अर्को टोलमा ४ वटा मात्रै डोरी राख्ने गरिन्छ । तर, दुवैतिर प्रतिस्पर्धात्मक रूपमा तानेर पछिल्लो वर्ष जता पनि लग्ने गरिएको छ । 

 

५ तले मन्दिरलाई भक्तपुर नगरको बीच भाग मानिन्छ । जात्राका लागि रथको सबै तयारी पूरा भइसकेको भैलख बनाउने नाइके प्रेमलाल शिल्पकारले बताए । केही दिनअघि जात्रा सञ्चालन गर्ने या नगर्ने भनी अन्योलमा रहेको बिस्का जात्रा सञ्चालन गरिन लागेको हो ।

 

उनका अनुसार यस वर्ष अधिकांश सामान नयाँ भएका बिग्रिने सम्भावना न्यून छ । पांग्रा, गल, पोल्ह (छाना) तथा बाहिर देखिने अधिकांश सबै नयाँ भएको उनले बताए ।

 

भक्तपुर नगरपालिका प्रमुख सुनील प्रजापतिले कोरोना जोखिम बढेकाले यस वर्षको जात्रा छोटो रूपमा सकाउने बताए । अरू बेला पूर्वमा दत्तात्रयसम्म र पश्चिममा तेखापुखुसम्म लगिने गरेको रथ यसपालि भने पूर्वमा बुलुबुलु हिटी (सुकुलढोका) सम्म र पश्चिममा नासमनासम्म मात्र लैजाने निर्णय भएको उनले जानकारी दिए । 

 

गुठी संस्थान शाखा कार्यालय सूर्यविनायक भक्तपुरका प्रमुख आनन्दप्रसाद कर्माचार्यले जात्राका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको बताए । जात्रालाई हर्षोल्लास बनाउन यो वर्ष दिउँसोबाटै रथ तान्ने क्रम सुरु गरी साँझसम्म सकाउने योजना रहेको उनले सुनाए ।

 
इतिहास एवं संस्कृतिविद् डा. पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार भक्तपुरको बिस्केट जात्रा पूर्वमध्यकालतिर ३ सय वर्षदेखि राष्ट्रिय पर्वकै रूपमा मनाइन्थ्यो । तत्कालीन भक्तपुर राज्य समग्र नेपालको राजधानी नगरको रूपमा रहेका बेला यसलाई राष्ट्रिय पर्वकै रूपमा मनाइने गरेको इतिहास उनले सुनाए । 
जात्रा हेर्न भक्तपुरसहित काठमाडौं, ललितपुर, काभ्रेलगायत स्थानबाट सयौँ मानिस आउने गर्छन् ।