close

रूपन्देहीमा मोबाइल एपबाटै घरघरमै सवारी सुविधा

रूपन्देहीमा मोबाइल एपबाटै घरघरमै सवारी सुविधा

Trulli
ADVERTISEMENT

रूपन्देही- रूपन्देहीमा पहिलो पटक नागरिकलाई घरघरबाटै यातायात सुविधा दिन थालिएको छ । सफल सवारी सेवाले २ वटा मोबाइल एप्लिकेसन लन्च गर्दै घरघरबाटै यातायात सेवा सुरु गरेको हो ।

 

काठमाडौंमा यो सेवा विगतदेखि नै चलिरहे पनि उपत्यका बाहिर भने रूपन्देहीमा पहिलो हो । सजिलो सवारी र सजिलो सवारी चालक गरी २ वटा एप्स लन्च गरिएको छ ।

 

यी २ मोबाइल एपमार्फत यात्रा गर्न चाहने व्यक्ति कहाँ छन् र कहाँ जान चाहन्छन्, सबै जानकारी दिन सकिनेछ । यो एपमार्फत बोलाएको ठाउँ केही समयमै सवारी लिन आइपुग्छ । 

 

सूचना प्रविधि विषयमा अध्ययन गरेका ७ जना युवा विद्यार्थी रेशम कार्की, विष्णु घिमिरे, रोशन खनाल, नवीन राना, हिमाल शर्मा, खिमा अधिकारी र सुदन पाण्डेले १५ लाख रुपैयाँ लगानीमा सवारी सेवा सुरु गरेका हुन् ।

 

अहिलेसम्म साढे २ सय चालकले सजिलो सवारी चालकमा आफ्नो नाम दर्ता गराइसकेको संस्थाका अध्यक्ष रेशम कार्कीले जानकारी दिए । सफलको सेवाशुल्क मोटरसाइकल तथा स्कुटरको हकमा ६ किलोमिटरका लागि ५० रुपैयाँ पर्छ । 


त्यसपछि हरेक १ किलोमिटरमा थप शुल्क बढ्दै जान्छ । त्यसमा राइडरलाई ९० प्रतिशत जान्छ र संस्थाले १५ प्रतिशत लिन्छ । ट्याक्सीको हकमा ५ किलोमिटरको ४०० रुपैयाँ पर्छ भने त्यसपछि हरेक किलोमिटरमा ४० रुपैयाँ थपिँदै जान्छ ।

 

त्यस्तै, लक्जरी कारको ५ किलोमिटरको ८०० रुपैयाँ पर्छ भने त्यसपछि हरेक किलोमिटरको ५० रुपैयाँ थपिँदै जान्छ ।


यसबाट नयाँ रोजगारीसमेत सिर्जना भएको संस्थाकी प्रबन्ध निर्देशक विष्णु घिमिरेले बताइन् । कोभिडका बेला यातायात सेवा ठप्प हुँदा नागरिकले पाएको दुःखलाई दृष्टिगत गर्दै यो अवधारणा अगाडि बढेको र अहिले आएर एप्लिकेसन तयार गरी सेवा सुरु भएको अध्यक्ष कार्कीले बताए ।

 

सवारी चालक एप इन्स्टल गरेपछि सेवा दिने चालकले नाम, सवारी साधनको विवरण र लाइसेन्सलगायत आवश्यक विवरण दर्ता गर्नुपर्छ । सुविधा लिने यात्रुले एपमार्फत फाराम भर्नुपर्छ ।

 

एप प्रयोगकर्ताले रूपन्देहीको जुनसुकै ठाउँबाट पनि सेवा दिन र लिन सक्छन् । ‘हामीसँग आबद्ध सवारी साधनको तेस्रो पक्ष बिमा हुन्छ । त्यसबाटै दुर्घटनामा घाइतेको उपचार हुन्छ । हाम्रो उद्देश्य सबैले सर्वसुलभ यातायात सेवा पाउन् भन्ने हो । एपमार्फत धेरै देशले यो सेवा विस्तार गरिसकेका छन्,’ एप्लिकेसन निर्माण गरेका संस्थाका निर्देशक रोशन खनालले भने ।

 

बजारमा देखिएका ट्याक्सी कुनै भाडा, कुनै साहूको र कुनै ऋणमा चलाउने भएकाले त्यसको लगानी उठाउन गाह्रो हुने चालकको गुनासो छ । सफल सवारी सेवाले यो गुनासोलाई समेत अन्त्य गरिदिने खनालको दाबी छ ।

 

यसबाट यात्रु ठगिने समस्या पनि नहुने र सहुलियत दरमै सेवा प्राप्त गरिने भएकाले भरपर्दो हुने उनले बताए । यस्तो प्रविधिले ट्याक्सी चालकले लिने गरेको मनपरी भाडालाई चुनौती दिएको उनको तर्क छ । 

 

आर्थिक अनुसन्धान केन्द्र नेपालका अध्यक्ष हुमराज भुसालले अहिले घरघरमै इन्टरनेटसँग नागरिकको पहुँच पुगेकाले सजिलो सवारी सेवा प्राप्त गर्न नागरिकलाई सहज हुने विश्वास व्यक्त गरे ।