close

आगो झोसेर मुल्ली गाउँ सखाप पार्ने पक्राउ

आगो झोसेर मुल्ली गाउँ सखाप पार्ने पक्राउ

Trulli
ADVERTISEMENT

जुम्ला– जुम्लाको तिला गाउँपालिका वडा नम्बर ९ ढिपुस्थित मुल्ली गाउँमा आगो लगाउने १ जना पक्राउ परेका छन् । अनुसन्धानका क्रममा सोही गाउँका तेजबहादुर बोहराले गाउँमा आगो लगाएको पुष्टि भएपछि प्रहरीले पक्राउ गरेको हो ।

 

२१ चैतमा बोहराले मुल्ली बस्तीमा आगो लगाएका थिए । आगलागीबाट २९ घर पूर्ण रूपमा जलेका र १५ वटा घरमा आंशिक क्षति भएको थियो ।


पक्राउ परेका बोहराले व्यक्तिगत रिसइबीका कारण स्थानीय जैसिके बोहराको घरमा आगो लगाउँदा पूरै मुल्ली गाउँ नै जलेको स्वीकारेका छन् ।

 

१ जना व्यक्तिसँगको रिसइबीका कारण गरिएको आगलागीले मुल्ली गाउँका करिब ७५ घरधुरी अहिले विस्थापित भएका छन् ।


प्रहरी नायव उपरीक्षक डिएसपी दानबहादुर थापाले निज बोहरालाई पहिलो पटक जिल्ला अदालत जुम्लाबाट ५ दिनको म्याद थप भई अनुसन्धान भइरहेको बताए ।

 

उनका अनुसार व्यक्तिगत स्वार्थका लागि नागरिकको मौलिक अधिकार हनन हुने गरी आगलागी गर्ने व्यक्तिलाई कानुनअनुसार कारबाही अगाडि बढाइएको छ ।

 

यसअघि तिला गाउँपालिका वडा नम्बर ७ को गोठी गाउँमा आगलागी हुँदा २९ घर नष्ट भएका थिए । पशु चौपाया र अन्नपात सबै जलेर नष्ट भएको थियो ।

 

मुल्ली बस्तीमा मानवीय, पशु चौपायाको क्षति नभए पनि अन्नपात पूर्ण रूपमा जलेको वडाध्यक्ष शेरबहादुर बोहराले जानकारी दिए ।