close

सामुदायिक विद्यालयलाई बस खरिद गर्न तिलोत्तमाको अनुदान 

सामुदायिक विद्यालयलाई बस खरिद गर्न तिलोत्तमाको अनुदान 

Trulli
ADVERTISEMENT

रूपन्देही– रूपन्देहीको तिलोत्तमा नगरपालिकाले चालू आर्थिक वर्षमा विनियोजन गरेको बजेटबाट ६ वटा सामुदायिक विद्यालयले बस खरिद गरेका छन् । 

 

तीमध्ये ५ विद्यालयले ४२ सिटे बस प्राप्त गरेका छन् । नगरपालिकाले बस खरिदका लागि प्रतिविद्यालय १० लाख रुपैयाँ उपलब्ध गराएको थियो ।

 

सामुदायिक विद्यालयले भन्सार छुटसहित झन्डै २१ लाख रुपैयाँमा बस खरिद गरेका हुन् । जनजागृति मावि, जनभावना मावि, शिवपुर मावि, पशुपति मावि र जनता माविले बस प्राप्त गरेका हुन् । अनुदान प्राप्त गीर्वाण साधारण तथा संस्कृत माविले पनि छिट्टै बस खरिद गर्ने नगरपालिकाको शिक्षा शाखाले जनाएको छ । 

 

सामुदायिक विद्यालयको शैक्षिक तथा भौतिक गुणस्तर अभिवृद्धिलाई मुख्य प्राथमिकतामा राखेको तिलोत्तमाले यसअघि सवारी साधन खरिदका लागि विद्यालयलाई नगद अनुदान दिँदै आएकामा यो वर्ष विद्यालयको मागअनुरूप नयाँ बस खरिद लागि बजेट विनियोजन गरेको हो ।

 

शिक्षामा लगानी बढाएको नगरपालिकाले सामुदायिक विद्यालयमा विद्यार्थीलाई आकर्षित गरेर निजी विद्यालयसँगको प्रतिस्पर्धी क्षमता बढाउन बस खरिदमा सहयोग गरेको हो । तिलोत्तमाका अन्य ४ वटा विद्यालयले समेत बस सञ्चालन गर्दै आएका छन् ।

 

नगरपालिकाले विगत वर्षदेखि नै शिक्षा क्षेत्रमा लगानी बढाउँदै आएकोमा यस आर्थिक वर्षमा बढी विद्यार्थी संख्या भएका र यातायात साधन नभएका विद्यालयलाई छनोटमा राखी बस खरिदमा सहयोग गरिएको शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले बताए । 

 

माग र औचित्यको आधारमा नगरपालिकामा रहेका अन्य विद्यालयलाई पनि यसैगरी बस खरिदमा अनुदान प्रदान गरिने उनको भनाइ छ । तिलोत्तमामा हाल ४२ वटा सामुदायिक विद्यालय छन् । 

 

जनप्रतिनिधि आएदेखि यहाँका सामुदायिक विद्यालयमा धेरै परिवर्तन आएको छ । शिक्षक अनुदान, निःशुल्क दिवा खाजा, छात्रालाई निःशुल्क स्यानिटरी प्याड, विद्यालय रंगरोगन, कक्षाकोठासहित कम्पाउन्ड वाल निर्माण, विद्यालय नर्सिङ सेवा, आकर्षक इसिडी कक्षा निर्माण, बगैँचा निर्माणलगायत काम नगरपालिकाले गर्दै आएको छ ।

 

टाढाबाट अध्ययनका लागि आउने बालबालिका लक्षित गरी बस सेवा सुरु भएकामा शिक्षकहरू पनि खुसी छन् । नगरप्रमुख वासुदेव घिमिरेले आफ्नै यातायात साधन भए विद्यार्थीको संख्या बढाउन सकिन्छ भन्ने विद्यालयहरूको मागअनुसार नगरपालिकाले बस खरिदमा अनुदान दिएकाले प्रभावकारी सञ्चालन गर्न आग्रह गरे । 

 

उनले पूर्वाधार निर्माणमा सामुदायिक विद्यालयमा ठूलो लगानी भइसकको बताउँदै गुणस्तरीय शिक्षालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । कोटेसनका आधारमा ५ वटा विद्यालयले कोटिहवामा रहेको पूजन अटोमोबाइल्स प्रालिमार्फत एसएमएल इसुजु कम्पनीका बस खरिद गरेका हुन् ।

 

कम्पनीका अध्यक्ष डोलराज बस्यालले सरकारको कर र भन्सार महसुल छुट गरी प्रतिबस २० लाख ९५ हजार रुपैयाँमा विद्यालयलाई प्रदान गरिएको जानकारी दिए । ४२ सिटे यी बस आरामदायी भएको उनले बताए ।