close

प्रदेश १ का शिक्षकलाई तालिम

प्रदेश १ का शिक्षकलाई तालिम

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयले शिक्षक पेसागत क्षमता विकास तालिम नलिएका स्थानीय तह र विषयका स्थायी शिक्षकलाई १० दिने आवासीय तालिम दिने भएको छ ।

 

शिक्षा तालिम केन्द्र सुनसरीले प्रदेशभरका सबै जिल्लाका स्थानीय तहमध्येबाट कोटा निर्धारण गरी आधारभूत तह कक्षा (६–८) मा कार्यरत नेपाली विषयका शिक्षकका लागि तालिम सञ्चालन गर्न लागेको हो ।

 

तालिममा ताप्लेजुङ, पाँचथर, तेह्रथुम, भोजपुर, ओखलढुंगा र सोलुबाट १–१ जना सहभागी हुनेछन् । यस्तै, इलाम, धनकुटा, संखुवासभा, उदयपुरबाट २–२ जना एवं झापा, मोरङ र सुनसरीबाट ३–३ जना सहभागी हुने शिक्षा तालिम केन्द्र सुनसरीका तालिम प्रमुख सूर्यराज घिमिरेले जानकारी दिए ।

 

सहभागीको छनोट सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइले गर्नुपर्नेछ । तालिममा सहभागी छनोट गर्दा शिक्षक पेसागत क्षमता विकास तालिम नलिएका स्थानीय तह र विषयका स्थायी शिक्षकलाइ आधार मानेर छनोट गर्नुपर्ने घिमिरेले बताए ।

 

त्यसका लागि तालिम केन्द्रले प्रदेश १ भरिका सबै शिक्षा विकास तथा समन्वय इकाइलाई परिपत्रसमेत गरिसकेको जनाएको छ ।