close

साप्सु खोला पुल ढलानको तयारी अन्तिम चरणमा

साप्सु खोला पुल ढलानको तयारी अन्तिम चरणमा

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका जोड्ने साप्सु खोलाको मोटरेबल पुल ढलानको तयारी अन्तिम चरणमा पुगेको छ । 

 

करिब डेढ महिना म्याद बाँकी रहँदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर ४ खाल्ले र दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नम्बर १ याम्खा जोड्ने साप्सु खोलाको प्रिस्ट्रेस बिम मोटरेबल पुल ढलानको तयारी अन्तिम चरणमा पुगेको हो । 

 

४० मिटर लम्बाइको पुलको दुवैतर्फको पिलर ठडिएपछि ढलानको तयारी अन्तिम चरणमा पुगेको निर्माण कम्पनी सूर्य एन्ड सन्स प्रालिका प्रोजेक्ट इन्चार्ज हरिप्रसाद बरालले बताए । हाल पुलको रड बाँध्ने, फर्मा मिलाउने, टेको मिलाउने, कस्नेलगायत काम भइरहेको छ । 


वैशाख पहिलो साता पुल ढलान गर्ने गरी काम भइरहेको बरालले बताए । ढलान गरेको पुल सुक्न करिब महिना दिन लाग्ने बताइएको छ ।

 

ढलानका लागि आवश्यक गिटी र बालुवा तयारी अवस्थामा राखिएको छ । निर्माण कम्पनीले ढलानका क्रममा लाग्ने करिब २ हजार ५ सय बोरा सिमेन्ट ढुवानी गरिरहेको जनाएको छ । 

 

सूर्य एन्ड सन्स प्रालिले १७ जेठ २०७८ मा प्रिस्ट्रेस बिम पुल निर्माण सम्पन्न गर्ने गरी १७ जेठ २०७६ मा सम्झौता गरेको थियो । ५ करोड ६० लाख १० हजार ५४५ रुपैयाँमा ठेक्का लिएको निर्माण कम्पनीले शिलान्यास भएको ६ महिनापछि पुलको काम सुरु गरेको थियो । 

 

स्थानीय सडक पुल कार्यक्रम (एलआरबिपी) को प्राविधिक सहयोगमा निर्माण सुरु गरिएको पुल दिप्रुङ चुइचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले ११ असार २०७६ मा शिलान्यास गरेका थिए । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका क्रममा लागू गरिएको लकडाउनका बेला पनि कम्पनीले पुल निर्माणलाई निरन्तरता दिएको थियो । 

 

दिक्तेलबाट खोटेहाङ गाउँपालिका, जन्तेढुंगा गाउँपालिका र बराहपोखरी गाउँपालिका पुग्ने सबैभन्दा छोटो रुटमा पर्ने साप्सु खोलामा स्थायी आउजाउका लागि प्रिस्ट्रेस बिम पुल निर्माण अघि बढाइएको हो ।

 

प्रिस्ट्रेस बिम पुल बिममा तार घुसाएर र तन्क्याएर निर्माण गरिने प्रकृतिको पुल हो । विशेषगरी दिप्रुङ गाउँपालिका र खानीडाँडा विमानस्थललाई जोड्ने गरी साप्सु खोलामा पुल निर्माण अघि बढाइएको दिप्रुङ चुइचुम्मा गाउँपालिकाका अध्यक्ष राईले बताए । 

 

सडकको बीचमा पर्ने खोलामा पक्की पुल निर्माणका लागि गाउँपालिकाले २९ कात्तिक २०७४ मा सडक विभाग पाटनढोका ललितपुरमा निवेदन दिएको थियो । साप्सु खोलामा पक्की पुल निर्माणपछि दिप्रुङ चुइचुम्माको याम्खा, टेम्मा, डाँडागाउँ, छितापोखरी, बतासे, छोरम्बु, चिप्रिङलगायत स्थानीयलाई साविकको सदरमुकाम दिक्तेल आउ-जाउ गर्ने सबैभन्दा छोटो बाटो खुल्ने अध्यक्ष राईले जानकारी दिए ।