close

डढेलोको त्रासमा गुल्मेली: साढे १६ सय बढी हेक्टर वन क्षेत्रमा आगलागी

डढेलोको त्रासमा गुल्मेली: साढे १६ सय बढी हेक्टर वन क्षेत्रमा आगलागी

Trulli
ADVERTISEMENT

गुल्मी- गुल्मीमा पछिल्लो समय वन क्षेत्र र घरगोठमा आगलागी हुने क्रम बढिरहेको छ । पानी नपरेको लामो समय भयो । जमिन सुक्खा भएकाले आगलागीको जोखिम स्वाभाविक रूपमा बढी हुन्छ ।

 

आगलागीमा संलग्नहरूलाई कारबाही नभएका कारण बर्सेनि सयाैँ हेक्टर वन क्षेत्र नष्ट हुने गरेको छ । अहिले धार्मिक तथा ऐतिहासिक क्षेत्र रेसुंगासँगै मुसीकोट र रेसुंगा नगरपालिका, इस्मा, धुर्कोट मालिका, कालीगण्डकीलगायत स्थानीय तहका वन क्षेत्र आगलागीको चपेटामा परेका छन् ।


डिभिजन वन कार्यालय गुल्मीका अनुसार गत बिहीबारसम्म करिब १६ सय ५० हेक्टर वन क्षेत्रमा आगलागी भएको छ । शुक्रबार र शनिबार विभिन्न ठाउँमा भएको आगलागी नियन्त्रण नहुँदा वन क्षेत्र नष्ट हुने क्रम जारी रहेको डिभिजन वन कार्यालय गुल्मीमा प्रमुख प्रभात सापकोटाले जानकारी दिए ।


डिभिजन वन कार्यालय गुल्मीले जिल्लाका विभिन्न वन क्षेत्रलाई आगलागीका दृष्टिकोणले अति संवेदनशील, संवेदनशील र कम संवेदनशील गरेर ३ भागमा विभाजन गरेको छ । यसअन्तर्गत अर्खले, तम्घास, जुभुङ, हस्तीचौर, बडागाउँ, मुसीकोट, दर्लामचौर, वाग्ला, पराल्मी, दिब्रुंग, मर्भुङ, सिर्सेनी, नेटा, भनभने, हरेवा र शान्तिपुर आगलागीको अति संवेदनशील क्षेत्रमा पर्छन् ।


त्यस्तै, सिमीचौर, बलेटक्सार, घमिर, वामी, दुबिचौर, रुरु, हाडहाडे, अश्लेवा, दरबार देविस्थान, दोहोली, नयागाउँलाई संवेदनशील क्षेत्रमा राखिएको छ ।

 

ठूलोलुम्पेक, दौघा, छापहिले, पुर्कोटदह, इस्मा रजस्थल, धुर्कोट रजस्थल, वस्तु, जैसीथोक, बाँझकटेरी, भार्से, भुर्तुङ, अर्बेनी, हर्मिचौर, तुराङ, हँसरा, दिगाम र पल्लीकोट पनि आगलागीको संवेदनशील क्षेत्रमा छन् । अरू स्थान आगलागीको कम जोखिममा रहेको डिभिजन वन कार्यालय गुल्मीले जनाएको छ ।

 

विशेषगरी फागुनदेखि जेठसम्मको गर्मी मौसम, घाँस राम्रो पलाउने र झाडी सफा गर्नेलगायत सोचका कारण आगलागी भएका छन् । वन क्षेत्र आगलागीमा प्रमुख दोषी स्थानीय नै छन् । तर, आगलागी नियन्त्रणमा भने समुदायले व्यवास्था गर्दैनन् ।

 

त्यसको परिणाम आगो बस्तीमा पसेर थुप्रै मानवीय एवं भौतिक क्षति बेहोर्नु परेका उदाहरण जिल्लामा छन् । भौगोलिक जटिलता, सरल तथा शीघ्र पहुँचको अभाव, मानवीय अज्ञानता, असावधानी तथा दुराशययुक्त क्रियाकलाप र समुदाय स्तरमा सक्रिय जनशक्ति अभावले बर्सेनि सयौँ हेक्टर वन क्षेत्र र मानवीय तथा भौतिक क्षति हुने गरेको सशस्त्र प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक अशोककुमार लम्सालले बताए ।

 

पहाडमा वन क्षेत्र नजिक बस्ती छन् । पहाडको फेदमा वन टुप्पामो बस्ती । सोही कारण त्यस्ता बस्ती आगलागीको जोखिममा बर्सेनि पर्ने गरेका छन् । वनकै नजिकको स्थानीय सरकारसँगै अधिकार छैन । समुदाय स्तरका सामुदायिक वन स्थानीय तहलाई हस्तान्तरण नहुँदा संरक्षण, व्यवस्थापन र आगलागी नियन्त्रणमा सोचेअनुसार योजना बनाउन नसकिएको धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोख्रेल बताउँछन् ।

 

अहिलेसम्म सचेतनासँगै आगलागी नियन्त्रणमा समुदायलाई सक्रिय बनाउने काम स्थानीय तहले गरेको बताए । ‘सामुदायिक वन प्रदेश र संघीय सरकारअन्तर्गत डिभिजन वन कार्यालयको अधिकार क्षेत्रभित्र पर्छ,’ उनले भने, ‘अहिले वन कार्यालयसँग बजेट र पहुँच छैन ।’


गुल्मीमा साढे ४ सय बढी सामुदायिक वन उपभोक्ता समूह छन् । तिनलाई सचेत बनाउनु नै आगलागी नियन्त्रणको पहिलो उपाय हो । तर, जिल्लामा समुदाय स्तरमा न्यून काम भएका छन् ।

 

डिभिजन वन, जिल्ला प्रहरी कार्यालय, इलाका र प्रहरी चौकी, नेपाली सेना र सशस्त्र प्रहरीले डढेलो नियन्त्रणमा सक्रिय भूमिका खेलेका छन् । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले विपद्मा अधिकार हेरेर बस्न नहुने बताइन् ।

 

अधिकारसम्पन्न गाउँको सिहंदरबार भएकाले स्थानीय तहले विपद् व्यावस्थापनमा विशेष योजना र चासो दिनुपर्नेमा शर्माको जोड छ । ‘मैले डढेलोको विषयमा समुदाय सचेत नभएको पाएँ,’ उनले भनिन्, ‘यो बेला सुरक्षा निकायले निर्देशन र स्थानीय तहले अधिकार खोज्नुहुँदैन ।’