close

तिलोत्तमाले तोक्यो गहुँको न्यूनतम समर्थन मूल्य

गत वर्षभन्दा ५० रुपैयाँ बढ्यो 

तिलोत्तमाले तोक्यो गहुँको न्यूनतम समर्थन मूल्य

गत वर्षभन्दा ५० रुपैयाँ बढ्यो 

Trulli
ADVERTISEMENT

रूपन्देही- रूपन्देहीको तिलोत्तमा नगरपालिकाले गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ ।

 

नगरस्तरीय कृषि व्यवसाय प्रवद्र्धन समितिको बैठकले गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार १ सय ५० रुपैयाँ तोकेको हो ।

 

तिलोत्तमाले गत वर्षबाट गहुँको समर्थन मूल्य तोक्न थालेको थियो । गत वर्ष तिलोत्तमाले गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३००० तोकेकामा यस वर्ष १५० रुपैयाँ बढाएको हो । 

 

किसानले लागतअनुसारको लाभ प्राप्त गर्न नसकेको गुनासो किसानबाट आइरहँदा नगरपालिकाले गहुँको समर्थन मूल्य तोकेको कृषि शाखा प्रमुख दोमलाल भुसालले बताए । तोकिएको मूल्यमा कुनै किसानको गहुँ बिक्री नभए त्यसको बजारीकरण गर्ने जिम्मा नगरपालिकाले लिने जनाइएको छ । 

 

नगरप्रमुख एवं समितिका संयोजक वासुदेव घिमिरेले समर्थन मूल्य तोकिएपछि बिचौलियाको मनोमानी हट्ने विश्वास व्यक्त गरे ।
 

तिलोत्तमाले चालू आर्थिक वर्षमा १३२ मेट्रिक टन गहुँको बिउ किसानलाई ४० प्रतिशत अनुदानमा उपलब्ध गराएको थियो । जनप्रतिनिधि आएदेखि तिलोत्तमाका किसानले अनुदानमा गहुँको बिउ प्राप्त गर्दै आएका छन् ।

 

अनुदानमा उन्नत बिउको उपलब्धतासँगै किसानले बाँझो राख्ने खेतमा समेत पछिल्ला वर्षमा गहुँ खेती गर्ने क्रम बढेको कृषि शाखाले जनाएको छ । 


यो वर्ष नगरपालिकाको २०७१ हेक्टर क्षेत्रफलमा गहुँ खेती गरिएकामा झन्डै ८ हजार मेट्रिक टन उत्पादन हुने अपेक्षा गरिएको छ । यतिबेला नगरपालिकाको उत्तरी क्षेत्रका किसानले लगभग गहुँ खेती भित्र्याइसकेका छन् भने दक्षिणी क्षेत्रका अधिकांश किसान भित्र्याउने क्रममा छन् । 

 

नगरपालिकाले वडा नम्बर १७ लाई गहुँको पकेट क्षेत्र तोकेको छ भने वडा नम्बर ११, १२, १३, १४, १५, १६, ६, ७, ८, ९, १० मा समेत ठूलो क्षेत्रफलमा गहुँ खेती गरिएको छ ।