close

श्यामको प्रतीक्षामा त्यो कालो कोट

शोकमा डुब्यो गुल्मीको मुख्य अड्डा 

श्यामको प्रतीक्षामा त्यो कालो कोट

शोकमा डुब्यो गुल्मीको मुख्य अड्डा 

Trulli
ADVERTISEMENT

गुल्मी– जिल्ला प्रशासन कार्यालय गुल्मीको कोठा नम्बर ७ । प्रशासकीय अधिकृत श्याम न्यौपानेको कार्यकक्ष हो । बिहीबार बिहान कुर्सीमा झुन्डिएको कोटले न्यौपानेको प्रतीक्षा गरिरहेकोे थियो । तर, न्यौपानेले अब कहिल्यै कुर्सीमा बसेर कोट लगाउने छैनन् । कारण, उनी सदाका लागि यो संसारबाट बिदा भए । 

 

त्यो दृश्य नियाल्ने कैयनको आँखामा आँसु छचल्किए । सोही कार्यकक्षमा नागरिकता लिनेहरूको दैनिक भीड हुन्थ्यो । कलकलाउँदो उमेर र राष्ट्रसेवाले ओतप्रोत भावना । न्यौपानेले सबै सेवाग्राहीको परिचय सोध्थे र सकेसम्म चाँडै सेवा दिन्थे । 

 

केही अप्ठ्यारा कागजपत्र बोकेर आफैं सिडियोकहाँ पुग्थे र सहजीकरण गर्थे । अल्पआयुमै दैवको आँखा पर्‍यो । उनले सरकारी सेवामा देखेका सपना अधुरा बने । अब उनी त्यो कार्यकक्षमा कहिल्यै फर्किने छैनन् । निर्जीव कोटले न्यौपाने कुरिबसेको दृश्य साँच्चिकै हृदयविदारक लाग्छ ।

 

अब त्यो कार्यकक्षको नेम प्लेटले प्रशासकीय अधिकृत न्यौपाने भित्र भनेर कहिल्यै देखाउने छैन । उनको अकल्पनीय निधनले अर्धचेत बनेका परिवारले प्युठानबाटै शव बुझे । श्रीमती पनि राष्ट्र सेवक रहेकी न्यौपानेको सानो बच्चा छ । 

 

उनी संयोगले नयाँ वर्षमा श्रीमान्सँग प्युठानको स्वर्गद्वारी गइनन् । त्यही नयाँ वर्षले कहिल्यै सँगै नहुने बनायो । ईश्वर, सूर्य र यमलाल पनि राष्ट्रसेवक हुन् ।

 

आफ्नै जिल्लाको मुख्य अड्डामा काम गर्ने उनीहरू सबै काममा सहजीकरण गर्थे । इष्टमित्र कमाएका थिए । ईश्वरकी छोरी ९ महिनाकी छन् । ईश्वरसँगै थुप्रै सपना साँचेकी जीवनसंगिनी अचेत छन् । 


बुबाको मृत्युको पीडा सेलाउन नपाउँदै सूर्य आफैंले संसार त्यागे । पतिसँगै छोरा गुमाएको पीडा आमाले कसरी भुल्न सकून् । छोरी र नाति अस्पतालको शय्यामा छन् । अब आमालाई जिन्दगीको के आश । यो परिवारलाई ‘जहाँ होचो त्यही घोचो’ जस्तै भएको छ । 

 

सूर्य आकाशको सूर्यजस्तै रहेनन् । आज अस्ताएर भोलि उदाउने । यमलालको परिवार पनि विक्षिप्त छ ।  जिल्ला प्रशासन ठूलो अड्डा हो । नयाँ वर्षमा सार्वजनिक बिदा भएकाले बिहीबार स्वाभाविक रूपमा सेवाग्राहीको भीड हुन्थ्यो । दैनिक लाइनमा सेवाग्राही हुन्थे । कर्मचारीले नियमित सेवा दिन्थे । 

 

प्रशासनले प्रदान गर्ने नागरिकता र राहदानी शाखाका कर्मचारी सबै युवा र ऊर्जावान थिए । उनीहरूले मुस्कानसहितको सेवा दिन्थे । सेवाग्राही खुसी भएर घर फर्किन्थे । 

