close

कोरोना त्रास: विद्यालय तत्काल बन्द नगर्न सुझाव

कोरोना त्रास: विद्यालय तत्काल बन्द नगर्न सुझाव

Trulli
ADVERTISEMENT

काठमाडौं– मुलुकमा कोरोना संक्रमणको दर बढ्दै गए पनि शिक्षण संस्थाहरू तत्काल बन्द नगर्न सरोकारवालाले सरकारलाई सुझाएका छन् । स्वास्थ्य मापदण्ड पालना गरेर शिक्षण संस्था निरन्तर राख्न उनीहरूले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई आग्रह गरेका हुन् ।

 

शिक्षा मन्त्रालयमा आयोजित छलफलमा सरोकारवालाले विद्यालयमा स्वास्थ्य मापदण्ड तथा कोभिड प्रोटोकल पालना भए–नभएबारे बेलाबेला स्थानीय तहबाट अनुगमन गर्नुपर्ने, शिक्षक तथा विद्यार्थीले आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर शैक्षिक गतिविधिलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

 

मन्त्रालयका सचिव रामप्रसाद थपलियाका अनुसार कोरोना संक्रमण बढ्दै गएको परिस्थितिमा शिक्षण संस्था कसरी सञ्चालन गर्ने भन्नेबारे सरोकारवालासँग छलफल गरिएको हो ।

 

छलफलमा सहभागी एन प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाका अनुसार विद्यालयमा स्वास्थ्य सुरक्षाका सबै प्रावधानलाई कडाइका साथ लागू गरेर शिक्षण संस्था सुचारु राख्न सबै पक्ष सहमत भएका छन् ।


‘कोरोना संक्रमण फेरि बढ्न लागेको छ । तर, अब यससँग जुध्दै अघि बढ्नुको विकल्प छैन,’ उनले भने, ‘त्यसैले स्वास्थ्य सुरक्षा अपनाएर शिक्षण संस्था सुचारु राख्न सबै पक्ष सहमत भएका छौँ ।’

 

स्थानीय तहका प्रतिनिधिले पनि शिक्षण संस्थामा बेलाबखत निगरानी गर्ने, कुनै शिक्षण संस्थामा संक्रमण भएको देखिए सोही शिक्षण संस्थालाई निश्चित अवधिका लागि बन्द गर्न सकिनेलगायत विषयमा सुझाव दिँदै समग्र शैक्षिक गतिविधिलाई निरन्तरता दिनुपर्ने सुझाव राखेका थिए ।

 

सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमण बढ्दै गएको सन्दर्भमा केही महत्त्वपूर्ण निर्णय गर्न सक्ने स्रोत बताउँछ । शिक्षा मन्त्रालयले भने सरोकारवालासँगको छलफलबाट निस्किएको सुझाव मन्त्रीसमक्ष ब्रिफिङ गरेर मन्त्रिपरिषद्मा आवश्यक प्रस्ताव लैजाने तयारी गरेको छ ।