close

बिस्का जात्रामा दुइटा ल्योसिंद्यो उठाइँदै

बिस्का जात्रामा दुइटा ल्योसिंद्यो उठाइँदै

Trulli
ADVERTISEMENT

भक्तपुर- बिस्का जात्राको मुख्य दिन मंगलबार भक्तपुरमा २ वटा ल्योसिंद्यो उठाइनेछ । भक्तपुरको पोटरी स्क्वायरमा हात नभएको र ल्योसिंखेलमा हात भएको योसिंद्यो उठाइने परम्परा छ । पोटरी स्क्वायरमा हात नभएको योसिंद्योे बिहान उठाइएको छ भने भेलुखेलमा हात भएको योसिंद्यो बेलुका उठाइनेछ ।

 

स्थानीयका अनुसार हात नभएको लिंगो चैत अन्तिम दिन बिहान र हात भएको बेलुकी उठाउने परम्परा छ । हात नभएको योसिंद्यो अन्तिम दिन उठाएर ४ वैशाखमा ढाल्ने गरिन्छ । तर, हात भएको योसिंद्यो भने चैत अन्तिम दिन उठाएर १ वैशाख अर्थात् नयाँ वर्षको बेलुकी ढाल्ने परम्परा छ । 

 

हात नभएको लिंगो बलको प्रयोगले नभई दिमाग लगाएर उठाइन्छ । यो लिंगो टोलका स्थानीयले मिलेर च्वाला (कैँची) को सहयोगबाट उठाउने गरिन्छ ।

 

संस्कृतविद् औम धौभडेलका अनुसार हात नभएको लिंगोलाई शक्ति नभएको र हात भएकालाई इज्जत नभएको लिंगो भनिन्छ । उनले लिच्छविकालमा सर्पलाई ‘बी’ भनिने र ‘स्यात’ ले मार्‍यो भन्ने अर्थ लाग्ने भएकाले ‘बिस्यात’ नै अपभ्रंश भई बिस्केट हुन गएको बताए ।

 

हात नभएको योसिंद्योको हात नहुनुको कारण योसिंद्योले मासु चोरेर खाएको र उसको त्यही बेला हात काटिदिएको भन्ने किंवदन्ती छ । साथै, हात भएको लिंगोको नाक नभएको उनले सुनाए ।

 

हात भएको लिंगोलाई १ रातका लागि १ जना पुरुष चाहिने भएकाले इज्जत नभएको योसिंद्यो (लिंगो) अर्थात् नाक नभएको योसिंद्यो (लिंगो) भनिने किंवदन्ती उनले बताए । 

 

लिंगोमा राखिएका २ ध्वजा पनि सर्पका प्रतीक हुन् । संस्कृतविद्का अनुसार बिस्केट जात्रा हेर्नाले शत्रु नाश हुने धार्मिक मान्यता छ ।

 

लिंगो उठाउनुअघि नै गहिटीमा राखिएको भैरवनाथ र भद्रकालीको रथलाई पनि योसिंखेलमा पुर्‍याइन्छ । हरेक वर्षको अन्तिम दिन भेलुखेलमा ५५ हात अग्लो योसिंद्यो उठाइने उनले बताए ।

 

पुरानो वर्षको बिदाइ र नयाँ वर्षको स्वागत गर्न योसिंद्यो ढाल्ने र उठाउने परम्परा छ ।


हात भएको योसिंद्यो सरकारी सहयोगमै व्यवस्थापन भए पनि हात नभएको लिंगो स्थानीयको विशेष पहलमा उठाइन्छ । टोलबासीले नै उठाउनेदेखि लिएर व्यवस्थापनको काम पनि गर्दै आएका छन् । 

 

नेपाल संवत् २६८ तिर भक्तपुर सहर स्थापना हुनुअघि नै यो जात्राको परम्परा सुरु भइसकेको उल्लेख छ । लिच्छविकाल अगाडिको यो जात्रा नाग-नागिनी मारिएको खुसीयालीमा मनाउन थालिएको र यो जात्रालाई मल्ल राजा जगतज्योति मल्लले विशेष रूपमा मनाउने व्यवस्था गरेको इतिहासमा उल्लेख छ ।

 

त्यसपछि नेपाल संवत् ८२७ मा राजा भूपतिन्द्र मल्लले यो जात्रा अझ व्यवस्थित गरी ८ रात एवं ९ दिन मनाउने प्रचलन बसाएको र त्यही प्रचलन आजसम्म चल्दै आएको किंवदन्ती छ ।

 

सुरुमा बिस्का जात्रा योसिंद्यो उठाउने र ढाल्ने दिनमा मात्र मनाइन्थ्यो । पछि मल्लकालमा यो जात्रा भैरव र भद्रकालीको रथयात्रा गरी प्रत्येक टोल–टोलमा देवीदेवताको पूजा गर्दै मनाउने चलन चलेको हो ।