close

मिर्चैया-कटारी-घुर्मी सडक: स्तरोन्नति गरिदिन मन्त्रीसँग माग

मिर्चैया-कटारी-घुर्मी सडक: स्तरोन्नति गरिदिन मन्त्रीसँग माग

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङ, उदयपुर, ओखलढुंगा र सोलुखुम्बुका उद्योग वाणिज्य संघले भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङसमक्ष मिर्चैया-कटारी-घुर्मी सडक स्तरोन्नतिको माग गरेका छन् । 


मन्त्री नेम्वाङलाई मंगलबार ज्ञापनपत्र बुझाउँदै ४ जिल्लाका उद्योग वाणिज्य संघले सिद्धिचरण राजमार्गअन्तर्गत पर्ने मिर्चैया-घुर्मी-कटारी खण्डको ओटासिल पिच उप्किएपछि जीर्ण बनेको बताउँदै स्तरोन्नतिका माग गरेको हो । 

 

तराईसँगको लिंक रोडका रूपमा रहेको सडक जीर्ण हुँदा दैनिक यात्रुदेखि माथिल्लो सगरमाथा क्षेत्रमा उपभोग्य वस्तु ढुवानीमा सकस भइरहेकाले मिर्चैया-कटारी-घुर्मी सडक स्तरोन्नतिको माग राखिएको उद्योग वाणिज्य संघ खोटाङका अध्यक्ष उपिनकुमार राईले बताए । 

 

४ जिल्लाका उद्योग वाणिज्य संघले मिर्चैया-कटारी-घुर्मी सडक स्तरोन्नतिका लागि आगामी आर्थिक वर्ष आवश्यक बजेटको व्यवस्था गर्न भौतिक पूर्वाधार तथा यातायातमन्त्रीसमक्ष माग राखेका छन् । 

 

जीर्ण सडक स्तरोन्नतिको मागमा एमाले प्रमुख सचेतक विशाल भट्टराईसहित उद्योग वाणिज्य संघको टोली मन्त्री नेम्बाङलाई भेट्न गएको थियो । ‘मिर्चैया-कटारी-घुर्मी सडक माथिल्लो सगरमाथाको लिंक रोड हो । हाल यो खण्ड जीर्ण हुँदा बर्सेनि जनधनको क्षति भइरहेको छ,’ उद्योग वाणिज्य संघ खोटाङका अध्यक्ष राईले भने, ‘ओटासिल पिच उप्किएपछि कच्चीजस्तै बनेको सडकलाई स्तरोन्नति गरेर हिउँद, वर्षा चल्ने बनाउन मन्त्रीसमक्ष माग गरेका हौँ ।’ 

 

यस्तो छ मिरचैया-कटारी-घुर्मी सडकको अवस्था 


माथिल्लो सगरमाथाका ३ जिल्ला जोड्ने सिद्धिचरण राजमार्ग घुर्मी-कटारी (४६ किलोमिटर) सडक खण्ड सबैभन्दा जीर्ण बनेको छ ।

 

खोटाङको साविकको सदरमुकाम दिक्तेल, ओखलढुंगाको ओखलढुंगा र सोलुखुम्बुको फाप्लुलाई पूर्वी सहरसँग जोड्ने सो सडक जीर्ण हुँदा यात्रु जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । 

 

२०५८ देखि सञ्चालनमा आएको घुर्मी-कटारी सडक जीर्ण हुँदा ३ जिल्लामा पूर्वी तराईबाट उपभोग्य सामान भित्र्याउनसमेत उत्तिकै कठिनाइ भइरहेको उद्योग वाणिज्य संघ खोटाङका अध्यक्ष राईले बताए । 

 

सञ्चालनमा आएको केही समयपछि गरिएको ओटासिल पिच उप्किएपछि हाल सो सडक कच्ची सडकसरह बन्न पुगेको छ । ठाउँ-ठाउँमा सडक भत्किँदा र खाल्डाखुल्डी हुँदा सवारी साधन दायाँ-बायाँ कोल्टिँदै गुड्ने गरेका छन् ।

 

हिउँदमा बुङबुङ धुलो उड्ने सो सडक वर्षामा हिलाम्मे हुँदा सवारी साधन भासिने र कतिपय उकालो बाटोमा उक्लिन नसक्ने समस्या छ । सबैभन्दा बढी समस्या गहुँबारीदेखि घुर्मीसम्मको खण्डमा देखिएको छ । 

 

घुर्मी-कटारी सडक कालोपत्रे गरिएको पाँच वर्ष नबित्दै पिच उप्किएर जीर्ण बनेको हो । हाल कतिपय ठाउँमा पिच गरिएको नामोनिशानै देखिन्न । सडक पुनः मर्मत नहुँदा घुर्मी-कटारी सडक खण्डमा पटक-पटक दुर्घटना निम्तिने गरेको स्थानीयको गुनासो छ । 

 

साँघुरो र जीर्ण सडकमा जोखिम मोलेर यातायात सञ्चालन गर्नुपरेको यातायात व्यवसायी बताउँछन् । कच्ची बनेको सडकमा जम्काभेट भएका सवारी साधनले ब्याक गर्दै फराकिलो ठाउँ खोजेर वारपार गर्ने गरेका छन् ।

 

बढीमा १० टन भार क्षमताको सवारी सञ्चालन हुनुपर्ने सडकमा सोभन्दा बढी क्षमताको गुडाउँदा चाँडो पिच उप्किएको अनुमान गरिएको छ । 

 

दैनिक दर्जनौँ एलपी ट्रकले घुर्मी-कटारी सडक हुँदै खोटाङ, ओखलढुंगा र सोलुखुम्बुमा उपभोग्य सामग्री ढुवानी गर्ने गर्दै आएका छन् । सडकको दुरावस्थाका कारण पनि उपभोग्य वस्तुको मूल्यमा कमी आउन नसकेको व्यवसायी बताउँछन् । 

 

घुर्मी-कटारी खण्ड खोटाङ, ओखलढुंगा र सोलुखुम्बु र पूर्वी तराई जोड्ने एक मात्र सडक हो । घुर्मी-कटारी सडक जीर्ण हुँदाको असर ३ जिल्लाका भौतिक विकास निर्माणमा समेत परिरहेको छ । 

 

हलेसी आउजाउ गर्नेसमेत मारमा 

 

घुर्मी-कटारी सडक जीर्ण हुँदा खोटाङको त्रि-धार्मिक स्थल हलेसी आउजाउ गर्ने यात्रुसमेत मारमा परेका छन् । भुटान, भारतको बिहार, दार्जिलिङ, सिक्किमलगायत ठाउँबाट हलेसी आउने दर्शनार्थी तथा पर्यटक घुर्मी-कटारी सडकमा सास्ती बेहोर्न बाध्य छन् ।

 

उनीहरू रिजर्भ गाडी लिएर पूर्वी तराई हुँदै हलेसी आउने गरेका छन् । तर, उदयपुरको कटारीबाट घुर्मीतर्फ लागेपछि तीर्थयात्री त्रासपूर्ण यात्रा गर्न बाध्य छन् ।

 

धेरैजसो सडक मार्ग प्रयोग गर्ने पर्यटक तथा दर्शनार्थी घुर्मी-कटारी सडककै कारण हलेसी आउन हिच्किचाउने गरेका छन् ।