close

पूर्वाधारमा काठेखोलाः १ वर्षमै ५ वटा सिँचाइ आयोजना सम्पन्न

पूर्वाधारमा काठेखोलाः १ वर्षमै ५ वटा सिँचाइ आयोजना सम्पन्न

Trulli
ADVERTISEMENT

बागलुङ– बागलुङको काठेखोला गाउँपालिका वडा नम्बर ७ रेशमा एकै वर्षमा ५ वटा सिँचाइ आयोजना निर्माण भएका छन् । गण्डकी प्रदेश सरकार, काठेखोला र वडा कार्यालयको समेत बजेट परिचालन गरेर ५ वटा कुलो निर्माण गरिएको हो ।

 

गत वर्ष सुरु भएका २ र चालू आर्थिक वर्षमा विनियोजन भएका ३ वटा आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । रेशका झन्डै ५ सय हेक्टर क्षेत्रफलमा सिँचाइ हुने गरी ती आयोजना निर्माण भएको वडाध्यक्ष प्रेम लामिछानेले बताए ।

 

साविक रेश गाविसको वडा नम्बर ५, ६ र ७ को अधिकांश जमिनमा सिँचाइ पुग्ने गरी ३.५ किलोमिटर देउराली सिँचाइ आयोजना निर्माण भएको छ । 

 

गण्डकी प्रदेश सरकारको २ करोड ५० लाख रुपैयाँमा निर्माण सम्पन्न हुने चरणमा रहेको यो आयोजनाबाट झन्डै २ सय हेक्टर जमिनमा सिँचाइ गर्न सकिने स्थानीय अगुवा ओमबहादुर थापाले बताए । यो आयोजनाको ९० प्रतिशत काम सम्पन्न भएको छ ।

 

रेशखोलाबाट पानी ल्याउने गरी निर्माण भएको आयोजनाको आगामी असार मसान्तसम्म सबै काम सकिनेछ ।साङ्खोलाको पानी किसानको खेतबारीमा पुग्ने गरी रेशमा डोटासाङ खोला सिँचाइ आयोजना निर्माण सम्पन्न भएको छ । १ किलोमिटर लामो सिँचाइ आयोजना गत आर्थिक वर्षमा ४ सय मिटर र चालू आर्थिक वर्षमा ६ सय मिटर निर्माण गरिएको हो ।

 

४० हेक्टर क्षेत्रफल रहेको जमिनका लागि सिँचाइ पुर्‍याउन गण्डकी प्रदेश सरकारको ५४ लाख रुपैयाँ अनुदानमा आयोजना निर्माण भएको हो ।

 

काठेखोला गाउँपालिकाको ५० लाख रुपैयाँ अनुदानमा साङ्खोला सिँचाइ आयोजना निर्माण सम्पन्न भएको छ । रेशको सबैभन्दा ठूलो फाँटका लागि बनाइएको यो आयोजनाबाट २ सय हेक्टर जमिनमा सिँचाइ हुनेछ । 

 

८ सय मिटर लामो कुलो यसै आवमा निर्माण सम्पन्न भएको वडाध्यक्ष लामिछानेले जानकारी दिए । वडा कार्यालयले आफ्नै लगानीमा दामगाडे सिँचाइ आयोजना र सिम्ले सिँचाइ आयोजना निर्माण गरेको छ ।

 

झन्डै २० हेक्टर क्षेत्रफलका लागि निर्माण गरिएका आयोजनाका लागि वडा कार्यालयले ७ लाख रुपैयाँ खर्चेको छ ।

 

‘खोलामा पानी बग्ने, खेतबारी हिउँदमा बाँझै रहने समस्या अब हट्नेछ,’ स्थानीय युवराज गौतमले भने, ‘रेशमा यो वर्ष बनेका सिँचाइ आयोजनाले किसानलाई उत्साहित बनाएको छ ।’ 

 

पानीको प्रशस्तै स्रोत रहेको रेशमा सिँचाइ अभावमा खेतबारी बाँझै रहने समस्या थियो । सिँचाइ आयोजना बनेपछि हिउँदको समय खेतबारी हराभरा हुने अध्यक्ष लामिछानेले बताए । 

 

‘अब रेशको तल्ला फाँटमा ३ खेती हुन्छ । माथिल्लो भूभागमा तरकारी उत्पादन बढ्छ,’ उनले भने, ‘हामीले लामो प्रयासपछि वडाका अधिकांश भागमा पुग्ने गरी सिँचाइ आयोजना बनाएका छौँ ।’

 

वडाले वर्षामा भलको पानी तर्काउने र हिउँदमा खोलाको पानी फाँटमा पुर्‍याउने गरी सडक छेउबाट कुलो निर्माण गरेको छ ।