close

माटोबाटै ठडिँदै छ भक्तपुरको शारदा मावि

माटोबाटै ठडिँदै छ भक्तपुरको शारदा मावि

Trulli
ADVERTISEMENT

भक्तपुर- पछिल्लो समय माटोका घर लोप भइरहेको अवस्थामा भक्तपुरको शारदा माध्यमिक विद्यालयले माटोको प्रयोग गरी भवन निर्माण गरिरहेको छ । स्थानीय स्रोत-साधनको प्रयोग गरी मौलिक शैलीको संरक्षण गर्न माटो प्रयोग गरेर भवन बनाइएको हो । 

 

२०१३ मा स्थापना भएको विद्यालय माटोको प्रयोग गरी बनेको थियो । तर, २०७२ को भूकम्पले विद्यालयको भवनमा क्षति पुगे पनि भत्किएन । भवन जोखिमपूर्ण भएकाले भत्काउन स्थानीयले विरोधसमेत गरे । 

 

सोही कारण विद्यालय भवन भत्काइएको विद्यालयले जानकारी दिएको छ । भूकम्पपछि दातृ संस्थाको सहयोगले केही कक्षा बनेका छन् । तर, कक्षाकोठा अभाव भएकाले पुरानै संरचनामा विद्यालय भवन बनाउन लागेको विद्यालयका प्रधानाध्यापक रोशनराज तुईतुईले बताए । 

 

‘माटो र इँटा प्रयोग गरेर भवन बनाउन लागेकामा स्थानीयले विरोध जनाए । हामीले उहाँहरूलाई भवन संरचनाबारे जानकारी दियौँ,’ उनले भने, ‘पर्खाल बनाएसँगै केही अभिभावक हेर्न पनि आउनुभयो । पर्खालको मोटाइ र बनाउने शैली देखेर दंग पर्नुभयो ।’ 

 

माटोको भवन बनाए पनि आजभोलि अभिभावकसँगै स्थानीयसमेत खुसी भएको उनले सुनाए । 

 

पछिल्लो समय सिमेन्ट, बालुवा र डन्डीलगायत आधुनिक प्रविधिको प्रयोग गरी भवन बनाउने सोख सबैलाई छ । माटोको घर भत्काएर र खेतबारी बेचेर घर बनाउनेको संख्या पनि उत्तिकै छ । स्थानीय स्रोत-साधनको प्रयोग गरी बलियो घर बनाउन सकिन्छ भन्ने मान्यताको अन्त्यसमेत हुँदै आएको छ ।

 

यही चेतना सबैसामु फैलाउने उद्देश्यले विद्यालयले माटोको भवन बनाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र हाडाले बताए । 
 
उनका अनुसार पछिल्लो समय भक्तपुरका केही विद्यालयको भवन निर्माणमा अन्योल भइरहेको छ । तर, शारदा माविको निर्माणसँगै अरू विद्यालयको भवन बनाउने क्रमले पनि गति लिन थालेको छ । 


यसरी बन्दै छ संरचना

 

भक्तपुर नगरपालिकाको वडा नम्बर २ स्थित यालाछेँमा रहेको शारदा माध्यमिक विद्यालयले भवन निर्माणका लागि आवश्यक माटो सिपाडोलबाट ल्याएको छ । रेसायुक्त गुणस्तरीय पहेँलो माटोको प्रयोग गरिएको छ । उक्त माटोले इँटालाई राम्रोसँग समात्ने इन्जिनियर तुलसीलाल वासुकला सुनाउँछन् । 

 

उनका अनुसार भवनलाई बलियो बनाउने २४ इन्चको चौडाइ भएको पर्खाल लगाइनेछ । पर्खालको बीचबीचमा नस अर्थात् पर्खालको बीचबीचमा तेस्रो पारी राखिएको काठको प्रयोग गरिनेछ । 

 

यसले भवनलाई थप बलियो बनाउँछ । माटोलाई पछि पनि प्रयोग गर्न सक्ने भएकाले भवनमा प्रयोग भएका सामग्रीलाई पुनर्प्रयोग गर्न सकिने उनले बताए ।

 

स्थानीय स्रोत–साधनको प्रयोग गरी बलियो भवन बनाउन सकिन्छ भनी उदाहरणस्वरूप माटो प्रयोग गरी भवन बनाइएको वासुकलाले जानकारी दिए ।