close

फोहोर व्यवस्थापनमा जुट्यो बेनी 

फोहोर व्यवस्थापनमा जुट्यो बेनी 

Trulli
ADVERTISEMENT

म्याग्दी- म्याग्दीको बेनी बजारमा नयाँ विधिबाट फोहोर व्यवस्थापन थालिएको छ । बेनी नगरपालिकाको वडा नम्बर ७ र ८ मा पर्ने बेनी बजारका घरबाटै कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै भाँडोमा संकलन र व्यवस्थापन गर्न थालिएको हो ।

 

नगर प्रमुख हरिकुमार श्रेष्ठले फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउन नयाँ विधि अपनाइएको बताए । 

 

‘बेनीका १ हजार घरधुरीलाई रातो र हरियो रंगका २ वटाका दरले डस्टबिन वितरण थालेका छौँ’, उनले भने, ‘घरका सबै फोहोर ती डस्टबिनमा संकलन गरेर राखिन्छ । हरियो डस्टबिनमा कुहिने र रातोमा नकुहिने फोहोर संकलन हुन्छ ।’

 

नगरपालिकाका कर्मचारी कृष्ण शाक्यले कम्प्याक्टर र ट्रयाक्टरले आलोपालो गरेर कुहिने र नकुहिने फोहोर घरघरमै पुगेर संकलन गर्ने व्यवस्था मिलाइएको जानकारी दिए । ‘कुहिने फोहोरलाई मल बनाउने र नकुहिनेलाई कबाडीमा बिक्री गर्ने योजना छ’, उनले भने, ‘फोहोर व्यवस्थापन शुल्क तिरेका घरधनीले मात्र डस्टबिन पाउनेछन् ।’


नगरपालिकाले ठेक्का प्रक्रियामार्फत १३ लाख ७६ हजार रुपैयाँमा डस्टबिन खरिद गरेको छ । बेनीका घरधनीलाई आइतबारदेखि डस्टबिन वितरण सुरु गरिएको छ । नगरप्रमुख श्रेष्ठले वडा नम्बर ७ को वीरेन्द्रचोक टोल सुधार समितिअन्तर्गतका घरधनीलाई डस्टबिन उपलब्ध गराएर वितरण कार्य सुरु गरेका थिए । 

 

घरबाटै कुहिने र नकुहिने फोहोर छुट्टाएर संकलन गरिँदा केन्द्रमा लगेपछि व्यवस्थापन गर्न सहज हुनेछ । यसअघि कुहिने र नकुहिने सबै फोहोर सँगै संकलन गर्दा व्यवस्थापनमा असहज भएको थियो ।

 

बेनी बजारमा गरिएको अभ्यास सफल भएपछि गलेश्वर र तातोपानी बजारको फोहोर व्यवस्थापन गर्न पनि यस्तै विधि अपनाइने नगर प्रमुख श्रेष्ठले बताए । 


नगरपालिकाले रातोपहिरोमा २ वर्षअघि फोहोर व्यवस्थापन केन्द्र निर्माण गरेको थियो । ४७ लाख रुपैयाँमा फोहोर संकलन गर्ने टहरा निर्माण र घेराबार गरिएको छ । 

 

कालीगण्डकी नदीको किनारभन्दा माथि र बेनी-गलेश्वर सडकभन्दा तल पर्ने सार्वजनिक जग्गा सम्याएर भवन बनाइएको छ । केन्द्रमा कुहिने र नकुहिने फोहोर व्यवस्थापन गर्ने फरक-फरक ठाउँ बनाइएको छ । 


कालीगण्डकी र सडकमा आउजाउ गर्नेलाई असर नपर्ने तथा दुर्गन्ध नआउने गरी फोहोर व्यवस्थापन गर्ने भनिए पनि कुहिने र नकुहिने फोहोर छुट्टाउन नसक्दा प्रभावकारी बन्न सकेको थिएन । कुहिने फोहोरलाई दुर्गन्ध आउन नदिने प्रविधिको प्रयोग गरी मल बनाएर बिक्री गरी आम्दानी गर्ने योजना रहेको नगर प्रमुख श्रेष्ठले जानकारी दिए ।

 

बेनी र गलेश्वर बजारबाट दैनिक ३ ट्रयाक्टरभन्दा बढी फोहोर संकलन हुने गरेको छ ।