close

बैंकमार्फत सामाजिक सुरक्षा भत्ता बाँड्दै हलेसी तुवाचुङ

बैंकमार्फत सामाजिक सुरक्षा भत्ता बाँड्दै हलेसी तुवाचुङ

Trulli
ADVERTISEMENT

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । 

 

सामाजिक सुरक्षा भत्ता वितरणलाई पारदर्शी बनाउन नगरपालिकाले वडा नम्बर ६ मंगलटारबाट बैंकिङ प्रणालीमार्फत सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको हो ।

 

नगरपालिकाले ज्येष्ठ नागरिक, विधवा, अपांग, दलित बालबालिलाई बिहीबारदेखि साल्पा विकास बैंकमार्फत तेस्रो चौमासिकअन्तर्गतको सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको हो ।

 

क्रमशः अन्य वडाका लाभग्राहीलाई बैंकमार्फत नै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिने हलेसी तुवाचुङ नगरपालिका प्रमुख इवन राईले बताए । नगरपालिकामा महिला १ हजार ८३१ जना र पुरुष १ हजार ११४ जना गरी २ हजार ९४५ जना सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राही छन् । 

 

कतिपय स्थानीय तहमा ‘फेक’ डकुमेन्ट खडा गरेर सामाजिक सुरक्षा चुहावट भइरहेको खबर बाहिर आइरहेको अवस्थामा हलेसी तुवाचुङले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरणका लागि गत १९ असोजमा माछापुच्छ«े बैंक, सालपा विकास बैंक र सेञ्चुरी बैंकसँग सम्झौता गरेको थियो । 

 

चालू आर्थिक वर्षको दोस्रो चौमासिकदेखि सबै लाभग्राहीलाई सरकारले जारी गरेको सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि, २०७५ बमोजिम बैंकिङ प्रणालीमार्फत सामाजिक सुरक्षा भत्ता वितरणको सम्झौता गरेको नगरपालिकाले तेस्रो चौमासिकबाट मात्र बैंकिङ प्रणाली कार्यान्वयनमा ल्याएको हो । 


माछापुच्छ«े बैंकबाट वडा नम्बर २ डिकुवा, वडा नम्बर ३ च्यास्मीटार, वडा नम्बर बडहरे, वडा नम्बर ५ दुर्छिम, वडा नम्बर ८ धितुङ, वडा नम्बर १० अर्खौैले र वडा नम्बर ११ राजापानीका लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्ने तयारी छ । 

 

यस्तै, सालपा विकास बैंकबाट वडा नम्बर १ बाहुनीडाँडा, वडा नम्बर ६ मंगलटार र वडा नम्बर ९ सल्लेमा सामाजिक सुरक्षा भत्ता वितरण गर्ने सम्झौता भएको छ ।

 

सेञ्चुरी बैंकबाट वडा नम्बर ७ महादेवस्थानमा सामाजिक सुरक्षा भत्ता वितरण व्यवस्था मिलाइएको नगरप्रमुख राईले जानकारी दिए । ‘लाभग्राही अशक्त भए बैंकमार्फत आफ्नै टोलमा सामाजिक सुरक्षा भत्ता वितरण हुन्छ । यसो गर्दा सम्बन्धित व्यक्तिको हातमा भत्ता पुग्छ’, राईले भने, ‘सामाजिक सुरक्षा भत्तालाई बचत गर्न चाहनेले बैंकमै राख्न पनि सक्नेछन् ।’


यसबाट फर्जी कागजात बनाएर हुने गरेको सामाजिक सुरक्षा भत्ता चुहावट नियन्त्रणमा सघाउन पुग्ने विश्वास उनको छ । सामाजिक सुरक्षा भत्ता वितरणलाई पारदर्शी बनाउन नगरपालिकाले आर्थिक वर्ष २०७५/७६ मै बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरणका लागि माछापुच्छ«े बैंकसँग सम्झौता गरेको थियो । 

 

सम्झौताअनुसार २०७६ असारमा बैंकमार्फत चौथो चौमासिकको भत्ता वितरण गर्दा २५ लाख रकम फिर्ता भएको मेयर राईले बताए । कोभिड–१९ सुरु भएपछि भने नगरपालिका आफैंले सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको थियो ।

 

सिंगो नगरपालिकाभित्र एउटा बैंकले मात्र सामाजिक सुरक्षा भत्ता वितरण गर्न नभ्याएकाले थप २ वटा बैंकसँग सम्झौता गरिएको मेयर राईले बताए । 

 

नगरपालिकाका अनुसार बाहुनीडाँडामा २६४ जना, डिकुवामा २१०, च्यास्मीटारमा २१५, बडहरेमा १७७, दुर्छिममा ३५९, मंगलटारमा २७४, महादेवस्थानमा ३६१, धितुङमा २४७, सल्लेमा १६८, अर्खौैलेमा ३३९ र राजापानीमा ३३१ जना सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राही छन् । 

 

हलेसी तुवाचुङ नगरपालिकाका विभिन्न वडामा पनि सामाजिक सुरक्षा भत्ता चुहावट भइरहेको बताइएको छ ।