close

संसद् छल्न मुख्यमन्त्रीको काठमाडौं सफर 

संसद् छल्न मुख्यमन्त्रीको काठमाडौं सफर 

Trulli
ADVERTISEMENT

मोरङ– प्रदेश १ को संसद् बैठक तेस्रो पटक पनि अवरुद्ध भएको छ । विपक्षी दलले मुख्यमन्त्रीले संसद्लाई छलेको आरोप लगाउँदै बैठक अवरुद्ध गरेका हुन् । उनीहरूले संसद्प्रति मुख्यमन्त्री उत्तरदायी नभएको अरोप लगाउँदै आएका छन् । 

 

प्रतिपक्षीहरूले सरकारले घोषणा गरेका योजना सुरु गरी खर्चको सुनिश्चितता माग गर्दै संसद् अवरुद्ध पार्दै आएका छन् ।

 

सोमबार बसेको प्रदेश संसद्को सातौँ हिउँदे अधिवेशनको बैठकमा उपसभामुख सरस्वती पोख्रेलले बैठक सञ्चालन गरेलगत्तै विपक्षीहरूले रोष्ट्रम अगाडि उभिएर बैठक अवरुद्ध गरेका थिए ।

 

लगातार अवरुद्ध गरेपछि उपसभामुख पोख्रेलले विपक्षी दलका तर्फबाट जनता समाजवादी पार्टी संसदीय दलका नेता जयराम यादवलाई समय उपलब्ध गराएकी थिइन् । उनले रोष्ट्रमबाटै मुख्यमन्त्रीले सहज परिस्थितमा पनि संसद्को मर्यादा नराखेको भन्दै सरकारको आलोचना गरे । 

 

सत्तापक्षले भने तत्कालीन नेकपा रहँदा अर्थमन्त्री बनेका माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बोले तयार गरेको चालू आर्थिक वर्षको बजेटबारे जिम्मेवारी लिनुपर्ने बताउँदै आएको छ । आङ्बोलाई मुख्यमन्त्रीले बर्खास्त गरेपछि उनको नेतृत्वमा मुख्यमन्त्रीविरुद्ध १२ पुसमा अविश्वासको प्रस्ताव ल्याइएको थियो ।

 

हाल सो पार्टीले आविश्वासको प्रस्तावसमेत फिर्ता लिइसकेको छ । निवर्तमान अर्थमन्त्रीले संसद् चल्ने वातावरण बनाउनुपर्ने एमाले प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले बताए । 

 

संसद्मा सुविधाजनक बहुमत पाएका मुख्यमन्त्रीले पटक–पटक संसद् अवरुद्ध हुँदासमेत चासो देखाएका छैनन् । 

 

मुख्यमन्त्री शेरधन राई उपस्थित नहुँदा गत २६ र २७ चैतको बैठक पनि अवरुद्ध भएको थियो । पटक–पटक संसद् अवरुद्ध बनेपछि संसद् खुलाउन आइतबार सभामुख प्रदीपकुमार भण्डारी र सोमबार मुख्यमन्त्री स्वयंले थालेको पहल औचित्यहीन भएको छ ।

 

आउँदो ५ वैशाखका लागि संसदको बैठक डाकिएको छ । त्यो पनि अहिलेकै अवस्था आए अवरुद्ध हुने स्थिति छ । संसद् चलिरहेकै बेला मुख्यमन्त्री राई भने काम विशेषले भन्दै काठमाडौं लागेका छन् । उनी ६ वैशाखपछि मात्रै काठमाडौंबाट फर्किने बुझिाएको छ ।