close

काउलेका १० घरपरिवारलाई नयाँ घर उपहार

काउलेका १० घरपरिवारलाई नयाँ घर उपहार

Trulli
ADVERTISEMENT

बागलुङ- ३ वर्ष पहिले घरको जगै मासिने गरी जमिनको धाँजा फाटेपछि गाउँ छाडेका वीरबहादुर दमाई अहिले नयाँ घरको मझेरीमा ढुंगा बिच्छ्याउँदै छन् । सेताम्मै कपाल फुलेका उनले हतौडा लिएर स-साना ढुंगा मझेरीमा मिलाइरहेका हुन्छन् । 

 

३ वर्षदेखि अर्काको घर भाडामा लिएर बसेका दमाईलाई नयाँ वर्षसँगै नयाँ घरमा भित्रिने इच्छा छ । वैशाखभर नयाँ घरमा सर्ने तरखर उनले गरेका छन् । सोहीअनुसार उनको घर बनिरहेको छ ।

 

३ वर्षअघि जमिन भासिएर विस्थापित भएका काठेखोला गाउँपालिका वडा नम्बर ५ बिहुँ काउलेका १० परिवारका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बस्ती निर्माण गरिरहेको हो ।

 

निर्माणाधीन एकीकृत बस्तीमा उनले पनि घर पाउँदै छन् । काउलेमा बन्न लागेका सबै घर पाउने विस्थापित उत्तिकै हौसिएका छन् । आफ्नो भाग लाग्ने घरको रेखदेख र स्याहार गर्न उमेरले ६० कटेका वीरबहादुरलाई जाँगर चलेको छ ।

 

काठेखोला गाउँपालिका वडा नम्बर ५ बिहुँ काउलेमा पंक्तिकार पुग्दा त्यहाँ बन्न लागेको बस्तीका केही घर बनिसकेका थिए भने केही घर बन्ने क्रममा छन् ।

 

२०७४ मा जमिनको धाँजा फाटेर बस्ती नै जोखिममा परेपछि भासिएको जमिनभन्दा केही पर नयाँ ठाउँमा बस्ती स्थानान्तरण गरिएको हो । प्राधिकरणले एकीकृत बस्ती निर्माण गर्ने भनेपछि वडा कार्यालयले २२ लाख ५० हजार रुपैयाँ खर्चेर एकै ठाउँमा जग्गा उपलब्ध गराएको थियो ।

 

दाताको सहयोगसमेतले जग्गा खरिद गरेपछि सुरु भएको एकीकृत बस्ती निर्माणको काम अन्तिम चरणमा छ । ७ घर बनिसकेको र ३ घर निर्माणाधीन अवस्थामा रहेको वडाध्यक्ष शिवप्रसाद कँडेलले बताए ।

 

बिजुली, खानेपानी, सडक, ढल र सरसफाइलगायत संरचना निर्माणको काम भने बाँकी छ । 

 

पीडितलाई घर हस्तान्तरण गरेपछि ती संरचना निर्माण गरिने आयोजनाले जनाएको छ । ‘घर निर्माणको दोस्रो किस्ताको रकम लाभग्राहीको खातामा गइसकेको छ,’ जिल्ला आयोजना कार्यान्वयन इकाइ बागलुङका निमित्त प्रमुख रेणुकाकुमारी पाण्डेले भनिन्, ‘अन्य संरचनाको काम भवनले हेर्छ । काम सकिएपछि सबै भुक्तानीको प्रक्रियामा जान्छौँ ।’

 

बस्तीमा घरबाहेकका पूर्वाधार निर्माणका लागि अर्थ मन्त्रालयले छुट्टै ४० लाख रुपैयाँ विनियोजन गरेको छ । 


जमिन भासिएपछि काउलेका १४ घरपरिवार विस्थापित भएका थिए । वडा कार्यालयले मध्यपहाडी लोकमार्ग छेवैमा ५ रोपनी १२ आना जग्गा ३३ लाख रुपैयाँमा खरिद गरेर पीडितलाई कित्ताकाट गरी जग्गा हस्तान्तरण गरेको थियो ।

 

जग्गाका लागि प्राधिकरणले दिएको २० लाख रुपैयाँमा अरू ऋण थपेर जग्गा किनिएको थियो । पूर्ण विस्थापित भएका १० घरलाई ९ आनाका दरले जग्गा उपलब्ध गराई घर निर्माण गरिएको हो ।


‘घर निर्माणको काम सकिएको छ । वैशाखभित्रै हामीले पीडितलाई हस्तान्तरण गर्दै छौँ,’ गाउँपालिका अध्यक्ष अमर थापाले भने, ‘आउँदो बर्खा सुरक्षित घरमा पीडित हुन्छन् ।’

 

१० परिवारभन्दा बढीको बस्ती निर्माणका लागि प्राधिकरणले बजेट गाउँपालिकामा पठाएको थियो । एकीकृत बस्तीमा निर्माण भएका घरका लागि अन्य लाभग्राहीले जस्तै प्रतिपरिवार ३ लाख रुपैयाँका दरले प्राधिकरणले उनीहरूलाई पनि निजी आवास निर्माण अनुदान उपलब्ध गराएको पाण्डेले बताइन् ।