close

चर्चाले चुलिँदै सुर्खेतका ३ नयाँ पर्यटकीय गन्तव्य 

चर्चाले चुलिँदै सुर्खेतका ३ नयाँ पर्यटकीय गन्तव्य 

Trulli
ADVERTISEMENT

सुर्खेत (वीरेन्द्रनगर)- कर्णाली प्रदेश पर्यटकीय रूपमा आफैंमा सुन्दर छ । यस क्षेत्रमा परापूर्वकालदेखि नै पर्यटकीय गन्तव्य गनिनसक्नु छन् । 

 

स्वर्गकी अप्सरा रारा, पानीमाथि ज्वाला बल्ने श्रीस्थान नाभीस्थान, देउरापाटनजस्ता रमणीय र थुप्रै पर्यटकीय सम्भावना बोकेका स्थान कर्णालीमा छन् । 

 

आन्तरिक तथा बाह्य पर्यटक भरिभराउ हुने यी गन्तव्यबाहेक पछिल्लो समय कर्णाली प्रदेशको मुकाम वीरेन्द्रनगर नजिकै रहेका पाताल दरबार, सहिद पार्क र डीएनपी डाँडा एकाएका आन्तरिक पर्यटकको मन जित्न सफल भएका छन् । 

 

पहिले प्रायः सुनसान देखिने यी ठाउँमा पर्यटक खचाखच भरिएका छन् । पहिले त्यही स्थान भएर जाने तर अहिले एकाएक भाइरल भएको स्थानीय बताउँछन् । ‘अरू दिन कमै आए पनि शनिबार ५ सयदेखि १ हजार जनासम्म आउने गर्छन्’, स्थानीय भन्छन् ।’

 

पाताल दरबार


छोटो समयमै चर्चा कमाएको र आन्तरिक तथा बाह्य पर्यटकलाई निम्त्याइरहेको पाताल दरबार साँच्चिकै मनमोहक छ । वीरेन्द्रनगर वडा नम्बर २ गुप्तीपुरमा रहेको पाताल दरबारलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले ‘पाताल दरबार’ भन्दै जंगलमा रहेको चुरे क्षेत्रका अनौठा र आकर्षक आकृति देखिने गरी फोटो र भिडियो सार्वजनिक गरेपछि उक्त ठाउँ भाइरल बनेको छ ।

 

चुरे क्षेत्रमा अत्यधिक वर्षा र गर्मीका कारण बन्ने यस्ता आकृतिले पाताल दरबार जाने सबैको मन लोभ्याएको छ ।


पाताल दरबारलाई अझै व्यवस्थित गर्न दरबारभित्रको सरसफाइ, पिकनिक स्पट तथा अन्य संरचना बनाउन स्थानीय युवाहरूले क्लबमार्फत प्रवेश शुल्क उठाएर व्यवस्थापनमा जुटेको एकता बाल क्लबले जनाएको छ । 

 

पाताल दरबार बच्चाबच्चीदेखि वृद्धवृद्धासम्मको टिकटिक र फोटो खिच्ने लोकप्रिय ठाउँ बनेको छ । चउत्तरबाट हिउँ पग्लेर बग्दै आउने नदी महाभारत क्षेत्र हुँदै अन्तिममा चुरेबाट तराईतिर बग्ने भएकाले पनि यो कमलो ढुंगामाटोले बनेको क्षेत्र पर्यावरणीय दृष्टिले संवेदनशील मानिन्छ ।

 

चुरेको फेदीमा नदीले बगाएर ल्याएका ढुंगा, गिटी, बालुवा र कंकडले बनेको भावर क्षेत्रको समथर भूभाग छ । नेपालको चुरे क्षेत्रले जम्मा जंगलको ७३ प्रतिशत भूभाग ओगटेको छ । सरकारी अभिलेखका अनुसार सुर्खेतमा चुरेले करिब १३ प्रतिशत क्षेत्र ओगटेको छ ।

 

