close

पर्वतका ३२ वनमा आगलागी, २ सय हेक्टर वन सखाप

पर्वतका ३२ वनमा आगलागी, २ सय हेक्टर वन सखाप

Trulli
ADVERTISEMENT

पर्वत- गर्मीयाम सुरु भएसँगै देशका विभिन्न ठाउँमा आगलागीका घटना बढेका छन् । लामो समय खडेरी पर्नु र हावाहुरीलगायतका कारण आगलागीका घटना बढ्दै गएका हुन् । 

 

पर्वतमा यो वर्ष करिब २ सय हेक्टरभन्दा बढी क्षेत्रफलको वनमा आगलागी भएको छ । आगलागीका कारण बर्सेनि वन क्षेत्र मासिँदै जान थालेको छ भने जनधनको पनि उत्तिकै क्षति हुने गरेको छ ।

 

जिल्ला वन कार्यालय पर्वतको तथ्यांकअनुसार पर्वतका करिब ३२ वटा सामुदायिक वनमा यस वर्ष आगलागी भएको छ । गर्मीसँगै हावाहुरी बढी चल्ने हुँदा आगोले घर तथा वन क्षेत्रमा बढी नोक्सानी गरेको वन कार्यालयले जनाएको छ । 

 

कार्यालयका अनुसार पर्वतमा बर्सेनि सयौँ हेक्टर जमिनमा आगलागी हुने गरेको छ । आगलागीका कारण रुख-बिरुवासँगै वन्यजन्तुलाई पनि असर पुगेको छ ।

 

वनमा लागेको आगलागीका कारण आसपासका बस्तीसमेत जोखिममा परेका छन् । डिभिजन वन कार्यलय पर्वतका प्रमुख मेघराज पौडेलका अनुसार पर्वतमा मात्रै करिब २ सय हेक्टर बढी क्षेत्रफलको वनमा आगलागी भएको छ । 

 

समयमा पानी नपर्नु र मानिसको हेलचेक्र्याइँले वनमा धेरै डढेलो लागेको हो । मानिसले व्यक्तिगत जग्गामा पातपतिंगर पोलेर छाड्दा होस् या सडक बढारेको फोहर नालीमा फालेर आगो लगाउँदा आगलागीका घटना बढेका हुन् ।

 

गत वर्षको तुलनामा यस वर्ष वनमा धेरै मात्रामा डढेलो लागेको छ । आगलागी भएका वनमा सामुदायिक धेरै छन् । पौडेलले भने, ‘जनचेतना र प्रचार–प्रसार अभावले वनमा धेरै आगलागी भएको छ । यसको नियन्त्रणका लागि कार्यालय सक्रियताका साथ लागेको छ ।’

 

पौडेलले सबै सरोकारवाला निकायको समन्वय, सामुदायिक वन सञ्जाल, स्थानीय प्रशासन र स्थानीयसँगको समन्वयमा आगलागी हुनेबित्तिकै नियन्त्रणका लागि परिचालन हुने गरेको दाबी गरे । पछिल्लो समय डिभिजन वन कार्यालयले माइकिङ, रेडियो तथा पत्रपत्रिकाबाट प्रचार-प्रसारलाई समेत तीव्रता दिइएको छ । 


ओखलढुंगाको चिशंखुगढी र मानेभञ्ज्याङका ४ ठाउँमा आगलागी 

 

दुई सातायता ओखलढुंगाका दर्जन बढी स्थानमा आगलागीका घटना भए । आगोले केही निजीबाहेक अधिकांश क्षेत्र सामुदायिक वन सखाप भएको छ । 

 

आइतबार मात्रै जिल्लामा ४ वटा आगलागीका घटना भएका छन् । चिशंखुगढी गाउँपालिका वडा नम्बर २ पोखरेका २ स्थानमा आगलागी भएको स्थानीय झनक श्रेष्ठले बताए । उनका अनुसार पोखरेको १ स्थानमा वन क्षेत्र र १ स्थानमा घरगोठसमेत जलेका छन् । 


पोखरेमा जंगलबाट आएको आगोले २ वटा गोठ जलेका छन् । बेँसीका गोठ भएकाले मान्छे तथा वस्तुभाउ नहुँदा क्षति नभएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी शिव कट्टेलले जानकारी दिए ।

 

चिशंखुगढीमा चैतमा मात्रै यसअघि २ पटक आगलागी भएर सामुदायिक वन जलेको थियो । योसँगै यो गाउँपालिकामा ४ पटक आगो लागेको छ । त्यस्तै, आइतबार मात्रै जिल्लाको मानेभञ्ज्याङ गाउँपालिकाको केत्तुकेमा पनि २ स्थानमा आगो लागेको छ । भुसुने जंगलमा लागेको आगो नियन्त्रणबाहिर रहेको प्रहरीले जनाएको छ । 

 

सोही गाउँको अर्को वनमा पनि आगो सल्किएको छ । जथाभावी आगो सल्किने भएकाले स्थानीयले नियन्त्रणमा ल्याउन समस्या हुने हुँदा बस्ती क्षेत्र जोगाउनेमा मात्रै ध्यान दिने गरेको पोखरेका युवा झनक श्रेष्ठ बताउँछन् । 


आगलागी नियन्त्रणका लागि स्थानीयलाई तालिम छैन । तरिका थाहा नपाउँदा पनि आगो नियन्त्रण गर्न समस्या हुने गरेको मानेभञ्ज्याङका रुपलाल तामाङले बताए । उनले भने, ‘बस्ती जोखिममा भए मात्रै स्थानीयले जोखिम मोलेर नियन्त्रण गर्ने गरेका छन् । उनीहरूलाई तालिम नहुँदा आगो नियन्त्रण गर्न जाँदा आगोले डढ्ने त्रासले पनि स्थानीय डराउने गरेका छन् ।’ 


यसरी दैनिक आगलागी हुँदा वन क्षेत्र सखाप हुँदै गएको मात्रै छैन, धनमालको क्षति पनि बढ्दै गएको छ । असोजयता ओखलढुंगामा पानी परेको छैन । पानी परेको भए चैत, वैशाखमा वन क्षेत्रमा हरियाली हुने समय भए पनि सुक्खा भएकाले आगो सल्किने र नियन्त्रणमा ल्याउन नसकिने अवस्था आएको प्रहरीको भनाइ छ । 

 

मानेभञ्ज्याङको आगो नियन्त्रणमा नआए पनि बस्ती जोखिममा नरहेको जिल्ला प्रहरीका सूचना अधिकारी कट्टेलले बताए । हालसम्म आगो लागेर १ हजार हेक्टर बढी वन क्षेत्र सखाप भइसकेको छ ।