close

बुलापन्थे माविमा भूकम्प प्रतिरोधी भवन उद्घाटन 

बुलापन्थे माविमा भूकम्प प्रतिरोधी भवन उद्घाटन 

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ८ धितुङस्थित बुलापन्थे माविका २ वटा पक्की भवन निर्माण गरिएको छ ।

 

शिक्षा विकास तथा समन्वय इकाइ र जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा) को अनुदानबाट ८ कोठे २ तले छुट्टाछुट्टै भवन निर्माण गरिएको हो ।

 

२०११ मा स्थापना गरिएको विद्यालयको नवनिर्मित भवन आइतबार हलेसी तुवाचुङ नगरपालिका प्रमुख इवन राई र उपप्रमुख विमला राईले उद्घाटन गरे । शिक्षा विकास तथा समन्वय इकाइबाट आर्थिक वर्ष २०७४/७५ मा प्राप्त ३६ लाख र स्थानीयको ३० प्रतिशत श्रमदानमा बुलापन्थे माविको ४ कोठे २ तले भवन निर्माण गरिएको हो ।

 

यस्तै, जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा) बाट आर्थिक वर्ष २०७५/७६ मा प्राप्त ७० लाख ४० हजार र स्थानीयको २० प्रतिशत श्रमदानमा ४ कोठे २ तले भूकम्प प्रतिरोधी भवन निर्माण गरिएको विव्यास अध्यक्ष पेशल राईले बताए । 

 

शिक्षा विकास तथा समन्वय इकाइबाट प्राप्त भवन भने सम्झौता म्यादभन्दा ढिलो गरी निर्माण गरिएको हो । भवन निर्माणको जिम्मा लिएका ठेकेदारको ढिलासुस्तीका कारण ३ लाख ४६ हजार रुपैयाँ फ्रिज हुँदा सो रकम विद्यालयले बेहोर्नुपरेको विव्यास अध्यक्ष राईले जानकारी दिए । 

 

विद्यालयका अभिभावक एवं भूपू ब्रिटिस आर्मी मानबहादुर राई र तुलसीराज राईले बुबा रणबहादुर राई र आमा पञ्चसरी राईको स्मृतिमा ३ रोपनी १२ आना ३ दाम जग्गा निःशुल्क प्रदान गरेपछि विद्यालयको नयाँ भवन निर्माण गरिएको हो । 


विद्यालयलाई २० लाख मूल्य बराबरको जग्गा निःशुल्क उपलब्ध गराएकामा भवन उद्घाटन अवसरमा दुवै जनालाई सम्मान गरिएको छ । विद्यालयको भौतिक विकासमा योगदान पु¥याएकामा उच्च मूल्यांकन गर्दै जग्गादाताको सम्मानमा विद्यालयको भवनमा शिलापत्र राखिएको छ । 

 

शिलापत्र हलेसी तुवाचुङ नगरपालिका उपप्रमुख विमला राईले वाचन गरेर उद्घाटन गरिन् । 

 

राई २०७३ मा विव्यास अध्यक्षमा निर्वाचित भएपछि विद्यालयको आरसिसी भवन निर्माणले गति लिएको हो । त्यसअगाडि विद्यालयको आरसिसी भवन बनेको थिएन । 

 

९ जना छात्रछात्रालाई छात्रवृत्ति

 

बुलापन्थे माविमा स्थापना गरिएको डा. रणशेर राई स्मृति अक्षय कोषबाट विद्यार्थीलाई छात्रवृत्ति रकम प्रदान गरिएको छ । रणशेरको स्मृतिमा छोरा महेन्द्र राईले २०७५ मा स्थापना गरेको २ लाख ११ हजार रुपैयाँ राशिको स्मृति कोषबाट जेहेनदार, गरिब तथा दलित समुदायका गरी ९ विद्यार्थीलाई छात्रवृत्ति रकम प्रदान गरिएको हो । 

 

विद्यार्थीलाई जनही १ हजार रुपैयाँका दरले छात्रवृत्ति रकम प्रदान गरिएको विद्यालयले जनाएको छ । भवन उद्घाटन कार्यक्रममा वडाध्यक्ष पृथीराज राई, राजनीतिक दलका प्रतिनिधि, अभिभावक, विद्यार्थीलगायतको उपस्थिति थियो ।