close

ऐँसेलुखर्कका स्थायी शिक्षकलाई क्षमता विकास तालिम 

ऐँसेलुखर्कका स्थायी शिक्षकलाई क्षमता विकास तालिम 

Trulli
ADVERTISEMENT

खोटाङ– खोटाङको ऐँसेलुखर्क गाउँपालिकाले शिक्षक सेवा आयोग उत्तीर्ण गरेर पोस्टिङ भएका स्थायी शिक्षकलाई सहभागी गराएर क्षमता विकास तालिम आयोजना गरेको छ । 

 

आयोग उत्तीर्ण गरेर स्थायी नियुक्ति लिएर आएका नवप्रवेशी शिक्षकलाई सहभागी गराएर गाउँपालिकाले ३ दिने क्षमता विकास तालिम आयोजना गरेको हो । 

 

शनिबार सुरु गरिएको तालिममा मावि र आधारभूत विद्यालयमा पोस्टिङ भएका १६ जना शिक्षकलाई सहभागी गराइएको गाउँपालिकाका शिक्षा अधिकृत विनेशकुमार श्रेष्ठले बताए । तालिममा सहभागी शिक्षकलाई विद्यालय प्रशासन, विद्यालयको योजना, एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली, गाउँपालिको शिक्षा ऐन, भर्चुअल सिकाइ, एकीकृत पाठ्यक्रमबारे जानकारी दिइने गाउँपालिकाले जनाएको छ । 


नवप्रवेशी शिक्षकलाई स्वागत गर्ने, आपसमा परिचय गराउँदै गाउँपालिकाको शिक्षा ऐनबारे जानकारी दिँदै शैक्षिक गुणस्तर अभिवृद्धिमा अग्रसर गराउन क्षमता विकास तालिम आयोजना गरिएको हो ।

 

गाउँपालिकाकै सभाहलमा आयोजना गरिएको तालिममा गत वर्ष नियुक्ति पाएका शिक्षक सहभागी छन् । कोभिड–१९ का कारण रोकिएको नवप्रवेशी शिक्षकको क्षमता विकास तालिम यस वर्ष चलाइएको गाउँपालिकाले बताएको छ ।

 

केही समयअघि पनि गाउँपालिकाले शिक्षण सेवामा स्थायी नियुक्ति लिएर आएका १८ शिक्षकलाई क्षमता विकास तालिम दिएको थियो । 

 

गुणस्तर एवं प्रविधिमैत्री शिक्षण सिकाइ, शैक्षिक आचारसंहिताको पालनालगायत उद्देश्य राखेर तालिम आयोजना गरिएको हो । गाउँपालिकाभित्रका सबै स्थायी शिक्षकलाई नै क्षमता विकास तालिम दिने तयारी गरिएको गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाले बताए ।

 

‘सेवा प्रवेश, शिक्षण सिकाइ विधि, पाठ्यक्रमसम्बन्धी जानकारी दिन तालिम आयोजना गरिएको हो,’ अध्यक्ष निरौलाले भने, ‘क्रमशः सबै स्थायी शिक्षकलाई सहभागी गराएर तालिम सञ्चालन गर्ने योजना छ ।’