close

३ महिनाभित्र ताप्लेजुङ पूर्ण साक्षर 

३ महिनाभित्र ताप्लेजुङ पूर्ण साक्षर 

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङका स्थानीय तहले आउँदो २० असारभित्रै ताप्लेजुङलाई पूर्ण साक्षर जिल्ला घोषणा गर्न आ–आफ्ना पालिकालाई निरक्षरमुक्त बनाउने प्रतिबद्धता जनाएका छन् । 

 

शिक्षा तथा मानव स्रोत विकास केन्द्र, भक्तपुरले सोमबार ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा स्थानीय तहका प्रमुख पदाधिकारीसँग गरेको अनुशिक्षणमा स्थानीय तहका प्रमुखहरूले २० असारअगावै आ-आफ्ना स्थानीय तहलाई साक्षर पालिका घोषणा गर्ने र २० असारभित्रै ताप्लेजुङलाई साक्षर जिल्ला घोषणा गर्ने प्रतिबद्धता जनाएका हुन् ।

 

मानव स्रोत विकास केन्द्रले यहाँका पालिकाका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र शिक्षा अधिकृतसँग छलफल गरेको थियो । केन्द्रका निर्देशक गीता घिमिरेका अनुसार पालिकाहरूले जेठ मसान्तदेखि असार पहिलो साताभित्रै आ-आफ्ना पालिकालाइ पूर्ण साक्षर पालिका घोषणा गर्नेछन् ।

 

यहाँका सबै पालिका साक्षर पालिका घोषणा भएपछि २० असारभित्रै ताप्लेजुङलाइ पूर्ण साक्षर जिल्ला घोषणा गरिने प्रतिबद्धतापत्रमा स्थानीय तहका पदाधिकारीले हस्ताक्षर गरेका छन् ।

 

९ स्थानीय तह रहेको ताप्लेजुङका मेरिङ्देन, फक्ताङ्लुङ र सिदिङ्वा गाउँपालिकाका कोही पदाधिकारी उपस्थित थिएनन् । ती पालिकालाई प्रतिबद्धताअनुसार अभियानमा सरिक गराई पूर्ण साक्षर पालिका घोषणा गराउने अभियानमा अग्रसर गराउन पहल लिने जिम्मेवारी जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनलाई दिइएको छ ।

 

मादेनले यो महत्त्वपूर्ण कार्यमा सबै स्थानीय तहको उत्तिकै भूमिका भएकाले अनुशिक्षण कार्यक्रममा सहभागी नभएका स्थानीय तहलाई पनि अभियानमा सहभागी गराउन अग्रसरता लिने बताए । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका शिक्षा अधिकृत विमला मिश्रका अनुसार प्रदेश १ का १४ मध्ये ताप्लेजुङ र सोलुखुम्बु गरी २ जिल्लामा पूर्ण साक्षर जिल्ला घोषणा हुन बाँकी छ ।

 

केन्द्रले अघि सारेको साक्षर नेपाल वर्ष २०७६ को अवधारणापत्रअनुसार स्थानीय तहले आफ्नो पालिका भित्र बसोबास गर्ने १५ वर्ष र सोभन्दा माथिको उमेर समूहका ९५ प्रतिशत जनसंख्या साक्षर भएको अवस्थामा स्थानीय तहको अभियान समन्वय समितिको सिफारिसमा बाँकी निरक्षरलाई आगामी १ वर्षभित्र साक्षर गराउने प्रतिबद्धता गरी साक्षर भएको संस्थागत निर्णय गरी विशेष कार्यक्रम आयोजना गरेर पूर्ण साक्षर पालिका भएको घोषणा गर्न सकिनेछ ।

 

यस्तै, कुनै स्थानीय तह वा जिल्लामा बसोबास गर्ने १५ वर्ष र सोभन्दा माथिको उमेर समूहका ९५ प्रतिशत जनसंख्या साक्षर भएको अवस्थामा सो तहले साक्षर भएको घोषणा नगरे पनि अभिलेख सत्यापनका आधारमा प्रदेश वा केन्द्रबाट सो क्षेत्रलाई साक्षर भएको मान्यता दिन सकिनेछ ।

 

विगतमा साक्षर घोषणा भएका र हालसम्म साक्षर घोषणा गर्ने प्रतिबद्धता गरेका जिल्लाका हकमा १५-६० वर्ष उमेर समूहलाई कायम गरिएको आधारलाई यथावत् राखी साक्षर घोषणा गरिने र स्थानीय तहबाट ६० वर्षभन्दा माथिका निरक्षर प्रौढलाई साक्षरताको अवसर र नवसाक्षरलाई निरन्तर सिकाइको अवसर प्रदान गर्नुपर्ने दायित्व स्थानीय तहको हुनेछ ।

 

अवधारणापत्रअनुसार राष्ट्रभाषा र मातृभाषाका वर्ण-अक्षरको पढाइ र लेखाइ, नेपाली वा मातृभाषामा लेखिएका मूल्यसूची र बिलको पढाइ, आफ्नो र परिवारका सदस्यको नाम, उमेर लेखाइ एवं पढाइ, मोबाइल र क्यालकुलेटरका अंक र अक्षर चिनेर प्रयोग गर्न सक्नेलाई साक्षर भएको प्रमाणपत्र दिइनेछ ।

 

यस्तै, ० देखि ९ सम्मका अंक अक्षर लेखाई, १ देखि १ सयसम्मको गणना, लेनदेन, हरहिसाब रखाइ, सरल चित्र, पोस्टर, साइन बोर्ड र ट्राफिक संकेत पढाइ, लेखाइ र बुझाइ, सामुदायिक कार्यक्रममा आफ्नो विचारसहित सक्रिय सहभागिता देखाउन, घडी हेरेर समय बताउने, भित्ते पात्रो हेरी तिथिमिति बताउन र बैंक भौंचार भराइ र चेक खिचाइका कार्यमा ५० प्रतिशत सक्षमता हासिल गर्न सक्ने व्यक्तिलाई साक्षरता प्रमाणपत्र दिन सकिनेछ ।

 

ताप्लेजुङका ९ मध्ये २ स्थानीय तहले यसअघि नै पूर्ण साक्षर पालिका घोषणा गरिसकेको जनाएका छन् । फुङ्लिङ नगरपालिका र आठराइ त्रिवेणी गाउँपालिकाले २०७५ भदौमै पूर्ण साक्षर पालिका घोषणा गरेको जनाएका हुन् । 

 

फुङ्लिङ नगर उपप्रमुख बमबहादुर भट्टराई र आठराई त्रिवेणी गाउँपालिका अध्यक्ष विश्वनाथ सिटौलाले आफूहरूका पालिका पूर्ण साक्षर घोषणा भइसकेको जानकारी दिए ।

 

सिरिजंघा गाउँपालिका अध्यक्ष टीकाराम गुरुङ र मिक्वाखोला गाउँपालिका अध्यक्ष रामकुमार साँवाले पालिका स्तरमा रहेका लक्षित उमेर समूहका निरक्षरको सूची तयार हुँदै गरेकाले केही समयपछि पूर्ण साक्षर पालिका घोषणा गर्न सकिने बताए । 

 

पाथीभरा याङ्बरक गाउँपालिका उपाध्यक्ष रनमाया गुरुङ र मैवाखोला गाउँपालिकाका शिक्षा अधिकृत लक्ष्मीमाया गोम्देनले पालिका स्तरको अभियान चलिरहेकाले असार पहिलो साताभित्रै पूर्ण साक्षर घोषणा गर्न सकिने आधार रहेको जानकारी दिए ।