close

जुम्लाले उठायो साढे १९ करोड राजस्व 

जुम्लाले उठायो साढे १९ करोड राजस्व 

Trulli
ADVERTISEMENT

जुम्ला– जुम्लामा चालू आर्थिक वर्षको फागुनसम्मको राजस्व संकलन उत्साहजनक भएको छ । चालू आवको ८ महिनामा १९ करोड ५८ लाख ३७ हजार २ सय ५२ रुपैयाँ राजस्व संकलन भएको आन्तरिक राजस्व कार्यालय जुम्लाका कर अधिकृत युवराज बस्नेतले बताए ।


उनका अनुसार चालू आवको ८ महिनामा १३ करोड ७५ लाख ७५ हजार राजस्व संकलन हुने लक्ष्य राखेकामा ६ करोड ८ लाखले बढेर साढे १९ करोड लक्ष्यभन्दा बढी राजस्व संकलन भएको हो ।

 

कर अधिकृत बस्नेतले भने, ‘चालू आवमा जुम्लामा २५ करोड ६० लाख १० हजार रुपैयाँ बराबर राजस्व संकलन गर्ने लक्ष्य छ । तर, फागुन मसान्तसम्मको राजस्व संकलन जेठसम्मको लक्ष्यको तुलनामा पुगेको छ ।’

 

जुम्लामा आन्तरिक राजस्व कार्यालय स्थापनापछि कर दाता शिक्षाको विस्तार तथा नियमन गरेकै कारण राजश्व संकलन उत्साहजनक रूपमा भएको कर अधिकृत बस्नेतले उल्लेख गरे ।

 

विगतभन्दा व्यवसायी, उद्योगी करको दायरामा आउने क्रम पनि बढेको छ । हाल व्यक्तिगत प्यान, व्यावसायिक प्यान र डब्लु प्यान लिनेको संख्या पनि अधिक बढेको छ ।

 

आन्तरिक राजस्व कार्यालय स्थापना भएको २ वर्षमै सेवासँगै करदाता शिक्षा तथा नियमन र अनुसन्धानमा जोड दिएकाले राजस्व संकलनले गति लिएको देखिन्छ ।

 

९ हजार पुगे व्यावसायिक प्यान


जुम्लाका ९ हजार १ सय ७० जनाले व्यावसायिक प्यान लिएका छन् । यीमध्ये १ हजार १ सय ४१ जना व्यवसायी मात्रै भ्याटमा दर्ता भएका छन् ।  ७ हजार ५ सय २५ जनाले हालसम्म व्यक्तिगत प्यान लिएको तथ्यांकले देखाएको छ ।

 

कुन शीर्षकमा कति राजस्व


आन्तरिक राजस्व कार्यालय जुम्लाले विभिन्न २५ वटा शीर्षकमा कर संकलन गरेको छ । कर्णालीका जुम्ला, मुगु र कालीकोट कार्यक्षेत्र रहेको राजस्व कार्यालयले चालू आवको ८ महिनामा कोभिड–१९ का बाबजुद साढे १९ करोड रुपैयाँ राजस्व संकलन गर्नुले कर्णालीमा आर्थिक गतिविधि विगतको तुलनामा बढेको देखिन्छ ।

 

तथ्यांकअनुसार सबैभन्दा बढी परामर्श तथा ठेक्कातर्फको मूल्यअभिवृद्धि कर ६ करोड ४९ लाख ३५ हजार ७ सय रुपैयाँ राजस्व उठेको छ ।

 

पारिश्रमिक करतर्फ ४ करोड १७ लाख ३२ हजार २ सय, एकलौटी फर्म तथा व्यक्तिगत आयकरतर्फ ३ करोड ५७ लाख १६ हजार ७ सय, सामाजिक सुरक्षातर्फ १ करोड ६७ लाख ३९ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ ।

 

त्यस्तै, पुँजीगत लाभकरतर्फ ३५ लाख ३४ हजार ३ सय, प्रालितर्फको मुनाफा करतर्फ २६ लाख ६० हजार ४ सय, सम्पत्ति, बहाल तथा पट्टा करतर्फ ३५ लाख १ हजार, ब्याज करतर्फ २६ लाख ४४ हजार २ सय र अन्तःशुल्क मदिरातर्फ ४३ लाख ५६ हजार ८ सय गरी विभिन्न २५ शीर्षकबाट साढे १९ करोड रुपैयाँ बढी राजस्व संकलन भएको छ ।

 

अझै व्यवसायी तथा आम नागरिकलाई करको दायरामा ल्याउन गाउँ–गाउँमा करदाता शिक्षा सञ्चालनको तयारीमा रहेको कर अधिकृत युवराज बस्नेतले जानकारी दिए ।

 

आन्तरिक राजस्व कार्यालयले कर छलेको, कर नदिएको, आम्दानी लुकाएको सूचना दिँदा पनि कर तिर्न ढिलासुस्ती गरेको सबै अनलाइनबाटै अनुसन्धान गरी फर्म तथा व्यवसायलाई ब्लक गर्न मिल्ने व्यवस्था भएकाले पनि राजस्व संकलन उल्लेख्य वृद्धि भएको कर अधिकृत बस्नेतको भनाइ छ ।