close

जोखिममुक्त नेपाल अभियान चलाउँदै प्राधिकरण 

जोखिममुक्त नेपाल अभियान चलाउँदै प्राधिकरण 

Trulli
ADVERTISEMENT

काठमाडौं- राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विपद् जोखिममुक्त नेपाल निर्माणको १० वर्षे महाअभियानका लागि कार्यक्रम तयार गर्ने भएको छ । 

 

प्रधानमन्त्री एवं प्राधिकरणको निर्देशक समितिका अध्यक्ष केपी ओलीको अध्यक्षतामा बसेको १८औँ बैठकल यस्तो निर्णय गरेको हो । 

 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण एवं व्यवस्थापन प्राधिकरणको सहकार्यमा त्यस्तो कार्यक्रमसम्बन्धी प्रस्ताव तयार भइरहेको बताए । 

 

विपद् व्यवस्थापनको दीर्घकालीन कार्यअन्तर्गत प्राचीन बस्ती, विश्व सम्पदा क्षेत्रसहित समग्र सहरी क्षेत्र खासगरी काठमाडौं उपत्यकाको पुनर्निर्माण तथा पुनस्र्थापनाको कामलाई समेत ध्यानमा राखी सहरी क्षेत्रको दीर्घकालीन पुनर्निर्माण कार्यक्रमको प्रस्ताव तयार पारेको छ ।

 

आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममार्फत अघि बढाउने निर्णयसमेत गरेको छ । 

 

प्राधिकरणले उक्त कार्यक्रमअन्तर्गत भूकम्पबाट क्षति भएका संरचनाको पुनर्निर्माण र भविष्यमा भूकम्पबाट क्षति हुन सक्ने निजी आवास, सार्वजनिक संरचना, सम्पदा एवं पूर्वाधारलाई एकीकृत ढंगले हेरी पुनर्निर्माण र पुनस्र्थापनाको कार्य अगाडि बढाउन मिल्ने गरी कार्यक्रमको खाका तयार गरिरहेको छ ।

 

निर्देशक समितिको बैठकले पुनर्निर्माण प्राधिकरणको अवधि १० पुस २०७८ सम्म रहेकामा चालू आर्थिक वर्षमा मूलभूत काम सम्पन्न गर्ने र १ साउनदेखि बाँकी अवधिमा हस्तान्तरणलगायत कार्यका लागि हस्तान्तरण गर्ने निकाय, योजना तथा कार्यक्रम र वित्तीय व्यवस्थापनको खाकासमेत स्वीकृत गरेको छ ।

 

सोहीअनुसार आगामी आर्थिक वर्षका लागि ३६ अर्ब ३५ करोड ३८ लाख रुपैयाँको बजेटका लगि सरकारसमक्ष प्रस्ताव पेस गर्ने निर्णय गरेको छ ।

 

बैठकले परराष्ट्र मन्त्रालयको समन्वयमा ‘सगरमाथा संवाद’ को समयलाई समेत ध्यानमा राखी सन् २०२१ को नोभेम्बर अन्तिम साता वा डिसेम्बरको पहिलो साता नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्ने निर्णय पनि गरेको छ ।

 

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले ऐतिहासिक धरहरा टावरको पुनर्निर्माण अन्तिम चरणमा पुगेको जानकारी गराउँदै ११ वैशाख २०७८ मा प्रधानमन्त्री ओलीबाट उद्घाटन गरिने भएको छ ।