close

बढ्दो कोरोना संक्रमणको ग्राफ

सरकारलाई निजी क्षेत्रकाे प्रश्न : खोइ तयारी ?

बढ्दो कोरोना संक्रमणको ग्राफ

सरकारलाई निजी क्षेत्रकाे प्रश्न : खोइ तयारी ?

Trulli
ADVERTISEMENT

रूपन्देही- पछिल्लो समयमा कोरोना भाइरस संक्रमण बढिरहँदा सरकारको तर्फबाट हुनुपर्ने तयारी नभएको भन्दै निजी क्षेत्रबाट चासो र चिन्ता व्यक्त गरिएको छ ।

छमेकी देशमा दोस्रो लहरको संक्रमण फैलिएसँगै त्यसको प्रभाव विस्तारै नेपालमा समेत पर्न थालेपछि सम्भावित जोखिमप्रति चासो बढेको हो । 

 

बुटवल उद्योग वाणिज्य संघ रूपन्देहीले आयोजना गरेको एक कार्यक्रममा वक्ताहरूले सम्भावित जोखिम नियन्त्रणमा सरकारको तर्फबाट प्रभावकारी काम हुन नसकेको औँल्याए ।

 

संघले रूपन्देहीमा हालै मात्र आएका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा प्रमुख र नेपाल पत्रकार महासंघ रुपन्देहीका नवनिर्वाचित अध्यक्षलाई स्वागत गरेको हो । 

 

रूपन्देहीका प्रमुख जिल्ला अधिकारी आशमान तामाङले सबैले सुरक्षानुभूति गर्ने गरी सुरक्षा प्रबन्ध मिलाउने प्रतिबद्धता व्यक्त गरे । पछिल्लो समय छिमेकी देशमा कोरोना भाइरस संक्रमण बढेसंगै सीमानाका सुनौलीमा होल्डिङ सेन्टर बनाउन लागिएको जानकारी उनले दिए ।

 

बाहिरबाट आउनेलाई निगरानी गर्ने र संक्रमण पुष्टि भए सिटी भ्यालुको आधारमा घर वा अस्पताल, कहाँ पठाउनुपर्ने हो, सम्बन्धित स्थानीय तहसँग समन्वय गरेर पठाउने व्यवस्था मिलाइने प्रजिअ तामाडको भनाइ छ ।

 

रूपन्देहीमा अहिले सञ्चालमा रहेका ७२ वटा एम्बुलेन्समध्ये एउटा पनि कोभिडमैत्री नभएकाले सामाजिक उत्तरदायित्वमा रहेर यस्ता एम्बुलेन्स सञ्चालन व्यवस्थापनका लागि निजी क्षेत्रलाई उनले आग्रह गरे । 

 

राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख राजन बिसीले राजस्व चुहावट नियन्त्रणका लागि निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको जानकारी गराउँदै नियमसम्मत व्यापार, व्यवसाय गर्न आग्रह गरे । 

 

नेपाल पत्रकार महासंघ रूपन्देहीका नवनिर्वाचित अध्यक्ष रामराज पोख्रेलले कोरोना महामारीले मुलुकलाई धेरै पछाडि धकेलेकाले अगाडि ल्याउन र उद्योग व्यवसाय जोगाइराख्न सरकार तर्फबाट विशेष कार्यक्रम आउनुपर्ने सुझाव राखे । अर्थतन्त्रलाई बलियो बनाएर समृद्ध मुलुक निर्माणका लागि सरकारलाई दीर्घकालीन सोच राख्न उनले सुझाए । 

 

बुटवल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा सल्लाहकार निर्मलप्रसाद लाकौलले कोरोना महामारीले निजी क्षेत्र धराशयी भएको अवस्थामा पुनः दोस्रो लहर सुरु भएसँगै निराश हुनुपर्ने अवस्था आएको बताए । मुलुकको सुदृढ अर्थतन्त्रका लागि निजी क्षेत्रलाई सहयोग हुने गरी अगाडि बढ्न सरकारलाई आग्रह गरे ।


संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजुले कोरोना महामारी पुनः भइहाले स्वास्थ्य सुरक्षा अपनाउने दायित्वबाट कोही पनि पछि हट्न नहुने धारणा राखे । अर्थतन्त्रलाई प्रभावित गर्ने र निजी क्षेत्रलाई धराशयी बनाउने गरी लकडाउनको नीति लिन नहुने बताए । 

 

वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठले संघले सामाजिक तथा आर्थिक विकासमा हालसम्म गरेका गतिविधिबारे जानकारी गराए । संघका महासचिव विमलराज भट्टराईको सञ्चालनमा भएको कार्यक्रममा उद्योगी पुरन श्रेष्ठलगायतले बढ्दो कोरोना संक्रमणले व्यवसायीलाई मनोवैज्ञानिक दबाब पारेको सुनाए ।