close

भक्तपुरमा सिन्दूर जात्राको रौनक

भक्तपुरमा सिन्दूर जात्राको रौनक

Trulli
ADVERTISEMENT

भक्तपुर– बाटैभरि छरिएका सिन्दूर । सिन्दूरले रंगिएका गाला । जोस–जाँगर भएका युवादेखि वृद्धवृद्धाको प्रस्तुति । कोही धिमे अनि भुछ्याको तालमा नाच्दै थिए त कोही बजाउँदैमा व्यस्त । सबै जना आ–आफ्नै तालमा मग्न । 

 

यो दृश्य भक्तपुरको सिह्न जात्रा अर्थात् सिन्दूर जात्राको हो । मध्यपुर थिमिको विभिन्न टोलटोलमा चल्ने यो जात्राको मुख्य विशेषता एकआपसमा सिन्दूर छ्यापाछ्याप गर्नु हो । 

 

ऐतिहासिक एवं सांस्कृतिक २३ वटा खटसहितको सिन्दूर जात्रा अर्थात् सिह्न जात्रा मध्यपुर थिमिबासीले बिहीबार मनाएका छन् । तर, तत्कालीन समय ३२ वटा खटसहित सिन्दूर जात्रा मनाउने परम्परा रहेको स्थानीय बताउँछन् । 

 

सिन्दूर जात्रामा बालकुमारी, कालिका अर्थात् बालाखुको खट बालकुमारी मन्दिरबाट बाहिर निकालिएको छ । सिद्धिकालीको खट ल्याएर आफ्ना गणसहित बालकुमारी प्रवेश गराएपछि यो जात्रा सुरु हुन्छ । 

 

परम्पराअनुसार नै देवता लायकु दरबारभित्र पस्न नपाउन् भनेर लायकु प्रवेशद्वारमा बाटो छेकेर पेंखा मुस्या, बालकुमारी, बालखुचा द्यो, सिद्धिकाली र अरू देवताका गणहरू बाटो छेकेर बस्ने परम्परा छ ।

 

जात्रामा थिमिको बालकुमारी, दक्षिणवाराही, विष्णुवीर, सिद्धिकाली, नगदेशको सिद्धिगणेश, बोडेको महालक्ष्मी र टिगनीको नीलवाराही मन्दिरका देवताका नेतृत्वमा खट बोकेर जात्रा गरी टोलटोलमा अबिर खेल्दै बाजागाजासहित अबिर जात्रा मनाउने चलन छ । 


बुद्धकृष्णले छेडे आठौँ पटक जिब्रो 


मध्यपुर थिमि नगरपालिका वडा नम्बर ८ बोडेका बुद्धकृष्णवांग श्रेष्ठले आठौँपल्ट जिब्रो छेडाएका छन् । जिल्लाको प्रसिद्ध बिस्का जात्राअन्तर्गत बिहीबार श्रेष्ठले जिब्रो छेडेका हुन् ।

 

श्रेष्ठले यसअघि २०६२ देखि २०६५ सम्म ४ पटक र २०७४ देखि २०७६ सम्म गरी सातौँपल्ट जिब्रो छेडाएर संस्कृति बचाएका छन् । गत वर्ष विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोनाका कारण जात्रा औपचारिकतामै सीमित भयो ।

 

जिब्रो छेड्ने जात्रालाई जोगाउन बोडेबासीमध्येबाट पनि नेवार श्रेष्ठ थरकै व्यक्ति चाहिने परम्परा छ । सरकारले भीडभाडजन्य कार्य नगर्न–नगराउन अनुरोध गरे पनि नगरपालिकाले जात्रा सञ्चालन गराएको हो ।

 

जिब्रो छेडाउने व्यक्तिले ३ दिन भोकै बसी १ महिनादेखि तेलमा डुबाइराखेको करिब १ फिट लामो सियोले जिब्रो छेडिन्छ । जिब्रो छेड्नुअघि कर्मी नाइकेले सम्पूर्ण देवीदेवताको प्रार्थना गर्ने परम्परा छ ।

 

जिब्रो छेड्दा रगत आउनुहुँदैन । रगत आए अनिष्ट हुने जनविश्वास छ । विशेष पहिरन र खुट्टामा तान्त्रिक घन्टी (घुंग्रो) लगाई जिब्रो छेड्नुअघि शक्ति पीठहरूको दर्शन गर्ने र जिब्रो छेडिसकेपछि पनि चन्द्राकार बत्ती (भ्य) बोकी बोडे नगर परिक्रमा गर्ने प्रचलन छ । 

 

२ वैशाख बिहानैदेखि जिब्रो छेड्ने नाइकेले विभिन्न देवगणको पूजा गरी जिब्रो छेड्न पाँचो गणेशको प्रांगण रहेको पाटीमा मञ्च मनाई नायखिँ बाजाका साथ जिब्रो छेड्ने परम्परा छ ।

 

नकर्मीले १ महिनादेखि लामो सुइरो बनाई तेलमा डुबाएर राखेको हुन्छ र त्यही सुइरो ल्याएर सबै देवगणको पूजा गरी जिब्रो छेड्ने व्यक्तिलाई नायखिं बाजा बजाउँदै ल्याएपछि मञ्चमा राखी सबैको अगाडि जिब्रो छेडिन्छ । जिब्रो छेडाएर नगर परिक्रमा गराए देशमा दुःख नहुने, रोग, अनिकाल, अनावृष्टि, अतिवृष्टि हुन नदिने जनविश्वास छ ।