close

चुनावी नारा घरघरमै भत्ता, बाँड्ने बेलामा बैंकको सत्ता

चुनावी नारा घरघरमै भत्ता, बाँड्ने बेलामा बैंकको सत्ता

Trulli
ADVERTISEMENT

गुल्मी- २०७४ सालका तीन वटै चुनावी नारा थियो-घरघरमै भत्ता । चुनाव जितेको ३ वर्ष स्थानीय तहले घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण पनि गरे । 


घर वा आफ्नै टोलबाट भत्ता बुझ्दा जेष्ठ नागरिकलाई सजिलो भएको थियो । तर, पैसा बोकेर गाउँ-गाउँमा पुग्दा जोखिम र अनियमतिता हुने भन्दै इस्मा गाउँपालिकाले पनि बैंक मार्फत सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । 

 

नजिकै बैंकको पहुँच नभएकाले जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई भने सास्ती भएको छ । बैंकबाट सामाजिक सुरक्षा भत्ता तम्घास आएकी इस्मा गाउँपालिका-१ की जानुका महतले आउ-जाउले सास्ती थपेको प्रतिक्रिया दिइन् । 


सरकारले प्रदान गर्ने सुविधाले घर खर्चमा सहजीकरण गरेपनि अहिले बैकका कारण बजार धाउनुपर्ने बाध्यताले भाडा खर्च र खानपानमै आधा रकम सकिने उनले गुनासो गरिन् । वितरणलाई अझै व्यवस्थित बनाएर घरघरमै पाउनुपर्ने माग उनीजस्ता थुप्रै लाभग्राहीको छ । 

 

गाउँपालिकाले वडा नम्बर १, २ र ६ का नागरिकलाई सदरमुकाम तम्घासस्थित साइन रेसुङ्गा विकास बैंक र वडा नम्बर ३, ४ र ५ का नागरिकलाई इस्मा मैदानमा रहेको बैंक अफ काठमाडौबाट सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु घर्तीले जानकारी दिए । 


उनले विभिन्न चरणमा अनुगमन र कार्यपालिकामा छलफल गरेपछि अनियमितता रोक्न बैंक मार्फत सामाजिक सुरक्षा भत्ता वितरणको थालिएको बताए । 


गाउँपालिकामा विभिन्न शीर्षकमा सामाजिक सुरक्षा भत्ताका कुल लाभग्राही तीन हजार ५३ जना छन् । जसमध्ये ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको संख्या एक हजार तीन सय ५७ छ । 


उनीहरुले मासिक तीन हजारका दरले एक चौमासिकमा १२ हजार रुपैयाँ प्राप्त गर्छन् । दलित ज्येष्ठ नागरिक तीन सय २९ छन् । उनीहरुले मासिक २ हजार प्राप्त गर्ने गाउँपालिकाको सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखा प्रमुख बलाराम खनालले जानकारी दिए । 


त्यस्तै ज्येष्ठ नागरिक एकल महिला तीन सय ३१ जना छन् । उनीहरुले मासिक २ हजार, ४ सय ११ जना एकल महिलाले मासिक २ हजार, पूर्ण अपाङ्गता भएका ५९ जनाले मासिक तीन हजार, ख वर्गका एक सय ३१ जना अपाङ्गता भएकाले मासिक १ हजार ६ सय तथा ४ सय ३५ जना दलित बालबालिकाले मासिक ४ सय रुपैयाँ प्राप्त गर्ने शाखा प्रमुख खनालले बताए । एक चौमासिकमा कुल २ करोड ६१ लाख ८३ हजार ९ सय ६० रुपैयाँ खर्च हुने गाउँपालिकाले जनाएको छ ।


साइन रेसुङ्गा विकास बैंक तम्घास उदिनढुङ्गा शाखाका प्रमुख सरोज पोखरेलले सम्बन्धित लाभग्राही वा उसले हकवाला तोकेको व्यक्ति बाहेक अरुले भत्ता लैजान नमिल्ने भएकाले अधिकांश लाभग्राहीको हातमा भत्ता पुग्ने बताए । 


पट्टा लगेर घर परिवार र छिमेकीले रकम बुझ्ने तर सम्बन्धित व्यक्तिको हातसम्म रकम नपर्ने समस्या थियो । सोही अवस्थाको अन्त्य गर्न बैंक मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गरिएको पोख्रेलले जानकारी दिए । इस्मा गाउँपालिका उपप्रमुख तथा सामाजिक सुरक्षा भत्ता वितरण अनुगमन समिति संयोजक बिमला खत्रीले अहिले असहज भएको गुनासो आएपनि जोखिम र अनियमितता रोक्न बैक मार्फत वितरण थालिएको बताइन् । 


उनले चुनावी नारा भएकाले केही समय घरघरमै पुगेर वितरण गरिएको स्मरण गर्दै बैंकलाई पनि गाउँमै गएर वितरण गर्न आग्रह गरिएको बताइन् ।