close

हिरासत पुस्तकालय खोल्दै खोटाङ प्रहरी

हिरासत पुस्तकालय खोल्दै खोटाङ प्रहरी

Trulli
ADVERTISEMENT

खोटाङ– जिल्ला प्रहरी कार्यालय खोटाङले हिरासत पुस्तकालय स्थापनाको अभियान सुरु गरेको छ । विभिन्न मुद्दामा पक्राउ परी अनुसन्धानका क्रममा हिरासतमा राखिने थुनुवालाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालयले हिरासत पुस्तकालय स्थापनाको अभियान सुरु गरेको हो ।

 

अभियान सुरु भएसँगै हिरासत पुस्तकालयमा ८४ थान पुस्तक संकलन भइसकेको जिल्ला प्रहरी कार्यालयका डिएसपी नारायणप्रसाद चिमरियाले बताए । 

 

हालसम्म हिरासत पुस्तकालयलाई जिल्ला निर्वाचन अधिकारी कोपिला राईले १८ थान, राष्ट्रिय मानव अधिकार आयोगको उपक्षेत्रीय कार्यालय दिक्तेलले १४ थान, जिल्ला प्रशासन कार्यालय खोटाङले ९ थान, बिन्दु अधिकारी ढकालले ३ थान, प्रहरी निरीक्षक सागर शाहले ७ थान, प्रहरी सहायक निरीक्षक हरिकुमार पौडेलले २ थान पुस्तक प्रदान गरिसकेका छन् । 

 

प्रहरीको हिरासत पुस्तकालयलाई सहयोगस्वरूप शुक्रबार एकै दिन ३१ थान पुस्तक प्राप्त भएको छ । हलेसीखबर डटकमका सम्पादक हरिबोल आचार्यले पाँच हजार बराबरको १९ थान पुस्तक प्रदान गरेका हुन् ।

 

यस्तै, अधिवक्ता ओमप्रकाश घिमिरेले सम्बन्धहरू, सेतो धरती, जात र वार्ता, फिरफिरे, पानीको घाम, लीलाबोध, उल्झन, करोडौंको कस्तूरीलगायत १२ थान पुस्तक हस्तान्तरण गरे । हिरासतमा कैद भुक्तान गरिरहेका थुनुवालाई ज्ञानार्जन गर्ने वातावरण निर्माण गर्दै उनीहरूको मानसिकतामा सकारात्मक परिवर्तन ल्याउन पुस्तकालयको अवधारणा अघि सारिएको डिएसपी चिमरियाले बताए । 

 

जोसुकैले आफूले अध्ययन गरिसकेका पुस्तक वा नयाँ पुस्तक उपलब्ध गराएर प्रहरीको सो पुस्तकालय स्थापना अभियानमा सहभागी हुन पाइनेछ । पुस्तक उपलब्ध गराउने व्यक्तिको नाम, ठेगाना र मिति उल्लेख गरेर दर्ता गर्ने व्यवस्था मिलाइएको छ । 

 

यस्तै, पुस्तक अध्ययन गर्न चाहने थुनुवाको नाम, मुद्दाको प्रकृति, पुस्तक लगेको मिति, फिर्ता गरेको मिति उल्लेख रेकर्ड राख्ने व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । हिरासत नजिकै स्थापना गरिएको पुस्तकालयमा कम्तीमा १ हजार पुस्तक जुटाउने लक्ष्य छ ।