सहिद पार्क


सुर्खेतको वीरेन्द्रनगर वडा नम्बर ४ मा रहेको सहिद पार्क निर्माण नहुँदै पर्यटकको घुँइचो लाग्ने गरेको छ । कर्णाली प्रदेश प्राप्तिका लागि आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्झनामा बनाइन लागेको सहिद पार्क निर्माण पूरा नहुँदै त्यहाँ पुग्ने बढिरहेका छन् । 

 

‘सहिद पार्क भनेर टिकटकमा देखेको थिएँ’, कालीकोटका मनोज अधिकारीले भने, ‘यहाँ आउँदा पनि त्यत्तिकै सुन्दर र मनमोहक रहेछ ।’ ्

 

पार्क निर्माणसँगै आन्तरिक पर्यटकको चहलपहल बढेको छ । भैरम सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष अमरबहादुर कार्कीले बिदाका दिन पार्कक हेर्न आउनेको घुइँचो लाग्ने बताए । ‘सहिदको सम्मानमा वन क्षेत्रभित्र पार्क निर्माण गर्न दिएका हौँ । पार्क बनेसँगै घुमफिर गर्न आउनेको संख्या दिनहुँ बढ्दो छ,’ उनले भने, ‘पार्कमा सबै संरचना नबन्दै यहाँ आएर फोटो/सेल्फी खिच्न र टिकटक बनाउनेको थामिनसक्नु भीड छ ।’


प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वन तथा वातावरण निर्देशनालयले पार्क निर्माणको योजना अघि बढाएकोे हो ।

 

अभियान निर्माण सेवाले १ करोड १३ लाख ५१ हजार रुपैयाँ लागतमा पहिलो चरणको काम सम्पन्न गरेको निर्देशनालयले जनाएको छ । पहिलो चरणमा पार्कमा स्तम्भ, बगैँचा, पर्खाल निर्माण गरिएको छ । दोस्रो चरणमा वनस्पति उद्यानलगायत निर्माण गर्ने तयारी छ ।

 

वन निर्देशक शिवराम अधिकारीले बहुवर्षीय योजना भएकाले बाँकी संरचना थपिँदै जाने बताए । 

 

डीएनपी डाँडा 


वीरेन्द्रनगर वडा नम्बर ६ बजार क्षेत्र नजिकै रहेको डीएनपी डाँडामा पनि टिकटक बनाउने र फोटो खिच्नेको भीड थामिनसक्नु हुन्छ । 

 

कुनै बेला धेरै मानिस यही बाटो तलमाथि गर्दा पनि वास्ता हुन्थेन । केही युवायुवतीले टिकटक खिचेर पोस्ट्याउँदा सामाजिक सञ्जालमा भाइरल भएर अहिले युवायुवती तथा वृद्धवृद्धाको टिकटक खिच्ने ठाउँका रूपमा परिचित छ । 

 

यो डाँडाको वास्तविक नाम अहिलेसम्म जुराइएको छैन । केही टिकटक प्रयोगकर्ताले टिकटकमा डीएनपी डाँडा नाम राखेर पोस्ट गर्दा अहिले सबैको मुखमा ‘डीएनपी डाँडा’ प्रख्यात हुन पुगेको छ ।

 

टिकटकमा डीएनपी डाँडा पोस्ट भएको देखेर अहिले मध्य तथा सुदूपश्चिमका विभिन्न जिल्ला अछाम, कालीकोट, कैलाली र बर्दियाबाट समेत आउने गरेको स्थानीय कमल बरालले बताए । 

 

‘पहिले टिकटकमा देखेको हो । गजब रहेछ, यो ठाउँ’, अछामका कमल साउदले भने, ‘यहाँ आएर मैले पनि टिकटक खिचेँ । अब साथीहरूलाई पनि देखाउँछु ।’

 

बिहान र दिउँसोभन्दा साँझ ५ देखि ८ बजेसम्म चिसो हावासँगै टिकटक खिच्दै रमाउनेहरूको भीड देख्न सकिन्छ ।


सडकको बीच पेटीमा भएका रूखमा झिलीमिली बत्ती बालिएपछि टिकटक बनाउन र फोटो खिच्न यहाँ तन्नेरीहरू आउने गरेका छन् ।