close

झोलुंगे पुलले जोडियो रघुगंगाकाे चिमखोला र रायखोर

झोलुंगे पुलले जोडियो रघुगंगाकाे चिमखोला र रायखोर

Trulli
ADVERTISEMENT

म्याग्दी- म्याग्दीको रघुगंगा गाउँपालिकाको चिमखोला र रायखोर जोड्ने झोलुंगे पुल लक्ष्यभन्दा ६ महिनाअघि नै निर्माण भएको छ । 

 

अधिकांश विकास आयोजना अलपत्र र ढिलासुस्तीले थला परिरहेको अवस्थामा रायखोरको फडुकेडाँडा र चिमखोलाको ताप्केभीरको सिमाना भएर बग्ने रघुगंगा नदीमाथि लक्ष्यअघि नै झोलुंगे पुल निर्माण भएको हो ।

 

पुल निर्माण स्थल रघुगंगा गाउँपालिकाको वडा नम्बर ६ र ७ को सिमानामा पर्छ । सस्पेन्सन ब्रिज डिभिजन कार्यालय ललितपुरले सो पुल निर्माणका लागि १५ फागुन २०७६ मा उमा-खानी जेभीसँग ६० लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।


कार्यालयका डिभिजनल इञ्जिनियर गौरीकुमार श्रेष्ठले १५ भदौ २०७८ सम्म ठेक्काको म्याद भए पनि २०७७ चैत पहिलो साता नै ठेकेदारले पुल निर्माण सकेर हस्तान्तरण गरेको जानकारी दिए । 


‘७४ लाख ७४ हजार ६१९ रुपैयाँ लागत अनुमान रहेको पुल निर्माण अवधि १८ महिनाको थियो’, उनले भने, ‘आगामी १५ भदौसम्म ठेक्काको म्याद भए पनि लक्ष्यभन्दा ६ महिनाअघि नै पुल निर्माण सकिएको हो ।’ १२३ मिटर लम्बाइको डिजाइन भए पनि पुल निर्माणका क्रममा ६ मिटर लम्बाइ बढाइएको छ ।

 

कोरोना जोखिम र लकडाउनका कारण फागुनमा सम्झौता गरे पनि निर्माण व्यवसायीले गत मंंसिरमा मात्रै निर्माण सुरु गरेको थियो । सुरु गरेको ४ महिनामै पुल तयार भएको हो । कोरोनाको जोखिम, बन्दाबन्दी र भौगोलिक विकटताका बाबजुद निर्माण व्यवसायीले पर्याप्त मजदुर र सामग्री जुटाएर लक्ष्यअघि नै पुल निर्माण गरेका हुन् । 


चिमखोलाका बासिन्दासमेत रहेकी प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री थममाया थापाले निर्माण व्यवसायीको इच्छाशक्ति, समुदायको चासो र सम्बद्ध कार्यालयले पहल गर्ने हो भने विकास आयोजनामा हुने ढिलासुस्ती हटाउन सकिने यो पुल निर्माण योजनाले सन्देश दिएको बताइन् । पुलको हालै सांसद थापा, नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठलगायतको टोलीले निरीक्षण गरेको थियो । 


पुल निर्माणपछि चिमखोला, सिस्नेरी, पात्लेखर्क, रायखोर, कोटगाउँ, ठाडाखानीका करिब ५ सय घरधुरी लाभान्वित भएका छन् । रायखोर र चिमखोला आउजाउ गर्ने करिब ३० मिनेट यात्रा अवधि छोटिएको चिमखोलाका ओम पुनले बताए । 


‘यसअघि काठको जीर्ण पुलमा आउजाउ गर्न जोखिम थियो’, रायखोरका दलप्रसाद पुनले भने, ‘नयाँ ठाउँमा लामो दूरीको पुल बनेपछि सुरक्षित रूपमा आउजाउ गर्नुका साथै दूरी पनि घटेको छ ।’ 


रायखोर गाउँबाट चिमखोलाको अमर माविमा पढ्न आउने विद्यार्थी सबैभन्दा बढी लाभान्वित भएका छन् । सडक सुविधा नपुगेको रायखोर गाउँ भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित छ ।