close

कोरोना सन्त्रास : १४ जिल्लाका विद्यालय बन्द गर्न सरकारको सुझाव

कोरोना सन्त्रास : १४ जिल्लाका विद्यालय बन्द गर्न सरकारको सुझाव

Trulli
ADVERTISEMENT

काठमाडौं- सरकारले देशका १४ जिल्लालाई कोरोना संक्रमणको उच्च जोखिममा राख्दै ती जिल्लाका विद्यालय, रात्रि व्यवसाय र साँझ ७ बजेपछि सबै रेस्टुराँ तथा क्लब बन्द गर्न र नागरिकलाई अनावश्यक भीडभाड नगर्न अनुरोध गरेको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्र्तगत स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले बिहीबार अपिल जारी गर्दै यस्तो बताएको हो । 


मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीका अनुसार काठमाडौं, ललितपुर, कास्की, रूपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बागलुङलाई अति प्रभावित सूचीमा राखिएको छ । 


यी जिल्लाका बढी भीडभाड हुने सबै क्षेत्र तथा सेवा अविलम्ब बन्द गर्नुपर्ने अवस्था भए विद्यालय बन्द गर्न, खेलकुद, जिम, सार्वजनिक पूजाआजा तथा जात्रा, सभा, सम्मेलन, बैठक तथा भेला, सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल आदि स्थलमा भेला नभइदिनसमेत सरकारले आग्रह गरेको छ ।


निजी प्रयोगशाला तथा अस्पतालहरूले कोभिड१९ को परीक्षण तथा उपचारका लागि ताकिएको शुल्क (पीसीआर परीक्षणका लागि २ हजार रुपैयाँमा नबढाई तथा संक्रमितको औषधीबाहेक उपचारका लागि संक्रमणको जटिलताका आधारमा दैनिक सामान्यलाई ३ हजार ५ सय, मध्यमलाई ७ हजार र जटिललाई १५ हजारमा ५० प्रतिशतभन्दा नबढ्ने गरी) मा उपचार बढी नहुने गरी व्यवस्था गर्नसमेत भनेको छ । 


नेपालका विभिन्न होटलमा बस्ने विदेशी नागरिकको हकमा अतिथि दर्ता सूची प्रणाली चुस्त–दुरुस्त राख्न तथा पिसिआर नतिजा नेगेटिभ आएको अवस्थामा मात्र होटलमा बास राख्न होटलहरूलाई सरकारले आग्रह गरेको छ ।


बालबालिका, गर्भवती, सुत्केरी, अपांगता भएका व्यक्तिको कोभिड१९ परीक्षण तथा उपचारमा उच्च प्राथमिकता दिनसमेत आग्रह गरेको छ ।