close

अब घरमै बसेर नक्सादेखि राजस्वसम्म तिर्न सकिने

अब घरमै बसेर नक्सादेखि राजस्वसम्म तिर्न सकिने

Trulli
ADVERTISEMENT

काठमाडौं- अब घरमै बसेर अनलाइनमार्फत घरजग्गाको नक्सा हेर्न तथा प्रिन्ट गर्न सकिने भएको छ । सेवाग्राहीलाई सहज रूपमा छिटोछरितो सेवा दिन तथा प्रविधिमैत्री बनाउन यो सेवा सुरु गरिएको नापी विभागले जनाएको छ । 

 

यसअघि घरजग्गाको नक्सा प्रिन्ट गर्न नापी कार्यालय जानुपर्ने बाध्यता अन्त्यसँगै अनलाइनबाट उक्त सेवा लिन सकिने भएको हो । नापी विभागले औपचारिक रूपमा उक्त सेवा सुरु गरेसँगै आवश्यकताअनुसार घर÷भवन निर्माण तथा खरिद बिक्री प्रयोजनका लागि आवश्यक जग्गाको प्रिन्ट आफैँ गर्न सकिनेछ । 

 

प्रधानमन्त्री केपी ओलीले मेरो कित्ता नामक उक्त प्रविधिको शुभारम्भ गरेसँगै काठमाडौँ उपत्यकाका ३ स्थानमा उक्त सेवा लागू हुनेछ । नापी विभागबाट हुने सबै कामलाई छिटोछरितो र प्रभावकारी बनाउन यो सेवा सुुरु गरिएको हो ।

बिहीबारबाटै सेवा सुरु भएका कार्यालय 


नापी विभागका सूचना अधिकारी ढकालका अनुसार बिहीबार यो सेवा काठमाडौं उपत्यकाका डिल्लीबजार, कलंकी र भक्तपुरको कार्यालयमा लागू हुनेछ । 

 

त्यसपछि क्रमशः देशभर कार्यान्वयनमा ल्याइने विभागले जनाएको छ । डिल्लीबजार, कलंकी र भक्तपुरबाट यो सेवा सुरु भएको हो । 

 

१ साताभित्र काठमाडौं उपत्यकाभर र त्यसपछि क्रमशः देशैभरका १२६ वटा नापी कार्यालयबाट मेरो कित्ता सेवा सुरु हुनेछ ।

 

यसरी लिन सकिन्छ सेवा 

 

विभागले बनाएको वेबसाइट खोल्दा पासवर्ड आवश्यक पर्दैन । जुनसुकै ब्राउजरबाट मेरो कित्ता खोलेर जग्गाधनीको पुर्जामा रहेका कित्ता नम्बर, नाम र सम्पर्क नम्बरलगायत तोकिएका विवरण राख्नुपर्नेछ ।

 

सेवाग्राहीले राखेको विवरणका आधारमा नापी विभागले प्रमाणित गर्नेछ ।


सेवाग्राहीले राखेको विवरणका आधारमा विभागका कर्मचारीले कारोबार योग्य रहेको प्रमाणित भए-नभएको जानकारी गराउँछन् । विभागबाट योग्य भएको जानकारी आएपछि सेवाग्राहीले महालेखा नियन्त्रकको कार्यालयमा राजस्व भुक्तानी गर्नुपर्नेछ ।

 

जुनसुकै डिजिटल सेवा प्रदायक कम्पनीमार्फत नक्सा प्रिन्ट गर्दा लागेको रकम राजस्व भुक्तानी गर्न सकिनेछ । 

 

विभागको २ वर्षको प्रयासपछि अनलाइनबाटै जग्गाको नक्सा प्रिन्ट गर्न मिल्ने सेवा सुरु भएको हो । सुरक्षित रूपमा उक्त प्रणालीको विकास गरिएकाले सेवाग्राहीलाई ढुक्क भएर उपयोग गर्न विभागले आग्रह गरेको छ ।