close

मेथिनकोट अस्पताललाई स्वास्थ्य सामग्री

मेथिनकोट अस्पताललाई स्वास्थ्य सामग्री

Trulli
ADVERTISEMENT

काभ्रे- काभ्रेको नमोबुद्ध नगरपालिका वडा नम्बर ४ मा रहेको प्रादेशिक मेथिनकोट अस्पताललाई अत्यावश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । 

 

बिहीबार आयोजित कार्यक्रममा कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग कोइका र कोइका अल्मुनाइ एसोसिएसन (कान) ले अस्पताललाई मेडिकल सामग्री हस्तान्तरण गरेका हुन् । कानको वार्षिक कार्यक्रमको बजेटलाई एकीकृत गर्दै अस्पतालका लागि अत्यावश्यक सामग्री हस्तान्तरण गरिएको हो । 

 

नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क चोङ सुक, बागमती प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव दीपक काफ्ले, नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिनालगायतको उपस्थितिमा मेडिकल सामग्री हस्तान्तरण गरिएको थियो । 

 

कार्यक्रममा कोइकाका कन्ट्री डाइरेक्टर सङ हुन को र कोइका अल्मुनाइ एसोसिएसन कानका अध्यक्ष विनोद बिडारीले नमोबुद्ध वडा नम्बर ४ का वडाध्यक्ष एवं मेथिनकोट अस्पतालका अध्यक्ष उद्धवप्रसाद काफ्लेलाई मेडिकल सामग्री हस्तान्तरण गरे ।

 

अस्पताललाई पेसेन्ट मनिटर २ थान, अक्सिजन कन्सनट्रेटर २ थान, कार्डियोग्राफी सिटिजी मेसिन १ थान, बीआईपी एपी मेसिन १ थान, पल्स अक्सिमिटर ५ थान, डिजिटल बिपी मेसिन ६ थान, इमर्जेन्सी बेड ३ थान, अक्सिजन रेगुलेटर ५ थान, इमर्जेन्सी मेडिकल कार्ट १ थान र इमर्जेन्सी बेड म्याट्रेस ३ थान रहेका छन् ।

 

कार्यक्रममा नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क चोङ सुकले मेथिनकोट अस्पतालले कोभिड महामारीको समय पु¥याएको योगदानको प्रशंसा गरे । उनले आगामी दिनमा पनि अस्पताललाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए । 

 

नमोबुद्ध नगरप्रमुख तिमल्सिनाले सामान्य अवस्थामा सुरु भएको मेथिनकोट अस्पताललाई प्रादेशिक अस्पताल बनाइएको तर आवश्यक पूर्वाधार, जनशक्ति र मेडिकल सामग्री अभावका कारण प्रभावकारी सेवा प्रदान गर्न समस्या परेको जानकारी दिए ।

 

अस्पताललाई मेडिकल सामग्री प्रदान गरेकामा कोइका र कोइका अल्मुनाइ एसोसिएसनलाई धन्यवाद दिए । 

 

कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव काफ्लेले नगरपालिकाको व्यवस्थापनमा सञ्चालित अस्पतालको स्तरोन्नति गर्दै प्रदेश सरकारले सहकार्य गर्ने जिम्मेवारी लिएको बताए । 

 

मेथिनकोट अस्पताल राजमार्गसँगै जोडिएको हुनाले यहाँ आउने बिरामीको सेवाका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने जानकारी दिए ।

 

१५ शय्याको अस्पताललाई ५० शय्याको बनाउने निर्णय प्रदेश सरकारले गरेको र पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन आवश्यक प्रक्रिया सुरु भइसकेको उनले बताए । 

 

कोइका अल्मुनाइ एसोसिएसन कानका अध्यक्ष विनोद बिडारीले एसोसिएसन स्थापनाको २० वर्षमा पहिलो पटक यति ठूलो सहयोग गरेको बताए । कोभिड-१९ महामारी सुरु भएपछि विभिन्न स्थानमा मेडिकल सामग्री हस्तान्तरण गरिएको जानकारी दिँदै उनले २० वर्षमा नगरेको काम मेथिनकोट अस्पतालमा गर्न पाएकामा खुसी व्यक्त गरे ।

 

अस्पतालका अध्यक्ष एवं वडाअध्यक्ष उद्धवप्रसाद काफ्लेले नमोबुद्ध र आसपास क्षेत्रका सर्वसाधारणको सेवामा तल्लीन रहेको अस्पतालको स्तरोन्नति गर्दै प्रादेशिक अस्पताल बनाएमा प्रदेश सरकारलाई आभार प्रकट गरे

 

२०६६ बाट सञ्चालनमा आएको अस्पताललाई अझै सुविधासम्पन्न बनाउन आवश्यक सहयोग गर्ने सरोकारवालालाई धन्यवाद दिए । 

 

कोरियन सरकारको छात्रवृत्तिमा नेपाल सरकार र अन्तर्गतका निकायबाट मेडिकल छात्रवृत्तिमा तालिम वा विश्वविद्यालयमा अध्ययनका लागि दक्षिण कोरिया गएका व्यक्तिको संलग्नतामा स्थापित कोइका अल्मुनाइ एसोसिएसनले विगतदेखि नै स्वास्थ्यलगायत सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको संस्थाका महासचिव दीपक गौतमले बताए ।

 

उनका अनुसार मेथिनकोट अस्पताललाई १९ लाख रुपैयाँ बराबरको मेडिकल सामग्री हस्तान्तरण गरिएको हो । 

 

कार्यक्रममा नमोबुद्धकी उपप्रमुख रामदेवी तामाङ, प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, कोइकाका उच्च अधिकारी तथा एसोसिएसनका पदाधिकारीलगायतको उपस्थिति थियो ।