close

भक्तपुरका सार्वजनिक यातायातः आउनुस् छतमा ठाउँ छ  

भक्तपुरका सार्वजनिक यातायातः आउनुस् छतमा ठाउँ छ  

Trulli
ADVERTISEMENT

भक्तपुर– सहचालक: दाइ अलि उता जानुस् । अरूलाई पनि लैजानु छ । 
यात्रु: भित्र टेक्ने ठाउँ नै छैन । कता सर्ने हो ? 
सहचालक: उता खाली छ । जानू न यति धेरै छन् बाहिर मान्छे । सबैलाई अटाएर लैजानुप¥यो । 
यात्रु: हामी नै गुन्दु्रकजस्तै भइसक्यौँ । कता सर्ने हो ?
सहचालक: त्यहाँ खाली छ, जानू न । 
यात्रु: बस अलि चाँडै लैजानुपर्‍यो नि भाइ । सधैँ एक घन्टामा लैजान्छाँै । 


यो संवाद कमलविनायक–जितपुर–कलमसी सडक खण्डमा सञ्चालन हुने सार्वजनिक यातायातको हो । यहाँ चल्ने हरेक जसो सार्वजनिक यातायातको अवस्था यस्तै छ । गाडीभित्रको सिट, उभिएर र छतमैसम्म यात्रु चढाउने गरिन्छ ।

 

यहाँका सार्वजनिक यातायातमा बसभित्र मात्रै होइन, कहिलेकाहीँ बसको छतमा समेत यात्रु खचाखच हुन्छन् । 

 

हरेक दिन बसमा उभिन मात्रै होइन, पाइलै टेक्ने ठाउँ नहुने स्थानीयको गुनासो छ । ‘सधैँ यस्तै हो । बस अलि चाँडै लैजानू भनेको कहिल्यै मान्दैनन् । जहिले भरिभराउ हुन्छ । गुन्द्रुकभन्दा पनि बढी कोच्छन् । न हात राख्न मिल्छ, न त खुट्टा नै,’ एक स्थानीयले भने, ‘मनपरी पाराले बस चलाउँछन् । बसको संख्या बढाउनभन्दा पनि कहिले सुन्दैनन् ।’ 

 

कमलविनायकबाट भत्केको पाटी– जीतपुर–चरेली–कलमसी हुँदै यहाँको बस नगरकोटसम्म पुग्ने गर्छन् । तर, बस भने ७ वटा मात्र सञ्चालनमा छन् । ‘त्यो पनि प्रतिघन्टाको एउटा चल्छ । कहिले त्यो पनि ठेगान हुँदैन । नजिकका हिँडेर जान्छन् तर टाढाकाले १ घन्टै कुरेर जान्छन्,’ उनी थप्छन् । 


बसलाई निगरानीमा राख्न कुनै संस्था नभएको कारणले मनपरी सञ्चालन हुँदै आएको सहचालक बताउँछन् । बस सञ्चालनका लागि समिति त छ तर सबै बस मालिक मात्रै । आफूखुसी नियम बनाएर चलाउँदा सेवाग्राहीले जहिले सास्ती पाउने अवस्था छ । 


कमलविनायक कलमसीको बस मात्रै होइन । योसँगै कमलविनायक, च्याम्हासिंह, सल्लाघारी हुँदै चाँगुनारायण नगरपालिकाका ग्रामीण भेगमा जाने अधिकांश सार्वजनिक यातायातको अवस्था उस्तै छ । 

 

एक स्थानीय भन्छन्, ‘कहिलेकाहीँ यहाँका बसले एक टिपमा १५० जनाभन्दा बढी यात्रु बोक्छन् । तपाईं आफैं भन्नुस् बसको क्षमता कति हो ?’


यहाँका स्थानीयले सिंहदरबारको अधिकारलाई नजिकबाट नियालेको साढे ३ वर्ष बितिसकेको छ । सोही अधिकारलाई प्रयोग गरेर स्थानीय सरकारले विभिन्न स्थानमा विकासको मूल फुटाए । पहाड फोरेर सडक विस्तार गरे । गाउँ सहर बने । बाटो नभएको ठाउँमा बाटो खने । कच्चीलाई पक्की सडक बनाए । तर, सार्वजनिक यातायातको बेथितिलाई कुनै जनप्रतिनिधिले हटाउन नसकेको गुनासो स्थानीयको छ । 

 

बसमा चढ्ने स्थानीयमा न कोरोना रोकथामको मापदण्ड, न त सार्वजनिक आरक्षण सिट नै । 

 

 बस सञ्चालक भने आफ्नो तेल खर्च नै नउठ्ने बताउँछन् । ‘कहिले बसमा कोचाकोच हुन्छ । कहिले १० देखि १५ जना । यस्तो बेला तेल खर्च पनि उठ्दैन,’ बस सञ्चालक राजीव बुढाथोकीले भने, ‘बसमा यात्रु पनि खासै हँुदैनन् । जसरी भए पनि स्थानीयलाई सुरक्षित यात्रा गराएका छौँ ।’ 

 

यस विषयमा स्थानीय सरकारसँगै सरोकारवाला निकायसमेत बेखबर छन् । वडा नम्बर ८ का जनप्रतिनिधि नरेन्द्रबहादुर श्रेष्ठ आफ्नो क्षेत्रको सार्वजनिक यातायातले सीमित मात्र यात्रु ओसारपसार गर्ने गरेको दाबी गर्छन् ।