close

कुलाे निर्माणमा उपभोक्ता समितिकाे चलखेल

कुलाे निर्माणमा उपभोक्ता समितिकाे चलखेल

Trulli
ADVERTISEMENT

खाेटाङ- खोटाङको जन्तेढुंगा गाउँपालिका वडा नम्बर ५ चिसापानीको खुटामा सञ्चालित काभ्रेखोला देवीथान मुहान कटहरे कुलो निर्माण योजनाको पारदर्शितामाथि प्रश्न उठेको छ । उपभोक्ता समितिका अध्यक्ष गोविन्द लामाले कुलो निर्माण योजनाको आयव्यय सार्वजनिक गर्न अस्वीकार गरेपछि स्थानीयले अनियमितता भएको आशंका गरेका हुन् ।

 

योजनामा उपभोक्ता समितिका अध्यक्षले आफूखुसी गरेको, सोधखोज गर्दा पनि योजनाको स्टिमेट, बिल-भर्पाइ, हिसाब-किताबबारे जानकारी नदिइएको स्थानीय उपभोक्ताको भनाइ छ । 

 

कांग्रेस समर्थित युवा नेता बाजिन्द्र विष्टको पहलमा सिँचाई मन्त्रालयको बजेटमा आर्थिक वर्ष २०७३/७४ देखि काभ्रेखोला देवीथान मुहान कटहरे कुलो निर्माण आयोजना सुरु भएको हो । सोही योजनाअन्तर्गत पक्की कुलो निर्माणका लागि आर्थिक वर्ष २०७७/७८ मा भौतिक पूर्वाधार, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय दिक्तेलमार्फत २० लाख रुपैयाँ बजेट विनियोजन भएको थियो ।

 

उक्त बजेटको पारदर्शिताका विषयमा स्थानीयले प्रश्न उठाएका हुन् । बारम्बार माग गर्दा पनि कुलो निर्माण योजनाको स्टिमेट, आयव्यय, कामदारलाई दिएको रकमलगायतमा स्थानीय बेखबर छन् ।

 

अध्यक्षले समन्वय नगरी योजनाको काममा एकलौटी गरेको पुरानो उपभोक्ता समितिका सदस्य रहेका चण्डीराज विकले बताए । ‘हामी समितिमा बसेकालाई समेत कति बजेट आयो, कसरी खर्चियो, कति बाँकी छ भन्ने जानकारी भएन,’ विकले भने, ‘एकलौटी ढंगले आफ्नो खेततिर जाने कुलो बनाउने काम गर्नुभयो । भुक्तानी लिन जाने बेला सही गर्नुपर्छ भन्नुभयो । हामीले मानेनौँ ।’ 

 

योजनाको आर्थिक पारदर्शिताका विषयमा विवाद बढ्दै जाँदा काममा अवरोध आएपछि काभ्रेखोला देवीथान मुहान कटहरे कुलो जल उपभोक्ता समितिका अध्यक्ष लामाले गत २४ फागुनमा पदबाट राजीनामा दिइसकेका छन् । योजनाको हिसाबकिताब खोजी र उपभोक्ता समितिका अध्यक्षको राजीनामा आएपछि बाँकी काम अलपत्र अवस्थामा पुगेको छ ।

 

अध्यक्ष लामाको राजीनामापछि कार्यवाहक वडाध्यक्ष धनबहादुर राईको उपस्थितिमा २७ फागुनमा टंकराम तामाङको अध्यक्षतामा देवीथान मुहान कटहरे कुलो जल उपभोक्ता समिति पुनर्गठन गरिएको छ । 

 

तामाङको अध्यक्षतामा ९ चैतमा बसेको बैठकले योजनाको बाँकी कामको सम्झौताका लागि भौतिक पूर्वाधार, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयमा जाने निर्णय गरे पनि हालसम्म काम सुरु हुने वातावरण बन्न सकेको छैन । 

 

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय खोटाङका प्रमुख मेघराज ज्ञवालीले पुरानो समितिलाई भुक्तानी हुने वातावरण बनेपछि मात्र नयाँ उपभोक्ता समितिसँग सम्झौता हुने जानकारी दिए ।

 

‘पुरानो उपभोक्ता समितिबाट भएको कामको भुक्तानी पुरानै समितिको नाममा हुन्छ । नयाँ समितिबाट भएको कामको रकम नयाँ समितिको नाममा जान्छ,’ प्रमुख ज्ञवालीले भने, ‘पुरानो समितिबाट करिब ५ लाख रुपैयाँ बराबरको काम भएको छ । विवादका पछाडि राजनीति पनि घुसेको हुन सक्छ ।’ 

 

यसबारे प्रतिक्रिया लिन सम्पर्क गर्दा काभ्रेखोला देवीथान मुहान कटहरे कुलो निर्माण आयोजना उपभोक्ता समितिका निवर्तमान अध्यक्ष लामाले फोन उठाएनन् । 

 

काभ्रेखोला देवीथान मुहान कटहरे कुलो निर्माण आयोजनाको २ हजार ७ सय मिटर लामो पक्की कुलो निर्माणका लागि बजेट आएको हो । तर, हालसम्म काभ्रेखोलाबाट साउनेपाटो खोल्सीसम्म मात्र कुलो निर्माण गरिएको छ । 

 

कुलोलाई साउनेपाटो खोल्सीबाट अगाडि बढाउनुपर्नेमा सीधै तल झारेर डिपिआर नै नगरिएको ठाउँमा १०४ मिटर कुलो निर्माण गरिएको स्थानीयको दाबी छ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन प्रमुख ज्ञवालीले भने १०४ मिटर कुलो मूल कुलो नभई शाखा कुलो भएको दाबी गरे ।