 

बिहानै तिनै कर्मचारी मृत बनेर कार्यालयको मूल गेटमा लम्पसार परेको दृश्यले कैयन गुल्मेली स्तब्ध बने । कार्यालय समय भएकाले कतिपय सेवाग्राही कामकै लागि प्रशासन आएका थिए । तर, उनीहरूले त्यो विजोग देखेर काम खोजेनन्, बरु काम गरिदिने मान्छे खोजे ।

 

‘मलाई दुर्घटनाको पत्तो भएन । नागरिकता बनाउने काम भएर प्रशासन आएको हुँ । काम गर्नेहरू नै शव बनेर ढलेको देखेँ । बोल्ने हिम्मत आएन,’ सत्यवति गाउँपालिका वडा नम्बर ३ का प्रेम रानाले भने, ‘मान्छेको ज्यानै गयो । मेरो काम नभएर केही भएन ।’

 

प्रेम गाउँबाट फेरि फर्किन्छन्, काम बन्ने पक्का छ । तर, दुर्घटनामा निधन भएका प्रशासकीय अधिकृत न्यौपानेसहितका कर्मचारी फेरि फर्किने छैनन् ।

 

बुधबार प्रशासकीय अधिकृत श्यामसहितका १७ जना पूजाअर्चनाका लागि प्युठानको स्वर्गद्वारी हिँडेका थिए । बिहान साढे ११ बजे स्वर्गद्वारी नगरपालिका वडा नम्बर २ रुमालेमा जिप दुर्घटना पर्‍यो । दुर्घटनामा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय न्यौपानेसहित प्रशासन कार्यालयकै ४ र १ जना चालकले ज्यान गुमाए । 

 

अरू सबै जिपमा सवारको काठमाडाैंसहितका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीले दुर्घटनामा मृत्यु भएका सबै व्यक्तिको शव परिवारलाई बुझाएको छ ।

 

प्रशासकीय अधिकृत न्यौपानेको बुधबारै प्युठानमा पोस्टमार्टम गरेर शव परिवारलाई बुझाइएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । बिहीबार प्रशासन कार्यालयका कम्प्युटर अपरेटर ३५ वर्षीय सूर्यप्रसाद पन्थी, खरिदार ३५ वर्षीय ईश्वरी भण्डारी, २८ वर्षीय यमलाल पन्थी र सवारी चालक मुसीकोट नगरपालिका वडा नम्बर ३ का २२ वर्षीय केशव कार्कीलाई संयुक्त रूपमा श्रद्धाञ्जली दिएर शव परिवारलाई बुझाएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् । 

 

उनीहरू सबैको अन्तिम दाह संस्कार गरिएको छ । दुर्घटनाको कारण जिल्ला प्रशासन कार्यालय गुल्मीको सेवा प्रभावित बनेको छ । सवारी दुर्घटनामा प्रशासन कार्यालयको महत्त्वपूर्ण फाँटमा काम गर्ने ४ जना कर्मचारीले ज्यान गुमाए । केही घाइते भएका छन् । शोकका कारण प्रशासन कार्यालयले २ वैशाखमा सबै सेवा बन्द गर्‍यो । 

 

३ देखि ६ वैशाखसम्म शान्ति–सुरक्षा र मुद्दाबाहेकका सवै काम बन्द गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत उद्धव पन्थीले जानकारी दिए । 

 

प्रशासन कार्यालयमा कर्मचारी सवार लु१ज १६५५ नम्बरको जिप स्र्वद्वारी हिँडेपछि बाटोमा धेरै पटक बिग्रियो । गाडी राम्रो परेन भन्ने हेक्का सबैलाई नभएको हैन । तर, उनीहरूसँग गाडी फेर्ने अर्को विकल्प थिएन ।

 

‘धेरै पटक गाडी बनाएर जाऔँ भनेर सबैले भन्यौँ, ड्राइभरले मानेनन्,’ घाइते तारा भण्डारी बोहराले भनिन्, ‘रोकेनन् बरु गाडी ओभरट्याग गरे । त्यसैले दुर्घटनामा परियो ।’