close

कोरोनाविरुद्धको खोप : सरकारले गर्‍याे उमेर समूह निर्धारण

कोरोनाविरुद्धको खोप : सरकारले गर्‍याे उमेर समूह निर्धारण

Trulli
ADVERTISEMENT

काठमाडौं- सरकारले आगामी ५ वैशाखसम्म कोरोनाविरुद्धको खोप सञ्चालनलाई निरन्तरता दिन निर्देश गर्दै उमेर समूह निर्धारण गरेको छ । अब ४० देखि ५९ बर्ष उमेर समूहका नागरिक खोप लगाउने लक्षित समूहमा पर्ने भएका छन् । 

 

स्वास्थ्य मन्त्रालयको परिवार कल्याण महाशाखाले काठमाडौं, भक्तपुर, ललितपुरसहित सिन्धुपाल्चोक, काभ्रे, रसुवा र नुवाकोटका स्वास्थ्य कार्यालयलाई पत्र लेख्दै कोभिड खोप सञ्चालनको आधार र मापदण्ड दिएको हो ।

 

परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोखरेलका अनुसार अहिलेको कोभिड-१९ खोप अभियानलाई ४० देखि ५९ वर्ष उमेर समूहमा लक्षित गरी निरन्तरता दिइनेछ ।

 

सरकारले सार्वजनिक यातायातका चालक र सहचालकलाई समेत कोरोनाविरुद्धको खोप लगाउन उल्लिखित जिल्लाका स्वास्थ्य कार्यालयलाई परिपत्र गरेको छ । 

 

अहिलेसम्म खोप लगाउन योग्य ठानिएका लक्षित वर्गलाई खोप लगाउने कार्यमा निरन्तरता दिनसमेत उसले भनेको छ । पहिलो चरणमा महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी र सफाइकर्मी, दोस्रो चरणमा जनप्रतिनिधि, सुरक्षाकर्मी, सञ्चारकर्मी, शिक्षक र सार्वजनिक यातायातमा संलग्न चालक र सहचालक लक्षित वर्गमा थिए । 

 

तेस्रो चरणमा ५५ र सोभन्दा माथि उमेर समूहका नागरिक लक्षित वर्गमा थिए । अब भने सरकारले अघिल्ला चरणमा लक्षित समूहमा परेर खोप लगाउन छुटेका र ४० देखि ५९ बर्ष उमेर समूहका नागरिकलाई खोप लगाउने तयारी छ । 


ताप्लेजुङमा खोप लगाउने १४ हजार मात्रै 

 

ताप्लेजुङमा करिब १४ हजार जनाले मात्र कोरोनाविरुद्धको खोप लगाएका छन् । जनस्वास्थ्य अधिकृत प्रतिमा खरेलका अनुसार खोप लगाउन ३ चरणमा प्राथमिकता प्राप्त नागरिकमध्ये कुल १४ हजार १ सय ७१ जनाले कोरोनाविरुद्धको खोप लगाएका हुन् ।

 

३ चरणमा गरी १९ हजार ४५ जनाले खोप लगाउने अनुमान गरिएको थियो । स्वास्थ्य कार्यालयले लक्ष्य लिएभन्दा २५ प्रतिशत कमले मात्र कोरोना खोप लगाएको तथ्यले देखाएको छ ।

 

यो हिसाबले लक्ष्यको तुलनामा ७४.४१ प्रतिशत मात्र प्रगति हासिल भएको जनस्वास्थ्य अधिकृत खरेलले जानकारी दिइन् । ५५ वर्ष र सोभन्दा माथिका १६ हजार ९० जनाले खोप लगाउने ठानिएकामा १२ हजार ६ सय ३६ जनाले मात्र खोप लगाएका छन्, यो लक्ष्यको अनुपातमा ७८.५३ प्रतिशत मात्र प्रगति हो ।

 

५५ वर्ष र सोभन्दा माथिका नागरिकमध्ये ६ हजार ६ सय ३० जना पुरुष र ६ हजार ६ जना महिलाले कोरोना खोप लगाएका छन् । पहिलो चरणमा १ हजार ४ सय ५ जनाले खोप लगाउने ठानिएकामा ३ सय २१ पुरुष र ५ सय ४५ महिला गरी ८ सय ६६ जनाले मात्र खोप लगाएका थिए । 

 

यो लक्ष्यको तुलनामा ६४.६४ प्रतिशत मात्र प्रगति थियो । यस्तै, दोस्रो चरणमा १ हजार ५ सय ५० जनालाई खोप लगाउने लक्ष्य राखिएकामा ५ सय ११ पुरुष र १ सय ५८ महिला गरी ६ सय ६९ जनाले मात्र कोरोनाविरुद्धको खोप लगाएका थिए ।

 

यो लक्ष्यको तुलनामा आधाभन्दा कम अर्थात् ४३.१६ प्रतिशत मात्र रहेको थियो । खोपको तेस्रो चरणमा ५५ वर्ष र सोभन्दा माथिका मात्र १६ हजार बढीले खोप लगाउने अनुमान गरिएकामा १३ हजार कमले मात्र कोरोना विरुद्धको खोप लगाएका छन् । 

 

तेस्रो चरणमा कुन स्थानीय तहमा कतिले लगाए खोप 

 

ताप्लेजुङका ९ स्थानीय तहमध्ये तेस्रो चरणको खोप अभियानमा सबैभन्दा बढी सफलता सिदिङ्वा गाउँपालिकामा देखिएको छ । सिदिङ्वामा लक्ष्यभन्दा बढीले खोप लगाएका छन् ।


त्यहाँ १ हजार ५ सय ८८ जनाले खोप लगाएका छन् । यो लक्ष्यभन्दा करिब ५ प्रतिशत बढी हो । यो हिसाबले त्यहाँ लक्ष्य सय प्रतिशत राखिएकामा प्रगति करिव १ सय ५ प्रतिशत रहेको पाइएको छ । 

 

सबैभन्दा कम प्रगति मैवाखोलामा पाइएको छ । त्यहाँ लक्ष्यको तुलनामा ६१.२४ प्रतिशत अर्थात् १ हजार ३ सय ८८ जनाले खोप लगाएका छन् । पाथीभरा याङ्वरक गाउँपालिकामा पनि खोप लगाउने लक्ष्य करिब ६४ प्रतिशतमै सीमित भएको जनस्वास्थ्य अधिकृत खरेलले जानकारी दिइन् ।

 

पाथीभरा याङ्बरकमा १ हजार ७ सय ५ जनाले खोप लगाएका छन् । मेरिङ्देन गाउँपालिकामा करिब ६७ प्रतिशतले मात्र खोप लगाएका छन् भने फुङ्लिङ नगरपालिकामा ७६ प्रतिशतले मात्र खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

 

सिरिजंघामा ८१ प्रतिशत, आठराई त्रिवेणीमा ८३ प्रतिशत, मिक्वाखोलामा ८५ प्रतिशत र फक्ताङ्लुङमा ९१ प्रतिशत हाराहारीले तेस्रो चरणको कोरोनाविरुद्धको खोप लगाएका छन् ।