close

१ वर्षमा आगलागीबाट मात्रै कर्णालीमा ११ जनाको मृत्यु, १११ घर स्वाहा

१ वर्षमा आगलागीबाट मात्रै कर्णालीमा ११ जनाको मृत्यु, १११ घर स्वाहा

Trulli
ADVERTISEMENT

जुम्ला- कर्णालीमा १ वर्षे अवधिमा आगलागीका घटनामा परेर ११ जनाको ज्यान गएको छ । आर्थिक वर्ष २०७७/८८ को चैत मसान्तसम्म कर्णालीका १० वटै जिल्लामा भएको आगलागीका घटनामा ११ जनाको ज्यान गएको हो । 


आगलागीबाट १ अर्ब ६४ करोड ५४ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । आगलागीका घटनामा परी सबैभन्दा बढी मानवीय क्षति कालीकोटमा भएको छ । कालीकोटमा ६ जनाको मृत्यु भएको हो ।

 

सुर्खेतमा २ जना, रुकुम पश्चिम, सल्यान, र मुगुमा १-१ जनाको मृत्यु भएको छ । 

 

१११ घर जलेर नष्ट

 

कर्णालीका १० वटा जिल्लामा चालू आर्थिक वर्षमा आगलागी घटनाबाट १११ घर पूर्ण रूपमा क्षति भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । 

 

२३३ घरमा आंशिक क्षति भएको, १५ जना घाइते भएको र २१५ वटा पशु चौपायाको क्षति भएको कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ ।

 

चालू आर्थिक वर्षको चैतसम्म सुर्खेतमा २ करोड ५६ लाख १६ हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । दैलेखमा १ करोड ३५ लाख ८ हजार ५ सय, जाजरकोटमा ८१ लाख ४६ हजार ५ सय, सल्यानमा ४७ लाख ३८ हजार, रुकुम पश्चिममा ३३ लाख ९४ हजार बराबरको धनमाल क्षति भएको छ ।


यस्तै, कालीकोटमा ६५ लाख ७८ हजार, मुगुमा ३३ लाख ३५ हजार, डोल्पामा ११ लाख ७२ हजार र हुम्लामा ८७ लाख २१ हजार रुपैयाँ बराबरको क्षति भएको प्रदेश प्रहरी कार्यालयका एसएसपी अर्जुनचन्द ठकुरीले जानकारी दिए । ‘यो वर्ष बाक्लो हिमपात र वर्षा नभएकाले आगलागीका घटना बढेका हुन्,’ एसएसपी ठकुरीले भने, ‘आगलागीका अधिकांश घटना मान्छेकै लापरबाहीका कारण भएको पाइएको छ ।’