close

वातावरण संरक्षण ऐन कार्यान्वयमा जुट्यो फुङ्लिङ

वातावरण संरक्षण ऐन कार्यान्वयमा जुट्यो फुङ्लिङ

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले वातावरण तथा प्राकृतिक स्रोत संरक्षणविपरीत कार्य गर्नेलाई कसुर, जरिमाना तथा क्षतिपूर्ति ठहर्ने गरी ऐन ल्याएको छ ।

 

वातावरण तथा प्राकृतिक स्रोत संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन कार्यान्वयनमा ल्याएसँगै अब नगर क्षेत्रभित्र वातावरण तथा प्राकृतिक स्रोत संरक्षणविपरीत कार्य गरे कसुर, जरिमाना तथा क्षतिपूर्ति तिराउने/भराउने कार्य नगरपालिकाले गर्नेछ ।

 

ऐनअनुसार अब नगरपालिकाले तोकेको स्थान र समयबाहेक अन्यत्र फोहोरमैला निष्कासन गरे कसुर गर्ने व्यक्तिलाई पहिलो पटक ५ हजार रुपैयाँसम्म, दोस्रो पटक सोही कसुर गरे ५ हजारदेखि १० हजारसम्म र तेस्रो पटक वा सोभन्दा बढी समय गरे प्रत्येक पटकका लागि १५ हजार रुपैयाँ र फोहोरमैला व्यवस्थापन गर्दा लाग्ने खर्चसमेत कसुरदारबाटै असुलिनेछ ।

 

कन्टेनर वा फोहोरमैला संकलन केन्द्रमा राखिएको फोहोरमैला अनधिकृत तवरले प्रयोग गरे ५ सयदेखि ५ हजार रुपैयाँसम्म जरिमाना हुनेछ । फोहोरमैला संकलन केन्द्रमा राखिएको कन्टेनर तोडफोड गर्ने, क्षति पुर्‍याउने, राखिएको स्थानबाट हटाउने वा संकलन केन्द्रमा कुनै नोक्सानी पुर्‍याए १५ हजारदेखि ५० हजार रुपैयाँसम्म जरिमाना गरी कन्टेनर वा संकलन केन्द्र व्यवस्थापन गर्न लाग्ने खर्चसमेत कसुरदारबाटै असुलउपर गर्ने गरी ऐन ल्याएको छ ।

 

अनुमति नलिई फोहोरमैला व्यवस्थापनको कार्य गरे १५ हजारदेखि ५० हजार रुपैयाँसम्म जरिमाना गरी अनुमति नलिएसम्म यस्तो कार्य गर्न रोक लगाइनेछ । फोहोरमैला व्यवस्थापनका लागि प्रदान गरिएको अनुमतिपत्रमा उल्लिखित सर्त उल्लंघन गरे ५ हजार देखि १५ हजार रुपैयाँसम्म जरिमाना गर्न सकिनेछ ।

 

फोहोरमैला संकलन केन्द्र, कन्टेनर वा फोहोरमैला थुपार्ने ठाउँमा कुनै पनि किसिमका हानिकारक पदार्थ फाल्ने, राख्ने वा थुपार्ने कार्य गरे ५ हजारदेखि १५ हजार रुपैयाँसम्म जरिमाना हुनेछ ।

 

यस्तै, घर, कम्पाउन्ड तथा परिसरको फोहोरमैला सडक वा अन्य सार्वजनिक स्थलमा राख्ने, फाल्ने वा थुपार्ने कार्य गरे ३० हजारदेखि ५० हजार रुपैयाँसम्म जरिमाना गर्ने गरी ऐन बनेको छ ।


फोहोरबाट निस्केको दूषित पानी, ढल वा शौचालयबाट फोहोर चुहाई अन्य व्यक्तिको घरजग्गा वा सार्वजनिक स्थल प्रदूषित गराउनेलाई ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिमाना गराइनेछ । कसुरदारले सो कसुर पुनः दोहोर्‍याए पहिलो पटकको जरिमानाको दोब्बर असुलिनेछ ।


सडक वा अन्य सार्वजनिक स्थलमा सरसफाइ तथा फोहोरमैला संकलन गर्न तोकिएको समय वा सफाइ गर्दाको समय त्यस्तो ठाउँमा कुनै पनि किसिमको सवारी साधन बिसाउने वा अवरोध गर्ने वा हटाउन इन्कार गरे प्रचलित संघीय कानुनअनुसार कारबाही गरिनेछ । 


जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने गरी सडक वा अन्य सार्वजनिक स्थानमा कुनै पनि किसिमका हानिकारक फोहोरमैला राख्ने, फाल्ने, थुपार्ने, निष्कासन गर्ने वा पशुपक्षीपालन गर्ने÷गराए प्रत्येक पटक ५ सय रुपैयाँका दरले जरिमाना असुल गरिनेछ ।