close

गुरुयोजना अभावमा कुरुप बने जुम्लाका धार्मिक सम्पदा 

गुरुयोजना अभावमा कुरुप बने जुम्लाका धार्मिक सम्पदा 

Trulli
ADVERTISEMENT

जुम्ला- कर्णालीकै प्रतिष्ठित धार्मिक सम्पदा जुम्लाको चन्दननाथ भैरवनाथ मन्दिर कुरुप बन्दै गएको छ । मन्दिरको गुरुयोजना नहुँदा यस्तो अवस्था आएको हो । 

 

मन्दिरको आडमै रहेको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय ५ तले बन्न लागेपछि चन्दननाथ मन्दिरको शोभा नै हराउन थालेको हो । अहिले ३ तला बन्दा मन्दिर पूर्ण रूपमा छेकिएको छ ।

 

५ तला बनिसकेपछि मन्दिर पूर्ण रूपमा छेकिने अवस्था छ । भवन निर्माणअघि कार्यालयले गुठी समितिसँग समन्वय नगरेको समितिका पदाधिकारी बताउँछन् ।

 

‘एक्कासि ५ तले बनाउने भन्दै ३ तलाको काम सुरु भएपछि मात्र थाहा भयो’, गुठी समितिका अध्यक्ष कृष्णबहादुर रोकायाले भने, ‘यो भवनले मन्दिर छेक्यो । मन्दिरको गरिमा र पहिचान मेट्ने प्रयास भयो । सुन्दरता हरायो, यो राम्रो भएन ।’


मन्दिर वरिपरिको घर १ तले मात्रै लगाउने परम्परागत चलन थियो । त्यसपछि त्यसलाई बढाएर २ तलासम्म लगाउन पाइने बनाइयो । अहिले व्यक्तिगत र सरकारी भवनले मन्दिरै ढाक्न थालिसकेको रोकायाले । 

 

मन्दिरमा खडा हुने ५२ हाते लिंगभन्दा अग्लो भवन निर्माण हुनुले यहाँको धार्मिक आस्था संकटमा पर्न थालेको सर्वसाधारण बताउँछन् ।

 

भवन निर्माणको काम भइरहेको छ । स्टिमेटअनुसार भवन बहुउद्देश्यीय ५ तलाको बन्नेछ । ‘५ तलाको भवन मन्दिर अगाडि हुँदा न मन्दिरको सुन्दरता रहन्छ, न त कुनै शोभा’, उनले भने, ‘यो मन्दिर ओझेल पर्ने देखिएको छ ।’ 

 

अहिले राराताल घुम्न आउने हरेक आन्तरिक तथा बाह्य पर्यटकले चन्दननाथ मन्दिरको दर्शन गरेर मात्र फर्कने गरेका छन् । 

 

पुरातत्त्व विभाग, गुठी समितिले पनि धार्मिक तथा साँस्कृतिक महत्त्वबारे बोध गर्न नसकेको स्थानीय बताउँछन् । पहिलो मन्दिर परिसरमा रहेको मार्गमा सिलौटबाहेक कालोपत्रे नगर्ने भनियो । तर, अहिले वरिपरिको पूरै क्षेत्र कालोपत्रे भइसकेको छ ।


चन्दननाथ भैरवनाथ गुठी समितिका पूर्वअध्यक्ष गौरीनन्द आचार्यले भने, ‘अहिले परम्परादेखि चलिआएको पहिचान भेटिँदैन । मन्दिर आसपासमै जिल्ला अदालत जुम्लाको भवन बनेको छ । त्यो ठाउँमा मन्दिरका भकारी राखिन्थे’ पूर्वअध्यक्ष आचार्यले थपे, ‘यहाँ प्रमाण बोलिरहेका छन् तर ती प्रमाण थन्किएका छन् ।’

 

अहिले चन्दननाथ भैरवनाथ मन्दिर आसपासका सबै भवन आधुनिक बनेका छन् । घर निर्माण गर्दा पहिले जानकारी दिने चलन छैन । एक्कासि तला बढेको मात्र थाहा हुने गरेको अध्यक्ष कृष्णबहादुर रोकाया बताउँछन् ।

 

उनले भने, ‘मन्दिरको शोभा मेटिने गरी भवन बनाउने सरकार र घर बनाउने भक्तजनका कारण धार्मिक आस्था धुमिल बनिरहेको छ । यो हाम्रो धार्मिक आस्था विपरीत कार्य हो ।’

 

भवन निर्माण हुनुपूर्व गुठी समितिसँग कुनै जानकारी नदिइएको उनले बताए । ‘भवन टेन्डर हुनुपूर्व गुठी समितिसँग बुझेको भए समस्या हुन्थेन’, उनले भने, ‘मनपरी भवन निर्माण भएकाले समस्या हुन पुग्यो ।’ 

 

चन्दननाथ गुठी समितिले मन्दिरको गुरुयोजना निर्माण गर्न नसकेका कारण धमाधम भवन निर्माण गर्ने र मन्दिरको जग्गा मास्ने कार्य भइरहेको जुम्लाबासी बताउँछन् । 

 

पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले तत्काल मन्दिरको गुरुयोजना निर्माण गर्नुपर्ने बताए । ‘चाँडोभन्दा चाँडो गुरुयोजना बनाऔँ’, उनले भने, ‘गुरुयोजनाले मात्र मन्दिरको भलाइ हुन्छ ।’

 

संस्कृतिका जानकार पूर्णसिंह कठायत भवन बनाउँदा एक पटक मन्दिरसँग समन्वय हुनुपर्ने बताउँछन् । उनले भने, ‘मन्दिर सबैको आस्थाको धरोहर हो । यो धरोहरको आफ्नै प्रकारको पहिचान छ, जुन मेटिनुहुँदैन ।’ 

 

नेपाली भाषा–संस्कृतिको उद्गम स्थल जुम्ला हो । चन्दननाथ मन्दिरलाई धार्मिक धरोहरको उपमा पनि दिइएको छ । प्राचीनकालदेखि स्थापित धरोहरलाई प्रत्यक्ष असर पर्ने गरी भवन बनाइएको छ ।

 

भूकम्प, दैवीप्रकोप भए भवनको तला भत्किएर मन्दिरको भौतिक संरचनामा क्षति हुन सक्ने स्थानीय सुनाउँछन् । ‘यो भवन ३ तलाभन्दा माथि बनाउन मिल्दैन’, गुठी समितिका अध्यक्ष रोकायाले भने, ‘सबै सरोकारवाला मिलेर भवन ३ तलामै रोकिदिन आग्रह गरेका छौँ ।’

 

धार्मिक नियम उल्लंघन गरी ५ तलाको भवन बन्न लागेकाले यसलाई अब उप्रान्त सम्पूर्ण निर्माण स्थगित गरी ३ तलामा सीमित गराउन आवश्यक पहल गर्न सरोकारवालालाई आग्रह गरिएको छ । 


जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढा मन्दिरलाई नै छेक्ने गरी निर्माण गर्न लागिएको भवन ३ तलामै सीमित राख्न पहल गर्नुपर्ने बताउँछन् । उनले भने, ‘मन्दिर हाम्रो आस्थाको पुञ्ज हो । आस्था मेटिने खाले कार्य कसैले गर्नुहुँदैन ।’

 

चन्दननाथ भैरवनाथ मन्दिरको जग्गा अतिक्रमण गर्नेदेखि लिजमा लिएको जग्गा भाडा नतिर्नेसम्मको बदमासी कायमै छ ।