close

आगोको लप्काले लुट्यो डाँडाकाहुँबासीको सपना 

अन्नका भकारी र दाम राखेका थैला क्षणभरमै स्वाहा

आगोको लप्काले लुट्यो डाँडाकाहुँबासीको सपना 

अन्नका भकारी र दाम राखेका थैला क्षणभरमै स्वाहा

Trulli
ADVERTISEMENT

पर्वत– पर्वतको पैयुँ गाउँपालिका वडा नम्बर ६ सरौँखोलास्थित डाँडाकाहुँका शेरप्रसाद गौतम शुक्रबार दिउँसो खेतमा पाकेको गहुँ काट्नमै व्यस्त थिए । 

 

गौतमकी श्रीमती उजेली र आफू घरमा ताल्चा लगाएर घर नजिकैको खेतमा दिनभर गहुँ काट्न गएका शेरप्रसाद खेतमा झुलिरहेको गहुँ देखेर मख्ख थिए । श्रीमान्– श्रीमतीबीच दुःख–सुखका कुराकानी गर्दै मेलो भरिरहेका बेला दिउँसो साढे २ बजे नजिकै जंगलमा लागेको डढेलो एक्कासि घरमा सल्कियो । 

 

घरमा आगो लागेको देख्नासाथ काट्दै गरेको गहुँको मुठी र हसिँया फालेर हँस्याङफस्याङ गर्दै घरमा पुगे । घर पुग्दा आगो केही मात्रामा फैलिएको थियो । घरमा लागेको आगो तत्काल निभाउन हारगुहार गरे ।

 

छटपटिँदै घरि पानी त घरि माटो–ढुंगाले निभाउने कोसिस गरे पनि आगोको लप्काले लपेटिइरह्यो । आगो निभाउन भएभरको शक्ति लगाए पनि शेरप्रसादले घरलाई क्षति हुनबाट जोगाउन सकेनन् । 

 

शेरप्रसादले आगलागीबाट जोगाउन नसके पनि घरभित्र रहेका झिटीगुन्टा जोगाउने भरमग्दुर प्रयत्न गरे । तर, विकराल रूप लिएको आगोलाई छल्दै घरभित्र पस्ने अवस्था थिएन । 


घर जोगाउने प्रयासमा उनी एक्ला मात्र थिएनन्, गाउँलेको पनि साथ थियो । सम्पूर्ण गाउँले लाग्दा पनि आगलागीबाट घरलाई जोगाउन सकेनन् । शेरप्रसाद आफूले लगाएको शरीरको एक सरो कपडाबाहेक घरभित्रका कुनै सामग्री जोगाउन सकेनन् । 

 

घरभित्र रहेका नागरिकतासहितका महत्त्वपूर्ण कागजात, पैसा, लत्ताकपडा, खाद्यान्नलगायत सामग्री जलेर छिनभरमै नष्ट भयो । 

 

२ कोठाको २ तले घर रहेको शेरप्रसादको आँटीमा ३ वटा भकारी थिए । त्यसमध्ये एउटा भकारीमा १४÷१५ मुरी धान थियो भने अर्कोमा आधा–आधी कोदो । अर्को भरिन नसकेको गहुँको भकारी थियो । त्यो भकारी यो वर्ष भर्ने उनको सपना थियो । तर, भकारी भर्ने उनको सपना आगलागीले छिनभरमै चकनाचुर भयो ।

 

घरमा धान, मकै, गहुँ, कोदोलगायत अन्नबाली प्रशस्त भित्र्याउँदै आएका शेरप्रसाद पेसाले कृषक हुन् । उनको परिवारमा श्रीमती, २ छोरा र २ छोरी छन् । २ छोरीको विवाह भइसकेको छ । उनका जेठा छोरालाई आफन्तले लगेर पढाएका छन् भने कान्छा सोही गाउँकै विद्यालय पढ्छन् ।

 

शुक्रबार दिउँसो साढे २ बजे जंगलमा लागेको डढेलो डाँडाकाहुँको बस्तीमा पस्दा रेशमलालसहितका ५ घर र १२ गोठ जलेर नष्ट भए । आगलागीबाट स्थानीय नमप्रसाद सापकोटा, रेशमलाल गौतम, रेशमलाल सापकोटा र जयकला सापकोटाका घर जलेका हुन् ।

 

स्थानीय खड्कप्रसाद गौतम, एकनारायण गौतम, चोलाकान्त सापकोटा, छविलाल गौतम, उमेश गौतमको घरमा समेत आगलागीले क्षति पुर्‍याएको छ । आगलागी बाट १२ गोठ जलेको र भैँसी, गोरु एवं बाख्रासमेत मरेको प्रहरीले जनाएको छ । घरमा भएका महत्त्वपूर्ण कागजात, पैसा, लत्ताकपडा, खाद्यान्नलगायत सामग्री जलेर नष्ट भएको छ । 

 

आगलागीपीडितलाई सान्त्वना दिन सोही क्षेत्रबाट निर्वाचित गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले शनिवार सोही स्थानमा पुगेर प्रदेश सरकारका तर्फवाट प्रतिघर १० हजार रुपैयाँका साथै अस्थायी बासका लागि टेन्ट हाउस, त्रिपालसहितका सामग्री वितरण गरे ।

 

आगलागीले घर जलेका ५ परिवार खुला आकाशमुनि बस्न बाध्य छन् । तत्काललाई अस्थायी टेन्ट हाउसमा बसे पनि उनीहरूलाई ओत लाग्ने घर कसरी बनाउने र के खाने भन्ने चिन्ताले दिनरात पिरोल्न थालेको छ ।